लमजुङ/ जिल्ला प्रहरी कार्यालय लमजुङले ३ महिनामा १ सय १२ वटा बन्दुक संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले ५ वर्षसम्म नवीकरण नगरेका हतियार स्वतः अबैध हुने भन्दै जिल्ला प्रहरी कार्यालय र मातहातका कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
उक्त सूचना अनुसार गत असोज १६ गतेदेखि पुस २३ गतेसम्म जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत मातहातका कार्यालयमार्फत संकलन भएको हतियार बुधबार सार्वजनिक गरेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाटको आयोजना गरी सवैभन्दा बढी एकनाले भरुवा बन्दुक १ सय ७ वटा, १२ बोर एकनाले २, एकनाले बृज लोडिङ राइफल, १२ बोर दुइनाले र २२ बोर हर्नेट बन्दुक १–१ वटा संकलन गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले प्रहरीले प्रशासन कार्यालयबाट बरामद गर्नुपर्ने हतियारको संख्या ७ सय ६४ वटा प्राप्त भएकोमा १ सय १२ वटा प्राप्त भएको र ५ सय ४५ वटाको विवरण प्राप्त भएकोमा ४ सय ७० वटाकोमात्रै लगत प्राप्त भएको बताए । विवरण प्राप्त हुन बाँकी २ सय १९ वटा हतियारको खोजी भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी बुद्वबहादुर गुरुङका अनुसार जिल्लामा १ हजार ५ सय जनाले विभिन्न समयमा हतियार लिएको देखिए पनि करिव ३ सय हाराहारीले मात्रै नवीकरण गरेका छन् ।





