पोखरा/मध्य पुसको चिसोले पोखरा पनि अछुत रहेन । तर, कांग्रेस महामन्त्री गगनकुमार थापा जसै पछिल्ला दुई दिन पोखरामा रहे, पोखराको माहोल भने गर्मायो ।
पोखरा अहिले यसै पनि केन्द्रमा छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अहिले देशकै चर्चामा छ । देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई यही प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा छ । सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा बयान सकिइसकेपछि अहिले उनीहरुमाथिको मुद्दामा थुनछेक बहस जारी छ ।सम्भवतः यही हप्तामा अदालतले केही आदेश गर्नेछ ।
तर, गगन आउनासाथ अनेक शंका उपशंकाहरु पोखरामा चले । सामाजिक सञ्जालमा टिप्पणीहरु आए । निकटका केही सञ्चारमाध्यममा समाचारहरु लेखिए/लेखाइए ।
नितान्त पार्टी कार्यक्रममा आएका गगनलाई लामिछानेसँग जोडेर अनेकन चर्चा चले ।
हुन पनि रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गराउनमा थापा संसदमा मुखरित भएर बोलेका थिए । निरन्तर संसदमा आवाज उठाएपछि थापालाई रास्वपाले तारोमा राखेका थिए ।गगनसहितका नेताहरुले छानविन समितिको अडान नछाडेपछि कांग्रेसले पनि त्यसलाई एजेण्डा बनायो । पार्टीले नै एजेण्डा बनाएपछि अन्ततः छानविन समिति बन्यो ।
सोही समितिले लामिछानेलाई कारवाहीको भागिदार बनाएपछि गगन रास्वपाको निशानामा छन् । उनको विषयमा अनेकन टिप्पणी रास्वपा र समर्थित नेता कार्यकर्ताहरुले लेख्दै आएका छन । शनिबार पनि सामाजिक सञ्जालमा गगनले न्यायधीश भेट्ने कार्यक्रम रहेको भन्दै चनाखो रहन भन्दै रास्वपाका नेता कार्यकर्ताहरुले फेसबुकमा लेखेका थिए ।
उनीहरुले गगनले प्रमण छ भनेको तर दिन नसकेको बताउँदै आएका छन् । तर, थापा पोखरा आउने थाहा पाएपछि रास्वपाका नेता कार्यकर्ताहरुले विभिन्न आशंकासहित गगनलक्षित टिप्पणी गरे ।
सहकारी प्रकरणमा रास्वपाले महामन्त्री थापालाई जोड्न सक्छन भनेर नै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कार्यतालिका नै सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
त्यसका बाबजुद पार्टी कार्यालयमा पूर्वनिर्धारित कार्यक्रममा थापा व्यस्त रहेका बेला बाहिरपट्टि भने रास्वपा कार्यकर्ता, सहकारी पीडित र नेविसंघका नेता कार्यकर्ताबीच केही बेर धकेलाधकेल हुन पुग्यो । यसको बारेमा महामन्त्री र आफू अनभिज्ञ रहेको सभापति बरालले बताए ।
सार्वजनिक कार्यतालिका बाहेक महामन्त्रीले सहकारी पीडितलाई भेट्ने कार्यक्रम थियो कि नाइ भनेर गगन निकट प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीलाई प्रश्न गर्दा त्यस्तो कुनै कार्यक्रम नभएको जानकारी दिए । कास्की सभापतिले सार्वजनिक गरेको कार्यतालिकामा नै महामन्त्री व्यस्त रहेको उनले बताए ।
शनिबार उनै सुवेदीलाई सहकारी पीडितका तर्फबाट भेटघाटको वातावरण मिलाउन सकिन्छ कि भनेर फोन भने नआएको होइन । महामन्त्री थापाले चाहिँ,‘जे गर्छन, वकिलले गर्छन्’ भन्ने जवाफ दिएको सुवेदीले जानकारी दिए । अदालतमा विचाराधीन मुद्दा भएका कारण पनि थापाले भेट्न इन्कार गरेका हुन ।आफ्नो कार्यक्रममा आउँदा पार्टी कार्यालयमा आएर अराजक गतिविधि गर्न नहुने उनले बताए ।
महामन्त्री थापा पार्टी कार्यालयमा रहँदा सहकारी पीडित भन्दै एक महिला आएकी थिइन । तर, उनी रास्वपा निकट रहेको स्वयं सहकारी पीडितले नै खुलाएका छन ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ भन्छन, ‘अनुराधा श्रेष्ठ वडा नम्बर ६ की सदस्य सबै पीडित नै हौँ भनेर संघर्ष समितिमा राखियो, बोल्न सिकाइयो तर अहिले आएर पक्राउ परेर आएपछि रङ देखाइन । जाहेरी हाल्ने, मुद्दा हाल्ने अनि रविलाई छोड्देऊ भनेर रुँदै हिँड्ने आज फेरि गगन थापा आएका भेट्ने कार्यक्रम बनाएका थियौँ । सानो भेटघाट कार्यक्रम थियो, प्रमाण माग्न गएका रे ।”
