पोखरा / पत्रकार दीपक परियार थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट शनिवार पोखरामा पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
परियारलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । पत्रकारद्वय थमन परियार र महेश पहारीको स्मृतिमा प्रेस सेन्टर कास्कीले पुरस्कार स्थापना गरेको थियो । सेन्टरले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ । पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।





