
पाेखरा/ पोखराको बेगनास तालको पानीबाट बिद्युत निकालेर रुपाताल पठाउने र रुपातालको पानीलाई पम्पबाट तानेर बेगनासतालमै पठाउने गरी विद्युुत प्रािधकरणले अघि सारेको बेगनास रुपा पम्प जलासययुक्त विद्युत आयोजनाले गति लिन सकेको छैन ।
सरकार र प्राधिकरणले स्रोतको सुनिश्चितता नगर्दा आयोजना बन्ने नबन्ने अन्यौलमा परेको छ । विद्युतको अत्याधिक माग हुने साँझको ४ घन्टाको समयमामात्र विद्युत उत्पादन गर्नेगरी आयोजना बनाइने प्राधिकरणले जनाउँदै आएको छ । आयोजनाले पहिलो पम्प जलाशययुक्त आयोजनाको रुपमा २०७४ कात्तिक २३ मा सर्वेक्षण अनुमति पाएको थियो । त्यसपछि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा प्रारम्भिक अध्ययन पनि भएको थियो । अहिले उक्त आयोजना नविकरण गरेर मात्र राखिएको छ ।
बाँकी सर्वेक्षण, वातावरणीय प्रभाव मुल्यांकनलगायत अध्ययन अनुसन्धानको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आयोजनाको संभाव्यता अध्ययन भएको बताए । ‘स्रोत अभावमा अरु काम अघि बढ्न सकेको छैन,’ टेलिफोनमा उनले भने, ‘स्रोत सुनिश्चित भएलगत्तै आयोजनाको कामले गति लिन्छ ।’ १५० मेगावाट विद्युत उत्पादन हुने आयोजना निर्माणका २० अर्ब लाग्ने अध्ययनले जनाएको छ ।
सरकार र प्राधिकरणले कार्यक्रममा राखे पनि बजेट भने नछुट्टाएको प्राधिकरणका एक प्रबन्धकले बताए । ती प्रवन्धकका अनुसार वातावरणीय प्रभाव मूल्यांकन, सिंचाईसंग आवस्यक समन्वय गर्ने काम भने भइरहेको छ । आयोजनाका एक पूर्व कर्मचारीका अनुसार यसअघि डिजाइन गरिएको टनेल र पावर हाउसको डिजाइन केही चेन्ज गर्नुपर्ने अवस्था रहेको छ । नेपाल सरकारले चालु वर्ष जम्मा २ लाख ३९ हजार र प्राधिकरणले करिब २० लाख रुपैयाँमात्रै आयोजनाका लागि बिनियोजन गरेका छन् । यो बजेटले कुनै पनि काम गर्न नसकिने उनको भनाई थियो । ‘कम्तीमा डिपीआर बनाउन पाए आयोजनाले एउटा आकार लिनेथियो’ उनले भने ।
प्रारम्भिक अध्ययन गरेको लामो समयदेखि त्यत्तिकै थन्किएको आयोजना अघि बढाउने भन्दै प्राधिकरणले २ वर्षअघि सरोकारवालासंग छलफल गरेको थियो । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय, आयोजना बिकास विभागले सरोकारवालासंग अन्तरक्रिया गर्दै १५० मेगावाट क्षमताको आयोजनाबारे हालसम्म गरिएको प्राविधिक, वातावरण तथा सामाजिक पक्षको अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो । विद्युतको अत्याधिक खपत हुने साँझको बेलाको मागलाई धान्ने गरी आयोजना बनाउन लागिएको प्राधिकरणले जनाउँदै आएको छ । साँझ ५ देखि ९ बजेसम्म बेगनास तालको पानीबाट विद्युत उत्पादन गरिने र राती १२ बजेदेखि बिहान ४ बजेसम्म फेरी रुपातालबाट पानी तानेर बेगनासमा पठाउने प्रतिवेदनमा छ । दैनिक ४ घन्टामात्रै विद्युत उत्पादन गरेर अत्याधिक मागलाई धान्ने बनाउने प्राधिकरणको योजना हो । बेगनास तालमा बन्ने इन्टेकबाट पानीलाई ३.०९ किमी लामो सुरुङमार्फत रुपातालमा झारेर त्यहाँ बन्ने पावरहाउसबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । रुपाताल बेगनास भन्दा ६८.२९ मिटर होचो छ । बिजुली निकाल्दा बेगनास तालमा पानीको सतह १ मिटर घ्टने र रुपातालमा भने ४ मिटर सतह बढ्ने छ । दुई तालको पानीमा ठूलो भिन्नता नभएको अध्ययन प्रतिवेदनले देखाएको थियो ।
आयोजनाले ताल बिगार्ने नभइ अधिकतम फाइदा लिने योजना रहेको र यो एउटा पर्यटकीय ब्रान्ड हुने विश्वास प्राधिकरणको छ । दुबै तालमा बाँध भएकाले अन्यत्रजस्तो जलाशय बनाउँदा खर्च बढी नलाग्ने र आयोजनाबाट वार्षिक २०६.१४ गिजावाट उत्पादन हुने तर २८५.१३ गिजावाट वार्षिक विद्युत खपत हुने अध्ययनमा छ । जग्गा अधिग्रहणमा पनि ठूलो समस्या छैन । २ वर्षअघि आयोजना बन्ने भनेर केही मान्छे तालमा डुंगा चढेर नापजाँच गरेको बाहेक अरु कुरा थाहा नभएको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए । अहिले यस विषयमा कुनै चर्चा नहुने र कोही आधिकारीक रुपमा जानकारी दिन पनि नआएको उनको भनाई छ । ‘आयोजनाका लागि स्थानीय स्तरमा खासै कुनै विवाद वा समस्या छैन’ वडाध्यक्ष कँडेलले भने, ‘पर्यटकीय आकर्षण थपिएर हामी स्थानीय पनि लाभान्वित हुन्थ्यौ । आयोजना बनाइदिए राम्रो हुन्थ्यो ।’
प्राधिकरणको प्रारम्भिक अध्ययनमा वातावरणीय असर पनि ठूलो नहुने अवस्था देखिएको थियो । माछालगायत जलचर प्राणीको अवस्थाबारे पनि प्रारम्भिक अध्ययन गर्दैै दुवै तालको प्राकृतिक अवस्था, सुन्दरता र जैविक अवस्थितिलाई पनि कुनै प्रभाव नपार्ने प्राधिकरणले जनाएको छ ।
डिसेम्बरदेखि मेसम्म नेपालमा कम विद्युत उत्पादन हुने तर माग भने उच्च रहीरहने भएकाले पनि पम्प र जलाशययुक्त आयोजनाको आवस्यकता रहेको भन्दै प्राधिकरणले आयोजना अघि सारेको थियो । नेपालमा धेरै आयोजना नदीको बहाव (रन अफ दि रिभर) को आधारमा भएकाले हिउँदमा नदीखोला सुकेर एक तिहाइमात्र विद्युत उत्पादन हुने भएकाले विद्युत अभाव हुने गर्छ । नेपालमा अहिले जलाशययुक्त आयोजना कुलेखानी १, २ र ३ मात्रै हुन ।





