बागलुङ/जैमिनी नगरपालिका–६ अर्जेवाको जनज्योती आधारभुत विद्यालयमा कक्षा ३ मा पढ्ने सुप्रिया थापाले बिहिबार पहिलो पटक माईक्रको फोन समाईन् । वरीपरी बसेका नगर शिक्षा शाखाका कर्मचारी, विद्यालयका शिक्षक र आफ्नै उमेर समुहका साथीहरुको अघि सुप्रियाले एक पन्ना पाठ ठुलो आवाज पढिन् । जैमिनीका ४१ विद्यालयबाट सहभागि ४१ जना उनकै उमेर समुहका बीचमा भैरहेको पढाई प्रतिस्पर्धामा उनी सहभागि थिइन् ।
कुश्मीशेराको हिमालयन आवासीय माविको प्राङ्गण बिहिबार भरीभराउ थियो । नगरले आयोजना गरेको पढाई मेलामा विद्यार्थीहरु रमाउँदै सिक्दै र प्रतिस्पर्धा गर्दै थिए । शिक्षक कर्मचारीहरु विद्यालयमा तयार र आफुले तयार गरेका पाठ्य सामग्री प्रदर्शनीमा राखेर बसेका थिए । बालबालिकालाई नेपाली भाषामा पढ्न सिकाउनका लागि गराईएको प्रतिस्पर्धा निकै रोचक देखिन्थ्यो । प्रतिस्पर्धामा कक्षा तीनसम्मका बालबालिका मात्रै सहभागि थिए ।
मेलामा गाउँघरमा लोपन्मुख अवस्थामा रहेको ढिंकी, जाँतो, माटोबाट बनेका भाँडा र हलो–जुवा देख्दा स–साना बालबालिका अनौठो मान्दै थिए । शिक्षकहरुले बुझाईरहेका थिए ।

लोप हुँदै जान थालेका परम्परागत घरेलु सामाग्री मेलामा प्रदर्शन गरिएको छ । विद्यार्थीले हलो, जुवा, ढिंकी, जाँतो बनाएर प्रदर्शनीमा राखेका हुन् । ‘ट्रयाक्टरले खेत जोत्न थालेपछि काठले बनेको हलो–जुवा नचाहिने भयो’ जैमिनीका नगर शिक्षा अधिकारी खेम आचार्यले भने ‘हाम्रो पौराणिक प्रबिधि, पाठ्य सामग्री र पढ्ने बानीको विकासका लागि मेला आयोजना गरेका हौं ।’ घरेलु सामग्रीबाट विद्यार्थीले धेरै कुरा थाहा पाउने उनले बताए ।
विद्यार्थीभित्र रहेको अन्र्तनिहित क्षमतालाई बाहिर निकाल्न, शैक्षिक सामाग्रीको प्रयोग र निर्माणमा सृजनशिलता अपनाउन सक्ने क्षमताको विकास गर्न, विद्यार्थी बीचमा शैक्षिक प्रतिस्पर्धा गराउने उद्देश्यले पढाइ मेला राखिएको उनले बताए । मेलामा शैक्षिक सामग्री प्रदर्शनी, कक्षा ३ पढाई सिप प्रतियोगिता गरिएको थियो ।
पढाई मेलाले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई पढाईको महत्व बुझाउने पल्लोपाखा सामुदायीक माविका प्रअ टेकनारायण आचार्य बताउँछन् । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेका बेला मेला समेत चलेकाले विद्यार्थी एकअर्कामा सिकाईसँग जोडिन पाएको उनले बताए । नगरपालिकाले पढाई प्रतियोगिता गरेर पुरस्कार बितरण गरेको छ ।