श्रेष्ठ रास्वपाका केही कार्यकर्ता लिएर पार्टी कार्यालय गएपछि सहकारीपीडित पनि पुगेका थिए । आफूलाई सहकारीपीडित बताउने श्रेष्ठलाई अन्य पीडितले सम्झाएका थिए, ‘हामी पनि पीडित हो, लड्ने भए हामीलाई साथ देऊ, रविलाई थुन्ने हो, उसले खाएको पैसा त तिर्नुप¥यो नि ।’
दुई वर्षसम्म आफ्नै रकम खर्च गरेर २ वर्षयता संघर्षमा आफूहरु उत्रिएको उनीहरुले बताए । ‘म गगनसँग प्रमाण माग्न आएको हो, रवि छुटाउनका लागि भनिन्,’ एक सहकारी पीडितले भनिन्, “रोएर हुँदैन, हामीले संघर्ष गर्न अझै बाँकी छ ।’ यही क्रममा रवि समर्थित सहकारीपीडित र संघर्ष समिति बनाएका सहकारीपीडित बीच हात हालाहालसमेत भएको थियो ।
सहकारी काण्डमा रास्वपा सभापति रवि जोडिएसँगै उनी संघर्षको कार्यक्रमभन्दा पनि रविलाई जोगाउने अभियानमा लागेकी हालैको साधारणसभाबाट सूर्यदर्शन सहकारीको अध्यक्ष बनेका तथा संघर्ष समिति तदर्थ समितिका अध्यक्ष रहेका श्रेष्ठको भनाइ छ ।
किरणका अनुसार उनी रविसहित १८ जनालाई प्रतिवादी बनाउने पूरक जाहेरीकर्ता हुन् । ‘
जाहेरी दिएपछि छवि देखिए, रवि देखिए को–को देखिए–देखिए । उनीहरुमाथि त कारवाही हुनुप¥यो नि,’उनले भने,‘ रवि ल्याउनासाथ उनलाई रास्वपाले प्रयोग ग¥यो । आज पनि कांग्रेसका महामन्त्री गगन थापाकहाँ प्रमाण खोज्दै पुगिछन् । अदालतमा पनि रास्वपाका कार्यकर्ताले नै उनलाई भित्र लिएर जान्छन् । त्यही रुवावासी गर्न लगाउँछन् ।’
उनले आफूहरुले कांग्रेस महामन्त्री थापासँग भेट्ने कार्यक्रम बनाएको तर झडपपछि त्यो सम्भव नभएको पनि बताए ।
‘सानो भेटघाट कार्यक्रम थियो, भेट्न पाइएन । यसो भेटौँ, सहकारी विषयमा केही कुरा गरौँ । मिलापत्र हुन्छ भने,त्यहाँबाट हाम्रो पैसा फिर्ता हुन्छ भने त्यसको पनि पहल गरिदिनुहोस् भन्न खोजेका थियौँ, त्यसको पनि पहल गरौँ भन्ने थियो,’उनले भने,‘हिजो हामीले रविलाई पनि त्यसरी भेटेकै हो । उहाँसँग पनि हाम्रो कुरा राखेकै हो । अन्य दलका नेतासँग पनि कुरा राखेकै हो । त्यही गरौँ भन्ने थियो, भएन । प्रमाण माग्न गएका रे । रास्वपा कार्यकर्ताहरु ।’
श्रेष्ठले कास्की जिल्ला अदालतमा पनि रविसँग असम्बन्धित रास्वपाका मान्छेहरु प्रवेश गर्ने र हल्ला गर्ने गरेको आरोप लगाए । त्यही विषयलाई लिएर आइतबार अदालत परिसर बाहिर केहीबेर चर्चाचर्की भएको पनि उनले जानकारी दिए । रास्वपाका कार्यकर्ताहरु संचारकर्मी बनेर अदालत भित्र छिर्ने तथा पीडित र जाहेरीवालाका व्यक्ति जान पनि नपाउन् भन्ने ध्याउन्नमा रहेको पनि उनको आरोप छ ।
‘ग्यालेक्सी टेलिभिजनमा काम गर्नेहरुको टिम छन् । ती नेता हैनन्,’ उनले भने,‘ उनीहरु ग्यालेक्सी टेलिभिजनबाट आएका हुन् । अदालतभित्र पनि हल्ला र खासखुस गर्छन् । श्रीमान( (न्यायाधीश)ले माछा बजार नबनाउनुहोस् साग बजार नबनाउनुस् भनेर अस्तिदेखि नै भन्नुभएको हो । खस्याकखुसुक नगर्नुस् भन्दा पनि टेरेनन् ।’
यसैबीच कास्की जिल्ला अदालतमा आइतबार पनि प्रतिवादीको तर्फबाट कानून व्यवसायीले बहस गरेका छन् । आइतबार छवि र लिला पछाईंको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठसहितले बहस गरेका थिए । न्यायाधीश नितिज राईको इजलासमा भएको बहस सकिएको छैन । सोमबार पनि छवि र लिलाकै कानून व्यवसायीले बहस गर्ने एक कानून व्यवसायीले बताए । त्यसपछि रामबहादुर थापाको पालो आउने र बल्ल रविका कानून व्यवसायीको पालो आउने पनि उनले बताए ।





