पोखरा/ माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका बसन्तराज दवाडी पोखरामा पर्यटन व्यवसायी थिए । २५ वर्ष अघिको कुरा । स्वीस नागरिक म्याथियस मारिया डोल्ड प्याराग्लाइडिङ र ट्रेकिङको लागि पोखरा आए । दवाडीसंग भेट भयो । दुवैजना साथी बने । पोखरामा व्यवसायिकरुपमा प्याराग्लाइडिङ उडाउनुपर्छ, पोखरालाई साहसिक खेलकुदको हव बनाउनु पर्छ भनेर सुझाव दिएर उत्साह बढाउथे म्याथियस । उनी अहिले जर्मनीमा बस्छन् । त्यहाँ प्याराग्लाईडिङको प्रशिक्षक हुन् । म्याथियसमा नेपालको यति धेरै माया छकी उनी वर्षेनी नेपाल आउँछन । कहिले ग्रुप लिडर भएर आउँछन त कहिले एक्लै ।
पोखरा आएका बेला म्याथियस र दवाडीबीच पर्यटनका मात्र कुरा हुदैनथे । सामाजिक क्षेत्रको विषयमा पनि भलाकुसारी हुन्थ्यो । दवाडीकी आमा टीकादेवीको ५२ वर्षको उमेरमा १८ वर्षअघि मृत्यु भएको थियो । आमाको अभाव उनलाई खड्किरहेको थियो । सामाजिक क्षेत्रमा केही गर्ने हुटहुटी दवाडीमा थियो । यो कुरा म्याथियससंग राखेका थिए । यही बीचमा ५ वर्षअघि ब्लड क्यान्सरबाट थलिएकी ४५ वर्षीया श्रीमती भगवती पनि गुमाउन पुगे दवाडीले । यसले झनै मर्महात् बनायो । वृद्धवृद्धाका लागि केही गर्नुपर्छ भन्ने भावना जागृत बनायो । ज्येष्ठ नागरिक केन्द्र बनाउछु भनेर उनले म्याथियससंग कुरा राखे । तुरुन्तै म्याथियसले हजारमा होइन, लाखमा सहयोग माग्न भने । सोही अनुसार माग गरे दवाडीले । पछि लाखमा होइन, करोडमै आयो सहयोग । सामाजिक क्षेत्रमा कसरी काम गर्नुपर्छ भनेर देखाउनका लागि दवाडीलाई म्याथियसले स्वीट्जरल्यान्ड र जर्मनी लगे । बृद्धाश्रम देखाए । माछापुच्छ्रे गाउँपालिकाका संस्थापक अध्यक्ष कर्णबहादुर गुरुङ र एकजना वडाध्यक्षलाई पनि लगेर घुमाए । वृद्धवृद्धाको कसरी सेवा गर्नुपर्छ, कसरी राख्नुपर्छ भनेर देखाए ।
यता दवाडीले सबै आमाको सम्झनामा भन्दै आमा स्मृति प्रतिष्ठान संचालनमा ल्याइसकेका थिए । आमाहरु स्वर्गमा भए पनि आत्मा यही रहोस् भनेर प्रतिष्ठानको परिकल्पना गरिएको थियो । सुरुमा पारिवारिक संस्थालाई अहिले सामाजिक बनाइएको छ । सोही प्रतिष्ठानले संचालन गर्नेगरी यतिबेला माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । र यसको निर्माण गरिदिएको छ, स्विट्जरल्यान्डस्थित किसानहरुको संस्था एहमान स्टिफटुङ सेभोगनिन नामक संस्थाले । उक्त संस्थामा जोडिएका म्याथियसको पहलमा आर्थिक सहयोग आएर केन्द्र बनेको हो । ‘२५ वर्षअघि चिनजान भएको साथीका कारण आज एउटा सपना पुरा भएको छ’, आमा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष दवाडीले भने, ‘समाजका लागि केही गरौ भन्ने उद्देश्यसाथ यहाँसम्म आइपुगेका छौ । अझै केही गर्नु छ ।’

