बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

पोखरा/ दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित शिविरमा १३० जना बिरामीको परीक्षण गरिएको थियो ।

सो शिविरमा डा. नेहा न्यौपानेले महिलाहरूको पाठेघर सम्बन्धी जाँच गरेकी थिइन । जाँचको क्रममा ६५ जनामा महिला प्रजनन अंग संक्रमण पाइएको, भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड) १ जना महिलामा पोजिटिभ देखिएको, २ जना सम्भावित जोखिममा रहेको र आङ खसेको समस्या ३ जनामा पाइएको डा. न्यौपानेले बताइन ।

महिलाको स्वास्थ्यलाई लक्षित गर्दै गरिएको यो प्रयासले उनीहरूको समस्या पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गरिएको थियो ।
उक्त शिविरमा अन्य स्वास्थ्य समस्या भएका ८० जना बिरामीलाई आवश्यक औषधि वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले स्वास्थ्य शिविरले गाउँवासीलाई प्रत्यक्ष रूपमा लाभ र्पुयाउने र स्वास्थ्य सेवाको पहुँचलाई सहज हुने बताए । ‘आजको शिविरले देखाएको उत्साहजनक सहभागिताले यस्ता प्रयासलाई निरन्तरता दिन अझ ऊर्जा मिलेको छ’, उनले भने, ‘गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमको आयोजनामा सधैं प्रतिबद्ध छौ ।’

कार्यक्रममा पोखरा नर्सिङ क्याम्पसकी सामुदायिक विभाग प्रमुख रिता पाठक, गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी, वडाध्यक्ष मधुसुदन अधिकारी र फाउण्डेशनका सल्लाहकार कृष्णबहादुर क्षेत्रीले पनि आफ्नो भनाई राखेका थिए । दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव मदन मल्लले गरेका थिए भने पोखरा नर्सिङ क्याम्पसका वि.एन. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिपिका धितालले स्वागत मन्तव्य राखेकी थिइन ।

महिलाहरूको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण र त्यससँग सम्बन्धित समस्याहरूको पहिचान गर्दै समाधानका उपाय प्रदान गर्ने यो शिविरले ग्रामीण क्षेत्रका महिलाहरूलाई स्वस्थ जीवनतर्फ अभिप्रेरित गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक संस्थाहरुले प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->