
पोखरा/दुग्ध सहकारी संघमा आबद्ध दूध उत्पादक किसानहरुले समयमै दूधको भुक्तानी दिन दुग्ध विकास संस्थान (डीडीसी) माग गरेका छन् । डीडीसी र निजी कम्पनीहरुले समयमै दूधको भुक्तानी नहुँदा मर्कामा परेको उनीहरुको भनाइ छ । कारणले किसानलाई भुक्तानी गर्न ढिला भएको किसानहरुले बताएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको पोखरामा सम्पन्न ३० औं साधारण सभामा किसानहरुले डीडीसी र दूध उद्योगहरुले वेइमानी गरिरहेको आरोप पनि लगाए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले समयमा भुक्तानी नपाएको र दूध किन्ने कम्पनीहरुले राज्यले तोकेको दर रेटभन्दा कममा खरिद गर्ने गरेको दुखेसो पोखे ।
‘हामीले साउनदेखिको भुक्तानी पाएका छैनौं । उत्पादन गरेको दूध सहजै बिक्रीसमेत हुँदैन, बिक्री भएको दूधको पैसा पाउँदैनौं, दूध बेच्नै गाह्रो छ ।’ उनका अनुसार नेपालमा दैनिक करिब सात लाख लिटर दूध खपत हुँदै गर्दा त्यो बराबरको परिणाम काठमाडौंमै खपत हुन्छ । पोखरालगायत देशको अन्य शहरमा भारतबाट समेत दूध आउने गरेको छ । राज्यले तोकिदिएको दर रेटमा समेत कम्पनीहरुले घटाएर माग्ने गरेको उनको गुनासो छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले समस्या किसानबाट नभइ डीडीसी र निजी डेरी उद्योगमा देखिएको सुनाए । उनका अनुसार डीडीसी र उद्योगबीचको आन्तरिक द्धन्द्धका कारण किसान मारमा परिरहेको आरोप लगाए । नेपाल दूधमा आत्मनिर्भर हुने र त्यो घोषणा नजिकै आएको उनको भनाइ छ ।
‘अहिलेसम्म हेर्दा किसानमा समस्या छैन, समस्या सहकारी उद्योग र उपभोक्ताबीचमा हुने लिकेजमा आएको छ । त्यहाँ इमानदारिता र विश्वसनीयता नै छैन । १५–१५ दिनमा हुने भुक्तानी किन भइरहेको छैन ?,’उनले भने,‘ ‘यो आन्तरिक कलहको कारणले आएको समस्या हो यसको अन्त्य हुनैपर्छ ।’
नेपालको कुल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रले मात्रै करिब ६ प्रतिशत योगदान दिए पनि समयमा किसानले रकम नपाउँदा ठूलो समस्या झेल्न बाध्य भएको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उत्पादन वृद्धिमा अरबौँ खर्चेर कृषकहरुले पेशामा लागिरहँदा राज्यबाट राहत र समस्याको समयमै समाधान नगर्दा दुःख लाग्ने गरेको उनी सुनाउँछन् ।
दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सूर्य पौडेलले डिडिसी भित्रकै कर्मचारीको गलत क्रियाकलाप र आर्थिक अनुशासनहीनताले समस्या उब्जिएको स्वीकारे । दुग्ध किसानलाई दिने भुक्तानीको कुरा निकै पेचिलो रहेको र असारमा किसान, डीडीसी, मन्त्रालय सबै बसेर छलफल गरेपश्चात भुक्तानी दिन सुरु भएको सुनाए । असारसम्म एक सय ४८ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्ने देखिएको थियो । जसमा कोशी प्रदेशमा मात्रै ९ महिनाको रकम बाँकी रहेको थियो । अहिले साउनदेखिको रकम भुक्तानी नभएको पनि उनले बताए । तर, डीडीसीले यो मंसिरसम्म एक सय ५३ करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको उनको दाबी छ । यस्तै डीडीसीले जापानमा घ्यू निर्यात गरिरहेको उनले सुनाए । चीनमासमेत बटर निर्यातका लागि दुई कम्पनीसँग सम्झौता भएको र माग अधिक मात्रामा रहेको सुनाए । वार्षिक १२ सय मेट्रिक टन बटर चीन पठाउन सकिने पनि उनले बताए ।
डीडीसी आर्थिक अनुशासनमा बसेमा १५–१५ दिनमा किसानलाई भुक्तानी दिन सकिने उनले बताए । दुग्ध सहकारी संघमा गण्डकीका ९५ दुग्ध सहकारी संस्था र सातवटा संघ रहेको छ । यस्तै ८ वटा खारेज भएका छन् । जसमध्ये स्याङजामा सबैभन्दा बढी दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । स्याङजामा २६, तनहुँमा २२, गोरखामा १६, कास्कीमा १४, पुर्व नवलपरासीमा ८, बागलुङमा ७, पर्वत र लम्जुङमा १–१ रहेका छन् । यस्तै दुग्ध उत्पादन सहकारी संघ यि मध्ये लमजुङ बाहेक अन्य जिल्लामा १–१ रहेका छन् । स्याङका ५, तनहुँका २ र कास्कीका १ खारेज भएका छन् ।
दुग्ध क्षेत्र सुधार्न निरंकुश बन्नुपर्छ । त्यो आँट कहिले आउँछ थाहा छैन : मन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्रभित्रको विकृतिको बारेमा खोज्दै जाँदा निकै ठूलो अस्वस्थता फेला परेको सुनाए । उनले कृषि क्षेत्रमा सुधार गर्नका लागि निरंकुश हुनैपर्ने आवश्यकत रहेको बताउँदै यसलाई तत्कालै सुधार गर्न सकिने स्थिति नदेखिएको बताएका छन ।
‘किसानसँग दुध लिने। पैसा चाहिँ नतिर्ने भन्ने कारण के होला भनेर खोजीमा लागेँ । खोज्दा ठूलै भ्वान लागिसकेको रहेछ । असाध्यै असजिलो रहेछ । मैले कृषि मन्त्रालयका अन्य समस्याभन्दा पनि किसान लक्षित उधारो दूध किन्ने नगदमा बेच्ने धेरै नाफा खाएर तर, किसानलाई नदिने अवस्था आएको रहेछ । आज ६ महिना बित्दै गर्दा म लज्जित छु । म जवाफ दिन सक्ने अवस्थामा छैन् । बिक्री गरेको दूधको पैसा कहाँ जान्छ थाहा छैन । कर्मचारीलाई तलब समेत खुवाउन सकिँदैन । हामीले ट्यांकरमा दूध जोख्दा रहेछौं । त्यो जोख्दा पाँच सय लिटर छ भने सय देखाउने । सय ल्याएको छ भने । आठ सय देखाउने कहाँ हराउँछ ? हामीलाई थाहा छैन, ’ मन्त्रीले थपे, ‘धेरै कुरा पत्ता लाग्यो तर गर्न केही पनि सकिएको छैन । त्यहाँभित्रको यथार्थ हो यो । सुधार गर्न धेरै प्रयत्न गर्नुपर्छ । निरंकुश बन्नुपर्छ । कसैका कुरा सुन्न हुँदैन । आँखा चिम्लिएर आँट गरे सुध्रिन्छ । त्यो आँट कहिले आउँछ, मलाइ पनि थाहा छैन् ।’ सहकारीबारे अध्ययन नगरेको सुनाउँदै उनले हाल सहकारी ठगीमा परेको सन्दर्भ सुनाउँदै दुग्ध सहकारीमा महिला बढी भएकाले डुब्दैन भन्नेमा आशावादी रहेको सुनाए ।





