
पोखरा/पोखरा महानगरपालिकाले डेभिजफल्स (पाताले छाँगो) को गेटमा तालाबन्दी गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पाताले छाँगो क्षेत्रको आफै व्यवस्थापन गर्ने महानगरको निर्णयमा स्थानीयको अवरोधपछि मंगलबार महानगरले प्रवेशद्वारमै तालाबन्दी गरेको हो ।
पोखरा १७,छोरेपाटनमा रहेको पाताले छाँगोको संचालन र व्यवस्थापन स्थानीय छोरेपाटन माविले गर्दै आएको छ । त्यहाँ प्रवेश गर्दाको शुल्क पनि विद्यालयले नै लिन्छ । प्रवेश शुल्कबापत् उठेको रकमबाट विद्यालय संचालन हुँदै आएको स्थानीयको भनाइ छ । स्थानीयको त्यही माग संवोधन गर्न महानगरले २०८० सालको भदौमा विद्यालयलाई वार्षिक २ करोड रुपैयाँ दिने गरी सम्झौता गरेको थियो । तर, विद्यालयसँग सम्बन्धित व्यक्तिहरुले त्यसको पनि विरोध गरे । महालेखापरीक्षकको कार्यालयले पाताले छाँगोबाट हुने आम्दानी महानगरको कोषमा नआएकोमा खबरदारी गर्दै आइरहेको छ ।
खासमा, विवादको जड भने अर्कै छ । पोखरा महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप पाताले छाँगोको व्यवस्थापनको जिम्मेवारी सेती क्यानोनिङ प्रालिलाई दिने निर्णय गरेको छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा भएको त्यो सम्झौतालाई वर्तमान मेयर धनराज आचार्यले पनि अगाडि बढाउने निर्णय गरेका थिए । सेती क्यानोनिङले डेभिजफल्समा सिसाको पुलदेखि म्युजिकल फाउण्टेन, रेस्टुराँ, सेल्फी प्वाइन्ट बनाउने योजना अगाडि सारेको थियो । ४० वर्षको लागि गरिएको सो सम्झौताबाट महानगरले सुरुका ३ वर्षसम्म वार्षिक २ करोड र त्यसपछि पहिलो वर्ष ५ प्रतिशत र त्यसपछि २÷२ वर्षमा ५ प्रतिशत चक्र वृद्धिले हुन आउने रकम प्राप्त गर्ने उल्लेख छ । कम्पनीले करिब ४५ करोड लगानीमा परियोजना सम्पन्न गर्ने योजना पेश गरेको थियो ।
विद्यालयले आम्दानी गरिरहेको ठाउँ निजी कम्पनीलाई दिन लागेको भन्दै स्थानीयले निरन्तर विरोध गरेपछि परियोजना अगाडि बढ्न सकेको छैन । सम्झौता भएको कम्पनीले बारम्बार दबाब दिएपछि महानगरले अन्तिममा सो क्षेत्र आफैले चलाउने निर्णय गरेको हो । महानगरको राजश्व प्रशासन महाशाखाले मंगलबार सार्वजनिक मुचुल्का गराएर पाताले छाँगो संचालनका निम्ति तालाबन्दी गरेको जानकारी गराएको छ ।
महानगरको तर्फबाट गरिएको सार्वजनिक मुचुल्कामा भनिएको छ,‘पोखरा महानगरपालिका वडा नं १७ स्थित पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाले महानगरपालिकाको आर्थिक ऐन र प्रचलित नेपाल कानून बमोजिम सञ्चालन गर्ने पातले छाँगो (डेभिड फल्स) को राजस्व संकलन र व्यवस्थापनको सम्बन्धमा यस अघि महानगरपालिका र छोरेपाटन माध्यमिक विद्यालय बीच भएको सम्झौता अक्षरस पालना नगरिएको अवस्था र महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा राजश्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाको रहेको र यस अघिको बेरुजु रकम अशुल उपर गर्नुपर्ने भनि दिएको निर्देशनात्मक आदेश समेतका आधारमा आज मिति २०८१ माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको तर्फबाट गरिने जानकारी गराइन्छ । साथै सो प्रयोजनका लागि आज मिति २०८१ माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को प्रवेश द्वारमा अर्को आदेश नभए सम्मका लागि महानगरपालिकाको तर्फबाट शिलबन्दी गरिएको छ ।’





