पोखरा/कास्कीको पर्यटकी गाउँ सिक्लेसमा रहेको इको संग्रहालयमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । संग्राहलयको तथ्यांक अनुसार यो वर्ष ६ महिनामै सर्वाधिक आन्तरिक पर्यटकले अवलोकन गरेका हुन् । गत आर्थिक वर्षमा एक हजार सात सय जनाले संग्राहलयको अवलोकन गर्दा यो वर्षको ६ महिनामै सोही बराबरमा पर्यटकले संग्राहलको अवलोकन गरेको इको म्युजियमकी क्युरेटर तथा म्युजियम व्यवस्थापन समितिकी सचिव कृष्टि गुरुङले जानकारी दिइन् । उनका अनुसार अघिल्लो एक वर्षमा संग्राहलय घुमेका पर्यटक यो वर्षको ६ महिनामै आएका छन् । गुरुङ संस्कृतिले भरिएको सिक्लेस गाउँको उक्त संग्राहलयमा गुरुङ संस्कृतिको प्राचिनदेखी आधुनिकसम्मका घरेलु सामान रहेको छ । पोखरा (काहुँखेला) देखी ३७ किलोमिटरको दुरीमा रहेको सिक्लेस समुन्द्री सतहदेखी १९५० मिटरमा उचाइमा छ । गुरुङको अनुसार कोरोना महामारी पछि बाह्य पर्यटकको संख्या निकै न्युन रहेको छ । कोरोनाअघि बाह्य पर्यटक राम्रै आउने गरेपनि हाल आन्तरिक पर्यटकको संख्यामा वृद्धि भइरहेको उनले सुनाइन् । ‘कोरोना अघि बाह्य पर्यटकको आगमन राम्रो रहेपनि कोरोना पश्चात भने निकै कम आउने गरेका छन् । कोरोनापश्चात आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ’ उनले भनिन्, ‘अझ यो ६ महिनामा सबैभन्दा बढि आन्तरिक पर्यटक आएका छन् । अघिल्लो वर्ष करिब सत्र सय पर्यटकले म्युजियमको अवलोकन गरेका थिए । यो साउनदेखी पुस सम्ममा मात्रै पन्ध्र सय सात जनाले अवलोकन गरेका छन् ।’ महिलाहरुले व्यवस्थापन गर्दै आइरहेको संग्रहालयमा १५ जना सदस्य छन् । उनका अनुसार सिक्लेस घुम्न आउने सबै पर्यटक संग्राहलयमा पुग्दैनन् । २३–२४ वर्ष अघि निमार्ण भएको घरलाई २०७१ सालमा संग्राहलयको रुपमा दश वर्षअघि रुपान्तरण गरिएको थियो । संग्रहालयमा गुरुङ संस्कृति संगै मादी गाउँपालिका भित्र पाइने वनस्पति र जिवजन्तुहरु देख्न पाइन्छ । एक्यापको भवनमा पहिला फोटो प्रदर्शनी, चलचित्र देखाउने तथा बैठक बस्ने गरिएको थियो । हेर्दै चिटिक्क देखिने उक्त भवनलाई संग्राहलयको रुपमा स्थापित गरेसंगै सिक्लेसमा थप रौनकता आएको हो । सिक्लेस घुम्न आउने अघिकांश विद्यार्थीहरु संग्राहलयमा पुग्ने गरेका छन् । ‘सिक्लेस घुम्न आउने सबै यहाँ आउनुहुँदैन कतिपय पहिले नै घुमिसकेको हुनुहुन्छ । कतिपयले म्युजियम नहेर्ने तर, ड्रेस मात्रै लगाउने भनेर पनि आउनेहुन्छ । विद्यार्थीहरु सबै पस्ने गरेका छन्’ उनले थपिन्, ‘नयाँ पुस्ताले पुरानो सामान नदेखेको र पहिला प्रयोग हुँदै विस्तारै विस्तापित भएका सामानहरु राखिएको छ ।’
संग्राहलय प्रवेशमा नेपाली पर्यटकलाई ५० रुपैयाँ विद्यार्थीलाई ३० रुपैयाँ र बाहय पर्यटकका लागि एक सय ५० रुपैयाँ रहेको छ । संग्रहालय बाहिर गुरुङ ड्रेस लगाएको एक सय ५० रुपैयाँ लिने गरिन्छ । गुरुङले संग्राहलयमा घुम्न आउने पर्यटकहरुले सडकको बारेमा दुखेसो पोख्ने गरेको समेत सुनाइ । उनले आफुले अवलोकन गर्न आउने पर्यटक संग सुझाव माग्दा सडक अफ्टेरो रहेको सुनाइन् । ‘यहाँ आउनेहरुलाई प्राय मैले म्युजियमको बारेमा सल्लाह सुझाव दिनुस न भन्दा बाटोको मात्रै कुरा गर्छन् । उहाँहरुले म्युजियम एकदमै राम्रो छ राम्रो गर्दै जानुस भन्नुहुन्छ तर, बाटोको एकदमै समस्या भयो भन्छन्’ उनले भनिन् । संग्राहलयमा गुरुङ संस्कृतिको जन्म देखी मृत्यु सम्मको सबै वस्तुको अवलोकन गर्न सकिन्छ ।
पोखराबाट घुम्न पुगेका विजय सरोमियाँले संग्राहलय निकै राम्रो लागेको बताए । उनले बाहिरबाट घर (संग्राहलय भवन) जति सुन्दर भित्रबाट पनि त्यतिनै सुन्दर रहेको बताए । ‘गाउँ निकै राम्रो लाग्यो पहिलो चोटी यहाँ आए गाउँहरुपनि राम्रो छ, एकदम मज्जाको रहेछ यो भित्र हेर्दा झनै रमाइलो लाग्यो’ उनले भने । चार सय घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेस ढुंगाले छाएको तथा ढुंगा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्ने गाउँमा गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगितासमेत हुने गरेका छन् । परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ ।





