पोखरा/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेत नेतृत्वको एक समुहले आफुहरुमाथि सांघातिक आक्रमण गरेको पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्षसहित जनप्रतिनिधिले जनाएका छन् । यस विषयमा डाँडाको नाक प्रहरी चौकी र जिल्ला प्रहरीमा जाहेरी दिए पनि दर्ता नभएको वडाध्यक्षसहित ४ जना जनप्रतिनिधिले आइतबार विज्ञप्तिमार्फत जनाएका छन् । साथै जिल्ला पार्टी नेतृतव गुहार्दासमेत जाहेरी दर्तामा अवरोध गरेको भन्दै उनीहरुले आफ्नै पार्टीबाट पीडित हुनुपरेको भन्दै खेद प्रकट समेत गरेका छन । उनीहरुले पार्टी नेतृत्व गम्भिर बन्नु पर्ने भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई सजायको जोडदार मागसेमत गरेका छन ।
वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा सदस्यहरु शोभा बिक, तिर्थबहादुर सुयल र रविराज तिवारीले संयुक्त रुपमा आज विज्ञप्तिी जारी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति, गण्डकी प्रदेश सभापति, कास्की जिल्ला सभापति, पोखरा महानगरपालिका सभापति, प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापति, प्रदेश सभा क्षेत्र नम्बर (क) सभापति र वडा नम्बर ३२ ईकाइ सभापतिलाई बोधार्थ दिइएको छ ।
यही माघ ३ गते शुक्रबारका दिन एक बजेको समयमा वडा कार्यालयमा सेवाग्राहीको रुपमा पोखरा–१६ बस्ने मदन बस्नेतको नेतृत्वमा एक समूह पुगेको थियो । उक्त समुह वडा अध्यक्षको कार्यकक्षमा प्रवेश गरी निलो मसी छ्याप्ने, जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गर्ने कार्य गरेको विज्ञप्तिमा छ । उक्त कार्यप्रति अन्यायमा परेको भन्दै हामी जनप्रतिनिधिहरु प्रहरी प्रशासन गुहार्दै न्यायका लागि सोही दिन डाँडाकोनाक प्रहरी चौकीमा जाँदा जाहेरी दर्ता हुन नसकेको र भोलिपल्ट जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाँदा समेत जाहेरी दर्ता नहुँदा अत्यन्त मर्माहत भएको विज्ञप्तिमा छ । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उक्त जाहेरी आइतबार दर्ता भएको बताए । वडाध्यक्ष कार्कीका अनुसार बस्नेतले मसी छर्कदै आफुहरुमाथि आक्रमणको प्रयास गरेका थिए । ‘अन्य सेवाग्राहीले रोकेकाले हामीलाई चोट लागेन’ उनले भने, ‘सुस्मा थापा नाम गरेकी महिलाले बोकेको मसी बस्नेतले छर्केका हुन् ।’
कास्कीको रुपाकोट माइती भएकी रुक्मिणी थापाको भारतीय नागरिक सरबल रायसंग बिहे भएको थियो । उनीहरुका छोरा रवि र छोरी रमा रहेका छन् । रवि र रमालाई नेपाली नागरिकता दिनुपर्ने भन्दै बस्नेतले आफुहरुमाथि आक्रमण प्रयास गरेको वडाध्यक्ष कार्कीले बताए । रवि र रमाको जन्मदर्तामा बाबुको र हजुरबाको नाम छ तर आमाको नाम भने नरहेको उनको भनाई छ । ‘व्यवहारिक रुपमा हेर्दा आमा र छोराछोरी हुन । तर कागजातमा आमा खुल्दैन । बाबु यहाँ छैनन्’ कार्कीले भने, ‘आमाको नामबाट नागरिकता दिनुपर्ने भन्दै आफुहरुमाथि आक्रमण भएको हो । तर डकुमेन्टले आमा नचिनेपछि कसरी नागरिकताको सिफारिश दिने ।’ यस विषयमा जिल्ला प्रशाशन कार्यालय कास्कीसंग सुझाव मागे पनि नपाइएको उनको गुनासो छ । पोखरा– ३३ मा बस्दै आएकी रुक्मिणीले २०७६ मा पोखरा–३२ मा जग्गा किनेर बसाई समेत सरेकी थिइन । तर उनी आफ्नो वडामा नबसेको र छोराछोरी पनि नआएको कार्कीले बताए ।
विज्ञप्तिमा स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधाप्रति संवेदनशील भई नेपालको संविधान, ऐन, कानुन नीति, नियम अनुसार कार्य संचालन गर्दै आएको जनाइएको छ । कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सार्वजनिक संस्थामा आई सार्वजनिक व्यक्तिमाथि गरिएको गैरकानुनी हर्कत एवम् बलको दुरुपयोग गरी व्यक्तिगत, संस्थागत र सामाजिक मानमर्यादा हनन् हुने गरी गरिएको निकृष्ट व्यवहारको खेद प्रकट गरिएको छ । नेपाली कांग्रेसबाट जनप्रतिनिधिका उम्मेदवार भई निर्वाचितसमेत भएर आफुहरु ४ जनाले वडाबासीलाई सहज सुलभ, नीति, विधि र कानुनले निर्दिष्ट गरे वमोजिम निस्कलंक रही कार्य सम्पादन गर्दै आएको व्यहोरा सबैमा अवगत गराउन चाहन्छौ भन्ने विज्ञप्तिमा छ ।
