बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराको सृजना माविका ३ विद्यार्थीले पाए चिनिया छात्रवृत्ति

पोखराको सृजना माविका ३ विद्यार्थीले पाए चिनिया छात्रवृत्ति


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८१, शुक्रबार

पोखरा/ पोखरा–८, सृजनाचोकस्थित सृजना माविका ३ विद्याथीले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाण्डौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ डार्विनका छात्र रोहन परियारले एक लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन् भने कक्षा ८ डार्विनका छात्र अग्रज ढकाल र कक्षा ७ न्युटनकी छात्रा खुसी पौडेलले जनही ५०÷५० हजार नगद छात्रवृत्ति प्राप्त गरेका हुन् ।

चिनिया भाषा प्रशिक्षण केन्द्रबाट छात्रवृत्तिका लागि आवेदन माग भएपछि कक्षा ४ देखि ८ सम्म अध्ययनरत ५७० जनाले आवेदन पेस गरेका थिए । जसमध्येबाट विभिन्न चरणका लिखित र मौखिक परीक्षाका माध्यमबाट ३ जना विद्यार्थी छात्रवृत्तिका लागि अन्तिम छनोटमा परेका थिए । यसका साथै चिनिया भाषा, कला र संस्कृतिमा उत्कृष्टता हासिल गर्न सफल मेधावी तथा जेहेन्दार विद्याथीहरूलाई छनोट प्रक्रियाको प्राथमिकतामा राखिएको कुरा विद्यालयका चिनिया भोलेन्टेयर शिक्षक यान युहई र छ्याङ फ्यानले जानकारी दिए ।

विहीबार विद्यार्थीलाई प्रमाणपत्रसहित नगद छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डेले केन्द्रबाट प्राप्त नगद रकम र प्रमाणपत्र वितरण गरे । छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै प्राचार्य पाण्डेले नेपाल र चीनबीच गहिरो दौत्य सम्बन्ध रहँदै आएको र चीनले विगत लामो समयदेखि भाषा, संस्कृति, कला एवम् प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण सहयोग र सहकार्य गर्दै आएको कुराको स्मरण गरे । साथै नेपाली विद्यार्थीमा पनि चिनिया भाषाको राम्रो ज्ञान भएमा चीनमा गएर विभिन्न विषयहरू पढ्न सजिलो हुने बताए । उक्त अवसरमा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे, विद्यालय निर्देशक सीता पाण्डे, भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठ लगायत शिक्षक, विद्यार्थीको उपस्थिति थियो । कार्यक्रममा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरे तथा चिनिया भोलेन्टेयर शिक्षक यान युहइले विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । विद्यालयमा २०७५ सालदेखि चीनिया भाषा प्रशिक्षण केन्द्रको सहकार्यमा कक्षा ४ देखि ८ सम्म नियमित रूपमा चिनिया भाषाको पठनपाठन हुँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->