तस्बिर : सौगात जंग खड्का
बागलुङ/दोश्रो स्मृति कप फुटबल प्रतियोगिता जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङले जितेको छ । शनिबार बागलुङ नरपालिका वडा नं. १ रामरेखास्थित बाङगेचौर खेला मैदानमा सम्पन्न फाइनल खेलमा संकल्प पुनस्थापना केन्द्रलाई ट्राइबेकरमा ५–३ गोलले हराउँदै उपाधि डिपिओ बागलुङले उपाधि चुमेको हो ।
साबिकको धौलागिरि क्षेत्रका १४ टिम सहभागि प्रतियोगितामा प्रथम भएर पुलिसले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको संकल्प पुनस्थापना केन्द्रले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो । खेल हेर्न शनिबार सयौं दर्शक ओइरिएका थिए । निर्धारित समयमा एक÷एक गोलको बराबरीमा खेल सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
दोश्रो हाफको पहिलो २ मीनेटमा संकल्पका मनोज गुरुङले गोल गरेर खेललाई अगाडि बढाएपनि १५ औं मीनेटमा पुलिसका सुमित श्रेष्ठले गोल फर्काएपछि खेल बराबरी भएको थियो । थपिएको समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा पुलिसको सुमित श्रेष्ठ, रन्दिप पौडेल, रोशन छन्त्याल, सन्दिप तामाङ र विवेक गुरुङले गोल गरे । संकल्पका लागि भने मुकुन्द निउरे, राहुल गुरुङ र भागवत क्षेत्रीले मात्रै गोल गर्न सफल भए । खेल अबधिभर संकल्पले पुलिसलाई दवावमा राखे पनि उपाधि जित्न चुक्यो ।
बागलुङ एकता क्लबका ८ जना पूर्व सदस्यहरुको स्मृतिमा दुइ वर्षदेखि खेल संचालन हुँदै आएको छ । प्रतियोगितामा पुलिसका विवेक गुरुङ सर्वोकृष्ठ घोषित भए । त्यस्तै उत्कृष्ठ गोलकर्तामा नारायण दल गण मुस्ताङका धिरेन्द्र शाही र आदर्श युवा क्लबका जोफ कुमान घोषित भए । बेस्ट गोलकिपरमा पुलिसकै जीवन सिंह ठकुरी पुरस्कृत भएका छन् ।
यस्तै, डिफेन्डरमा संकल्पका विशाल नेपाली, मिड फिल्डरमा पुलिसका सन्दिप तामाङ तथा स्ट्राइकरमा संकल्पका मुकुन्द्र निउरे घोषित भएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमको संचालन पत्रकार रोहन जिसीले गरेका थिए ।





