पोखरा/ गण्डकी प्रदेश सरकारले २ सचिवको सरुवा समेत गरेको छ । लामो समयदेखि निमित्तको भरमा चलेको आर्थिक मामिला मन्त्रालयमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई सरकारले सरुवा गरेको हो । आर्थिकका सचिव पुरुषोत्तम शर्माको असोजमा सरुवा भएदेखि १० औं तहका अधिकृत डिल्लीराज रिज्यालले निमित्तको जिम्मा पाएका थिए । त्यसयता २ सचिव प्रदेशमा आए पनि अर्थमा नपठाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालयमा पठाइएको थियो ।
पुस ५ गते संघ सरकारको निर्णय अनुसार सरुवा भइ आएका २ सचिवमध्ये राजश्वका क्याडर टंकप्रसाद पाण्डेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने अनुमान गरिएको थियो । तर उनलाई प्रदेशकै योजना आयोगमा पठाएर सरकारले सामाजिकका राजेन्द्रदेव पाण्डेलाई आर्थिक मामिलामा पठाएको छ । टंकप्रसादसँगै सरुवा भएर आएका नवराज ढकाललाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिला संघबाटै मन्त्रालय तोकेर पठाइने गरेकामा अहिले प्रदेश आएका सचिवलाई प्रदेशको मन्त्रिपरिषदले मन्त्रालय वा निकायमा खटाउने गरिएको छ ।