एहमान संस्थाको ५ करोड आर्थिक सहयोगमा बनेको ‘नाना–मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ को नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हालै उद्घाटन गरे । सेवा केन्द्रको भवन आमा स्मृति प्रतिष्ठानलाई एहमान संस्थाको प्रतिनिधि भएर आएका तिनै म्याथियसले हस्तान्तरणसमेत गरे । प्रतिष्ठानका अध्यक्ष गुणाखर दवाडीका अनुसार केन्द्र संचालनका लागि कार्यविधि बनाइएको छ । केही फिनिसिङको काम बाँकी रहेकाले अवको ३ महिनाभित्र सकेर केन्द्र संचालनमा ल्याउने उनले बताए ।
सेवा केन्द्रमा ४ भवन छन । तत्काललाई २०/२० जना बृद्धबृद्धा राख्न मिल्नेगरी २ छुट्टाछुट्टै आवासीय भवन बनाइएको छ । एउटा किचन र डाइनिङ, अर्को मेडिकल सेन्टरको भवन छ । मेडिकल सेन्टरमा एकजना एमविविएस डाक्टर, २ नर्स कार्यरत रहनेछन । यही काम गर्नका लागि छात्रबृत्ति दिएर पढाइएको छ । उनीहरुले केन्द्र बाहिरका सर्वसाधारणलाई पनि उपचार सेवा दिनेछन् । केन्द्रमा ६५ वर्ष उमेरमाथिका पैसा तिर्न सक्ने र नसक्ने सबैलाई राखिनेछ । पैसा तिर्नसक्नेबाट लिएर असहाय, गरीब तथा विपन्न वृद्धवृद्धालाई आवासीय सुविधासहित राखिने प्रतिष्ठानको भनाई छ । विशेष गरी छोराछोरी बिदेश भएकाका बाबुआमालाई केन्द्रमा राख्ने योजना रहेको पनि दवाडीले सुनाए । प्रतिष्ठानका संस्थापक दवाडीले आफ्नो केही सम्पत्ती पछि केन्द्रलाई दिने योजना बनाएका छन् ।

दाता स्विस नागरिक म्याथियस मारिया डोल्ड (बायाँ)
केन्द्रमा १० जना कर्मचारी रहनेछन । पहिलो चरणमा ४० बृद्धबृद्धालाई राखिनेछ । पछि ६० हुँदै १०० जनाको क्षमता पुराउने योजना छ । हाललाई वार्षिक ४५ लाख रुपैयाँ संचालन खर्च हुने अनुमान प्रतिष्ठानको छ । एहमान संस्थाले ३ वर्षसम्म केन्द्र संचालनका लागि अग्रीम आर्थिक सहयोग गरिसकेको छ ।
सेवा केन्द्र निर्माणका लागि स्वार्गीय नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनीहरुका छोराहरु दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ, खेमप्रसाद गुरुङ, कर्णबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले चार रोपनी जमिन निशुल्क उपलब्ध गराएका छन । कर्णबहादुर माछापुच्छ्रे गाउँपालिकाका संस्थापक अध्यक्ष पनि हुन । निशुल्क जग्गा उपलब्ध भएपछि जग्गादाताको नामबाट ‘नाना–मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ को नामाकरण गरिएको हो ।
केन्द्रमा आश्रित ज्येष्ठ नागरिकलाई एकल, डबल वा साझा कोठा, स्नानगृह, सुरक्षा व्यवस्थापन, बायोमेट्रिक लग–इन, सीसीटीभी, भान्सा, बगैंचा, पार्कको सुविधा हुनेछ । यसैगरी बिहान, बेलुकीको खाना, दिउँसो खाजा, भ्रमण, क्लिनिक र फार्मेसी, नर्सिङ र परामर्श सेवा, पुस्तकालय, अडियो–भिजुअल ल्याव, मनोरञ्जनात्मक गतिविधि, मल्टिमिडिया हल, योग र ध्यान कार्यक्रम पनि केन्द्रमा रहनेछन् । ‘मोडुलर किचन, एट्याच ट्वाईलेट र बाथरुम रहनेछन’ प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले भने, ‘अपांगमैत्री र प्रविधिमैत्रीपनि छ केन्द्र ।’

oplus_2

केन्द्र उद्घाटनका अवसरमा प्रतिष्ठानले स्विजरल्यान्डबाट आएका संस्थाका प्रतिनिधि म्याथियसलगायत, जग्गादातालाई पनि सम्मान गरेको थियो । सम्मान ग्रहण गरेपछि म्याथियसले सहयोग गर्न पाएका खुशी व्यक्त गर्दै व्यवस्थित रुपमा संचालनका लागि अनुरोध गरेका थिए । मन्त्री गुरुङले संघीय सरकारबाट पनि केन्द्रलाई कुनै न कुनै सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताएका थिए । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। जसमा विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु आएर बस्ने गरेका छन् ।

शिक्षामा पनि म्याथियसको सहयोग
ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापनामा महत्वपूर्ण भूमिका खेलको स्वीस नागरिक म्याथियसले शिक्षा क्षेत्रमा पनि उत्तिकै सहयोग गर्दै आएका छन । लमजुङ, गुल्मी र कास्कीका विभिन्न ५ विद्यालयमा उनको सहयोग रहेको आमा स्मृति प्रतिष्ठानका संस्थापक बसन्तराज दवाडीले बताए । दवाडीका अनुसार भूकम्पले क्षतिग्रस्त ५ विद्यालयको पुनर्निर्माण, मर्मतसंभारलगायत विभिन्न क्षेत्रमा अहिले पनि निरन्तर आर्थिक सहयोग गरिरहेका छन् । ती विद्यालयमा छात्रलाई छात्रबृत्ति, साना बालबालिकालाई खानाखाजाको व्यवस्था गरिरहेको उनले बताए ।





