बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिमसार मासिदा जलपंछी घटे

सिमसार मासिदा जलपंछी घटे

जलवायु परिवर्तनले हिमाल र तराइका चराहरु पोखरा आउछन् ।


  • विजय नेपाली
  • पुष २७ २०८१, शनिबार

पोखरा/पोखराका सिमसार क्षेत्रहरु अतिक्रमणको चपेटामा पर्दा पाच वर्ष यता जल पंछीहरु घट्न थालेका छन् । पोखरा महानगरपालिका भित्र रहेको विभिन्न तालहरुमा जाडो छल्न आउने जल पंछीहरु घट्न थालेका हुन् । पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनाले पछिल्ला पाँच वर्षमा चराहरु घटेको तथ्यांक देखाएको हो । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजले पुस २२ र २३ गते गरेको जलपंक्षी गणनाले पोखरा उपत्यकामा ५३ प्रजातिका जल पंछी अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले बताए । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना हुन थालेको हो । तर, सिमसार क्षेत्रको अतिक्रमणका कारण पंछीहरुमा समेत असर देखिएको छ । घिमिरेका अनुसार जलपंछीमात्र नभए चिसो ठाउँमा बस्ने र गर्मी ठाउँमा बस्ने दुवै प्रजातिका चराहरु पोखरा आउने गरेपनि पोखरामा हुने ध्वनी प्रदुषण, सिमसार अतिक्रमण, मानविय गतिविधि र अनावश्यक सडक निमार्णले पंछीहरुमा ठुलो असर गरिरहेको छ । ‘हिमालमा अहिले धेरै चिसो हुने गरेको छ । हिउँ परेपछि बरु अलि तातो हुन्छ लामो समय हिउँ परेन भने चिसो बढ्छ पछिल्लो समयमा अलि माथिल्लो लेभलमा देखिने चराहरु पनि पोखरा झर्न थालिसकेको छ’ उनले भने, ‘यसले गर्दा समग्र चराहरुमा पनि जलवायुको असर ठुलो परेको छ । तीन हजार मिटर दुइ हजार पाँच सय मिटरमा देखिने चराहरु समेत ८२० मिटरमा झर्ने गरेको उनी सुनाउछन् । धेरैचिसोमा आहारा नपाउने र तातो नपाउने हुने हुँदा आउने गरेको छ यतिमात्र होइन तातो क्षेत्रमा रहने चराहरु विशेषगरि २५० मिटरमा बस्ने बकुला प्रजातिका चराहरु समेत गर्मी बढि भएका कारण पोखरा क्षेत्रमा आउने गरेका छन् । जसबारेमा अनुसन्धान गरिरहेको छ । एलो व्रिटोन, ब्ल्याक व्रिटोन लगायतका पंछीहरु पोखरा आउने गरेको छ । हिमालमा अत्याधिक चिसो हुन थालेपछि हिमाल आसपासका पंछीहरु पोखरा झर्न थालेका छन् । जलवायु परिवर्तनको असरका कारण मौसममा आएको परिवर्तनले हिमालमा अधिक चिसो भएपछि चराहरु चिसो छल्न पोखरा तर्फ झर्न थालेको विज्ञहरु बताउछन् । उनका अनुुसार पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंछी गणना गरिएको थियो । मानविय गतिविधि बढ्दा समेत चराहरु घटिरहेको छ । पानीमा आस्रित चराहरुले आफु असुरक्षित भएको स्थान छाडेर अन्यत्र जाने गर्दछन् । पोखरामा हुने अंग्रेजी नयाँ वर्षका दिनको आतिसवाजीले समेत निकै प्रभाव पारीरहेको छ । बास बसेको चराहरुलाई असर गर्ने गरेको छ । रातको समयमा बास बसिरहँदा हुने ध्वनी प्रदुषणका कारण उनीहरु भाग्न खोज्दा ठोक्किएर मृत्यु हुने गरेको उनी सुनाउछन् । विजुलीबाट गरिने आतिसवाजी अनुरोध गरे । यस्तै अध्ययनले फिस्टेल गेट आसपास बस्ने ठुलो जलेवा अहिले सरेर तालबाराहि मन्दिर आसपास आइसकेको छ । उनीहरु बासस्थान छाडेर पाँच सय मिटर भन्दा पर आइसकेको । पहिला देखिने बकुलाहरु समेत छैनन् । जल पंछी संरक्षणका लागि एक जना व्यक्ति वा संस्थाले मात्रै संरक्षण गर्न नसकिने उनको तर्क छ । यसका लागि राज्यको तीनै तहले ध्यान दिन अत्वाश्यक देखिन्छ । उनले पंछी चोरी सिकारी न्युनिकरणका लागि कानुन भएपनि त्यो कार्यान्वयन नहुनु दुखद पक्ष हो । २० वर्षदेखी पानी चराको बारेमा अनुसन्धान गर्दैगर्दा सिमसार क्षेत्रबारे स्पष्ट पार्न आवश्यकता रहेको उनले सुनाए । यतिमात्र होइन पंछी संरक्षणका लागि स्थानीय निकायले वेवास्ता गर्दै आइरहेको छ । सिमसार क्षेत्रबारे स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिन आवश्यकता रहेको घिमिरेको भनाइ छ । टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले २००४ देखी पोखरामा पानीको चरा गणना सुरु गरिएपनि अभिलेख राख्ने काम भने सन् २००५ बाटमात्रै भएको हो । दुइ दशकसम्म आइपुग्दा जल पंछीमा संख्यात्मक रुपमा निकै घटेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो पाँच वर्ष यता संख्यात्मक रुपमा चरा घटेको तर, घुमन्ते चराहरु आउने जाने प्रकृया बढिरहेको छ । ‘पाँच वर्षमा निकै घटदो छ । अहिले दुइ तालमा अलिकति बढ्दो अवस्थामा छ अन्य तालमा भने घटेको स्थिति छ । स्पेसिसवाई र टोटल पपुलेसन घट्दो छ ।’ अहिले नयाँ चरा रेकर्ड भएको छ आसिठुले भनिन्छ । यस्ता धेरै चराहरु दश बाह्र वर्ष अघि देखिएको बिचमा हराएको र पुनः देखिएको छ’ उनले भने, ‘समर र विन्टर गरि दुई सिजनमा चराहरु पोखरा आउने गर्छन अर्थात चिसो र गर्मी छल्न । फिरन्ते चराहरु मध्ये २०१६ मा गुदे तालमा रेकर्ड गरिएको चरा कल हास हाल गुदे तालमै देखिएको छ ।’ गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपंछी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंछी भेटिएका छन् । गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ । उनका अनुुसार जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने, पानीमा र यस वरिपरी बस्ने चराहरुको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->