पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना गर्न लागेको हो । पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको मेलाको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले मेलाको तयारी तिब्र पारिएको जानकारी दिए ।
‘ग्रामिण पर्यटन प्रबद्र्धनका लागि सिक्लेस माघे संक्राति मेलाको आयोजना गर्न लागेका हौं । यहाँ सुविधा सम्पन्न होटल तथा होमस्टेहरु समेत छन्’ उनले भने, ‘विशेषगरि गुरुङ जातिको पैतिक थलो भएको यहाँ म्हउदु र फैमक्युमा तिर्थालुहरुको जात्रा समेत हुनेछ ।’ परम्परागत रुपमा म्हउदु क्युफी र फैम क्युफीलाई पुजिदै आइरहेको छ । त्यसैको प्रचार प्रसार, संरक्षण र विकास गर्नु यस वर्षको मेलाको उदेश्य रहेको छ । खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान एक–एक लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गुरुङ भाषा नृत्य प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रो हुनेलाई ४५, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समान पाँच–पाँच हजार रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छेलो खेलको विजेताले ४५ हजार तथा उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सिक्लेस पोखरा देखी ४० किलोमिटरको दुरीमा रहेको छ । २०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेलाको यो संस्करण माघ १ देखी ४ गतेसम्म सञ्चालन हुनेछ ।





