बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अनेकतामा रुमल्लिएको कांग्रेसभित्र एकताको खोजी

अनेकतामा रुमल्लिएको कांग्रेसभित्र एकताको खोजी

मेलमिलापको नाममा एउटै समयमा कांग्रेसका दुई कार्यक्रम


  • विजय नेपाली
  • पुष १७ २०८१, बुधबार

पोखरा/पुस १६ अर्थात् आफूमाथिको मृत्युदण्डको सजायको पर्वाह नगरि कांग्रेसका संस्थापक नेता बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्केको दिन । नेपाली कांग्रेसले पुस १६ लाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ को रुपमा मनाउँदै आइरहेको छ ।
बीपी ‘चाहे जे सुकै होस् देशमा एकता र मेलमिलापको खाँचो छ’ भन्दै स्वदेश फर्किएका थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन्, नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासित जीवन बिताउन थाले । २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै राष्ट्रियता जोगाउन भन्दै स्वदेश फर्किए । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि ‘बरु राष्ट्रियताको सवालमा राजासँग सम्झौता गर्न सकिन्छ’ भन्ने धारणा बोकेर उनीहरु नेपाल फर्केका थिए । कांग्रेसले सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आइरहेको छ । पुस १६ गते पोखरामा कांग्रेसका दुई कार्यक्रम भए । नेपाली कांग्रेस गण्डकी प्रदेशले ४९ औं मेलमिलाप दिवसको अवसरमा अन्य दलका नेताहरुलाई समेत आमन्त्रण गर्दै ‘मेलमिलाप दिवस र वर्तमान राजनीति’ विषय प्रवचन कार्यक्रम आयोजना ग¥यो । उता, कांग्रेसकै भातृ संगठन नेपाल किसान महासंघ गण्डकीले पोखरामै दिवसकै अवसरमा ‘प्रजातान्त्रिक समाजवादका लागि उद्यमशिलता’ विषय अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रम जुध्दा कार्यकर्ता विभाजित भए । केही कार्यकर्ता दुबै कार्यक्रममा पुगे । उनीहरुले कार्यक्रम जुधाइएकोमा खिन्तता व्यक्त गरे । झट्ट हेर्दा पार्टी र संगठनबीच मेलमिलाप नभएको प्रष्ट देखियो । किसान संघको कार्यक्रममा गण्डकीका अध्यक्ष शुक्रराज शर्मालाई पनि आमन्त्रण गरिएको थियो तर उनी आएनन् । आउन पनि कसरी ? आफैले आयोजना गरेको प्रवचन कार्यक्रम जो थियो ! यता, कास्कीका जिल्ला सभापति किशोरदत्त बरालले भने किसानको कार्यक्रममा पहिला सहभागिता जनाए । कार्यक्रमको प्रशिक्षकको रुपमा बोलइएको उनी आफ्नो कुरा राखेर बाहिरिए ।
नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै गर्दा पार्टीभित्रै एकता नभएको यी दुई कार्यक्रमले नै प्रष्ट हुन्छ । कार्यकर्तामात्रै होइन, नेताहरुले नै पार्टीभित्र एकताको खाँचो भएको औंल्याए । गण्डकीका नेता देवराज चालिसेले राष्ट्रवाद र मेलमिलापको कुरा गर्दै गर्दा कांग्रेसभित्रै एकता र मेलमिलाप नभएको धारणा राखे । उनले नेपालमा विदेशीहरुको हस्तक्षेप बढ्दै गइरहँदा नेपालका दलहरुको धारणा पनि एक हुनुपर्ने र त्योभन्दा अघि पार्टीभित्रै सबैको धारणा एक हुनुपर्नेमा जोड दिएका थिए । ‘हाम्रो देशको राष्ट्रवाद विचित्रको छ । एमसीसीजस्तै बिआरआइको पनि सबै कुरा बाहिर आएको छ तर फेरि विरोध हुन्छ । हामीले छिमेकी देशबाट चल्ने पार्टीलाई मित्रवत् तरिकाले लैजानुपर्ने स्थिति छ, राष्ट्रिय एकता आवश्यक छ,’ उनले भने, ‘हामीले विदेश नीति र रक्षा नीतिमा एकै धारणा बनाउनुपर्छ, हरेक पार्टीको एकै धारणा हुनुपर्छ । आजको सबैभन्दा ठूलो चुनौती यही हो तर हामी घरभित्र नै प्रतिस्पर्धा गरिरहेका छौं ।’ पार्टीभित्र हुने आन्तरिक द्वन्द्वले पार्टीमा विसंगति बढीरहेका कारण एकता र मेलमिलापको विषयमा गफमा मात्र सीमित हुन पुगेको पनि उनले जिकिर गरे ।
जिल्ला सभापति किशोरदत्त बरालले नेतृत्वमा पुगेपछि सबै कुरा बिर्संदा र सत्तामा पुगेकै भरमा बीपीको सिद्धान्त कार्यान्वनय गर्न नसकिने सुनाए । कांग्रेसले अहिले निर्वाचन र सत्तामात्र चासो देखाइरहेको तथा व्यक्तिगत फाइदाका लागिमात्रै लाग्दा राष्ट्रिय एकता र मेलमिलापसँगै प्रजातान्त्रिक समाजवादको परिकल्पना नै असरल्ल बनेको उनको जिकिर थियो । किसानको कार्यक्रममा उनीहरुले देशको अर्थतन्त्र विकासका लागि कृषि क्षेत्रमा आधुनिकिकरणसँंंगै राज्यको अनुदान अत्यावश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->