छविलालको तर्फबाट शुक्रबार ढकाल र खतिवडाले बहस गरे भने आइतबार वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठले बहस गर्ने जनाइएको छ । शुक्रबारै लिला पछाईँका तर्फबाट बहस गर्दै अधिवक्ता गणेशबहादुर भट्टराईले जीवीका कारणले अरुलाई बलि चढाइएको जिकीर गरे । उनले लिला पछाईं सहकारीको रकम अपचलनमा नजोडिएको तर चिनजान र नजिक भएकै कारणमात्र समाएर थुन्ने काम गरेर अन्याय गरिएको बताए ।
सरकारी वकिल, जाहेरीकर्ता तर्फका कानुन व्यवसायीले बहस गरेपछि प्रतिवादीका तर्फबाट बहस सुरु भएको हो । आइतबारबाटै रास्वपा सभापति रवि लामिछाने पक्षका कानुन व्यवसायीबाट बहस हुन सक्ने वरिष्ठ अधिवक्ता सुशील पन्तले बताए ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि, छविलाल, लिलासहित जीवीका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुर गुरुङको थुनछेक बहस भइरहेको हो ।
सरकारी वकिलले सुरुआती अनुसन्धानमै कैफियत देखिएकाले प्रतिवादी सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो ।
रवि संलग्न रहेको गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट ५ करोड र अन्य सहकारीबाट गरेर ६५ करोड रूपैयाँ गएको देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । रविसहित ६३ जनालाई विपक्षी बनाइएकोमा एकमुष्ठ १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गर्दै आइबार थप अभियोजन पत्र दर्ता भएको हो ।





