सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरले ल्यायो ‘बसपार्क व्यवस्थापन ऐन’

बागलुङ नगरले ल्यायो ‘बसपार्क व्यवस्थापन ऐन’


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८१, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिकाको सोह्रौ नगरसभाले बागलुङ बसपार्क व्यवस्थापन ऐन पारित गरेको छ । बिहिवार भएको सभाले बसपार्क व्यवस्थापन ऐन २०८१, संघसंस्था स्थानपना दर्ता सम्बन्धमा बनेको ऐन २०८१ र अन्य महत्वपूर्ण निर्णय समेत गरेको हो ।
सभाले पारित गरेका दुवै ऐनलाई नियम तथा कार्यविधि बनाएर तत्काल लागू गरिने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । यस अघि उद्घाटन भएर पनि बागलुङ बसपार्क संचालनमा आउन सकेको थिएन । अब भने बसपार्क टेन्डर मार्फत संचालन गर्ने समेत बाटो खुलेको छ ।
गत असोजमा उद्घाटन भएर पनि हालसम्म बसपार्क नियमित संचालन हुन नसकेको अबस्थामा ऐन आएको हो । ऐनले बसपार्कलाई करारमा संचालन गर्न वा भाडामा लगाउन सकिने बाटो खोलेको श्रेष्ठले जानकारी दिए । यस अघि ऐन नआएकै कारण छोटो समयकालागि मात्र बसपार्क संचालन गर्न खोज्दा बस नगएको, आवस्यक अन्य पूर्वाधार नभएको गुनासो आएको थियो । नगरपालिकाले बसपार्क आउने जाने सडक बनाएको छ ।
यसअघिनै आधुनिक बसपार्क, टर्मिनल भवन र व्यवसायिक सटर समेत निर्माण गरेको छ । बसपार्कमा खानेपानीको व्यवस्थापन पनि भएको छ । तर नियमित बस लैजाने, संचालन गर्ने काममा नजिकमा होटल तथा रेस्टुरेन्ट नभएको लगायतको अभाव देखाएर बस संचालकले पुरानो बसपार्कमा राख्ने गरेका थिए ।
यो ऐन पछि यहाँको चिप्लेटी बसपार्क बन्द हुने भएको छ । नयाँ बसपार्क टेन्डर मार्फत संचालनको बाटो खुलेको हो । बसपार्क भित्र व्यवसायिक गतिविधि संचालन हुन थालेपछि स्वभाविक रुपमा बस नियमित जाने र उपल्लाचौर स्थित बसपार्कबाटै नियमित बस चल्ने अबस्था रहने श्रेष्ठले जानकारी दिए । गत असोजमा उद्घाटन भएको बसपार्क अझै संचालनमा आउन सकेको छैन । उचित नीति र कार्यविधि नभएकोले बसपार्क संचालन गर्न कठिन भएको जनप्रतिनिधिले बताउँदै आएका थिए । ‘अब ३० बर्ष सम्म भाडामा दिने गरी बसपार्क चलाउन सकिने भयो’ नगरप्रमुख श्रेष्ठले भने, ‘अब बजार भित्र दुइतीन थरी बसपार्क रहनेछैनन् ।’ यस अघि संचालन भैरहेको चिप्लेटी बसपार्कलाई बिस्थापित गरेर नगरपालिकाले उपल्लाचौरमा ‘दाबगरा बसपार्क’ निर्माण गरेको हो ।
चारबर्ष अघि नै निर्माण भएको बसपार्क बनाउने क्रममा स्थानीय सँग लिएको जग्गा फिर्ताकालागि पनि कार्यविधि बनाउने भएको छ । सभाले गण्डकी प्रदेश सरकारलाई उक्त जग्गा पासको क्रममा राजश्व छुट गर्ने निर्णय गरिदिन अनुरोध गर्ने निर्णय समेत गरेको हो । निशुल्क दिएको जग्गा फिर्ता लिंदा पनि स्थानीयले कर तिनुृपर्ने बाध्यता भएपछि नगरले सो बाटो खुलाउन पहल गरेको हो ।
२०५४ देखि स्थानीयले जग्गा दिएर बसपार्क बनाउने योजना थियो । बसपार्क बन्न ढीला हुँदा स्थानीयको जग्गा फिर्ता भएको थिएन । यहाँका एकसय जनाको कुल ५२ रोपनी जग्गालाई एक ढीका बनाएर त्यस मध्ये बसपार्कलाई १७ रोपनी जमिन छुट्टयाइएको थियो । बाँकी जग्गा फिर्ता गर्न नसक्दा स्थानीय आक्रोसित थिए । सभाले संस्थाहरुको स्थापना तथा दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित गरेको छ । बिहिवार भएको नगरसभामा बिधायन समितिका संयोजक तथा वडा नंं ३ का अध्यक्ष सनी केसी लक्ष्मणले पेश गरेको प्रस्तावमा छलफल सहित सभाले दुवै ऐन पास गरेको हो । त्यस बाहेक सभाले धौलागिरि अस्पताललाइ तत्काल १ सय बेडको र मापदण्ड अनुसार ३ सय बेडको संचालनकालागि पहल गर्ने निर्णय गरेको छ । साथै धौलागिरि अस्पतालमा मेडिकल कलेज संचालनकालािग आवस्यक जग्गा व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने र अनुमतिकालागि सरकारलाई लेखी पठाउने निर्णय गरेको सभापति नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
सभाले बानपा १३ को पाग्जा देखि जलकेनी पैयुपाटा हुँदै अमलाचौर जाने सडकको नाम ‘गणेशमान सिंह मार्ग’ राख्ने निर्णय समेत गरेको हो । भूमिगत कालमा गणेशमान सिंह आउँदा उक्त स्थानमा पैदल यात्रा गरेको स्मरणमा वडा नंं १२ र १३ ले ल्याएको प्रस्ताव पारित गरिएको थियो । सभाले नगरपालिकामा पर्यटन सूचना केन्द्र र पर्यटन प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा पर्यटन गुरुयोजना बनाउने निर्णय समेत गरेको उपप्रमुख राजु खड्काले जानकारी दिए । नगरपालिकाले शुरु गरेको बालमैत्री शासन युक्त नगर कार्यक्रम सफल भएको भन्दै सबै वडा, टोल र बिद्यालय तहमा घोषणा भैसकेकोले आगामी माघ ९ गते नगर स्तरीय घोषणा सभा गर्ने पनि निर्णय भएको उनले जानकारी दिए । नगरसभाले उपप्रमुख खड्काले प्रस्ताव गरेको आर्थिक ऐन संशोधन बिधेयक २०८१ पनि पारित गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->