पोखरा / पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतले जनाएको छ । पछिल्लो समय पक्राउ परेका रविसहित ७ जनाको मंगलबार बयान सकिएपछि बहस सुरु भएको छ ।
रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान सकिएपछि बहस सुरु भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दावी गर्दै मुद्धाको अभियोजन गरिएको थियो । यो मुद्धा जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा परेको छ ।
मंगलबार जिल्ला सहायक न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजता पौडेलले सरकारको पक्षबाट बहस गरेका थिए । वादी र प्रतिवादीका कानून व्यवसायीबाट थप बहस बुधवारबाट सुरु हुनेछ ।