संयुक्त प्रेस विज्ञप्ति :
मिति २०८१।१०।०६ आइतबार
हामी जनप्रतिनिधि नेपालको संबिधान २०७२ अनुसार जनताद्वारा निर्वाचित भई जनताको मौलिक हक, मानब अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक अधिकारप्रति पूर्ण प्रतिबद्ध छौ । वडा अध्यक्ष, वडा प्रतिनिधि, पोखरा महानगरपालिका सदैव नेपालको संबिधान, ऐन कानुनको परिपालना, कार्यन्वयन, वडावासीहरुको शान्ती सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्दछौं । स्थानीय शासन संचालन ऐन, २०७४ अनुसार नागरिकको लागि स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा प्रति संवेदनशील भई नेपालको संविधान, ऐन, कानुन नीति, नियम अनुसार कार्य संचालन गर्दै आएको सर्व विधितै छ । कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सार्वजनिक संस्थामा आई सार्वजनिक व्यक्तिमाथि गरिएको गैरकानुनी हर्कत एवम् बलको दुरुपयोग गरी व्यक्तिगत, संस्थागत र सामाजिक मान मर्यादा हनन हुने गरी गरिएको निकृष्ट व्यवहारको खेद प्रकट गर्दछौ ।
सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस भन्ने मूल भावका साथ स्थापित यस गौरवशाली पार्टी नेपाली कांग्रेसबाट जनप्रतिनिधिका उम्मेदवारका रुपमा यस पोखरा महानगरपालिका वडा नं ३२ मा वडा अध्यक्ष र सदस्यका लागि टिकट पाई मिति २०७९ वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचनमा निर्वाचित भई हामि चार जना जनप्रतिनिधिले आफ्नो वडावासिहरुलाई सहज सुलभ, नीति विधि र कानुनले निर्दिष्ट गरे वमोजिम निस्कलंक रही कार्य सम्पादन गर्दै आएको व्यहोरा सबैमा अवगत गराउन चाहन्छौ ।
मिति २०८१ माघ ३ गतेका दिन दिनको १ बजेको समयमा पो। म। न। पा। वडा नं ३२ को वडा कार्यालयमा सेवाग्राहीको रुपमा पो। म। न। पा। वडा नं। १६ बस्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेतको नेतृत्वमा एक समूह वडा अध्यक्षको कार्यकक्षमा प्रवेश गरी निलो मसी छ्याप्ने, जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने कार्य गरेको र सो कार्य प्रति अन्यायमा परी हामी जनप्रतिनिधिहरु प्रहरी प्रशासन गुहार्दै न्यायका लागि मिति २०८१।१०।०३ मा जाहेरी लिएर डाँडाकोनाक प्रहरी चौकीमा जाँदा जाहेरी दर्ता हुन नसकेको र भोलिपल्ट जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाँदा समेत जाहेरी दर्ता नहुँदा अत्यन्त मर्माहत भई नेपाली कांग्रेस कास्की को नेतृत्व समेत गुहार्दा पनि पाटी पंक्तिको नेतृत्वले समेत मुद्दा दर्तामा अवरोध पुर्याएको अनुभूति गर्दा नेपाली कांग्रेसमा आबद्ध रहेका हामी जनप्रतिनिधिहरु नेपाली कांग्रेसबाटै पिडित हुनुपर्ने बिडम्बना प्रति गहिरो खेद प्रकट गर्दै पाटी नेतृत्व प्रति गम्बिर ध्यानाकर्षण गराउदै यस घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा सजायको जोडदार माग गर्दछौं ।
शोभा वि क तिर्थ ब सुयल रविराज तिवारी अक्कल बहादुर कार्की
वडा सदस्य वडा सदस्य वडा सदस्य वडा अध्यक्ष
पोखरा महानगरपालिका वडा नम्बर ३२, कास्की
बोधार्थ
१। नेपाली कांग्रेस, वडा नं ३२ इकाई सभापति
२। नेपाली कांग्रेस, क्षेत्र नं १ (क) सभापति
३। नेपाली कांग्रेस, क्षेत्र नं १ सभापति
४। नेपाली कांग्रेस, पोखरा महानगरपालिका सभापति
५। नेपाली कांग्रेस, जिल्ला सभापति
६। नेपाली कांग्रेस, गण्डकी प्रदेश सभापति
७। नेपाली कांग्रेस, केन्दीय सभापति





