बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदनले दिएकाे सुझाव कार्यान्वयन भएन

स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदनले दिएकाे सुझाव कार्यान्वयन भएन


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार

पोखरा/  गत साउन १४ गते पोखरा–२१ रामदीमा बिरौटास्थित एल.पी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आइरहेको स्कुल बस दुर्घटनामा पर्यो । दुर्घटनामा पोखरा– २१ कृष्तिकी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षका छोरा प्रिन्सको मृत्यु भयो । आरती सोही विद्यालयको कार्यालय सहयोगी थिइन् । अन्य २८ जना घाइते भए ।

घटना भएकै दिन पोखरा महानगरपालिकाले महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्यो । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी, सदस्यहरुमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे थिए । उक्त बिद्यालय बस दुर्घटना सम्बन्धमा यथार्थ बिवरणसहित घटनाको छानविन गरी स्कुल बस संचालन सम्बन्धी सुझावसहित विवरण पेश गर्न समितिलाई महानगरको आदेश थियो । एक हप्ताको म्याद समितिलाई दिइएको थियो । समितिले एक सातामै अर्थात साउन २१ गते नै घटनाको छानविन गरी विद्यालय बस संचालन सम्बन्धी विभिन्न सुझावसहितको प्रतिवेदन दियो । त्यसको भोलिपल्टै पोखरा महानगरले उक्त सुझाव कार्यान्वयनका लागि शैक्षिक प्रशासन महाशाखामा प्रतिवेदन पठायो ।

तर उक्त प्रतिवेदनले दिएको सुझाव भने अहिलेसम्म सार्वजनिक भएको छैन । नत कार्यान्वनमै आएको छ । महानगर र शिक्षा महाशाखाले प्रतिवेदनले दिएका सुझावलाई कार्यान्वयनमा लगेको दावी गर्छन । तर सम्बन्धित कार्यालय स्रोतले भने उक्त प्रतिवेदन त्यत्तिकै थन्किएको र कुनै कार्यान्वयनमा नगएको बताउँछन ।  घटनास्थलको स्थलगत अध्ययन, प्रत्यक्षदर्शी, घाइते विद्यार्थी, चालक अभिभावक र चिकित्सकसमेतबाट सोधपुछ गरी राय सुझावसहितको प्रतिवेदन बनाइएको आचार्य बताउँछन् । प्रतिवेदनले उक्त स्कुल बसको अवस्था, दुर्घटनाको कारण, विद्यालयलाई सुझाव र स्कुल बस दुर्घटना न्यूनिकरणका लागि विद्यालय तथा सम्बद्ध निकाय, अभिभावक, विद्यार्थी समेतलाई १७ बुँदे सुझाव पनि दिएको थियो ।

घटना प्रकृति 

विद्यालयको ग१क ६२१९ नम्बरको बस बिद्यार्थी लाने र ल्याउने प्रयोजनार्थ प्रयोग हुदै आएको र ५६ वर्षीय टेकबहादुर भुजेलले २०५९ देखि करारमा उक्त गाडी चलाउँदै आएका थिए । विद्यालयबाट विहान सवा ८ बजे छुट्ने र पोखरा–२१ रामदी पुगेर एकहाते, डुङखु, फुर्सेखोला, वेलघारी हुदै विद्यालयमा विहान सवा ९ बजे आइपुग्थ्यो । घटना भएको दिन विद्यालय सहयोगी, एकजना अभिभावक, छोरेपाटन माविमा पढ्ने ५ जना विद्यार्थी बोकेर ल्याएको बसमा चालकसहित ३० जना थिए । बिहान ८.५० बजे बस अनियन्त्रीत भई सडक छेउको बिजुलीको पोलमा ठोक्किई सडकबाट तल चिलाउनेको रुखमा समेत ठोकिन पुगेको प्रतिवेदनमा छ । साथै सडकबाट करिब ४० मिटर तलको सडकमा बसको अघिल्लो भाग बजारिन पुगेको थियो । स्थानीय कृष्ण देवकोटा, अंकीता देवकोटा र सिन्धुराज पौडेलले थाहा पाएर तत्काल घटनास्थलमा पुगेका थिए । झन्डै ३० देखि ३५ मिनेटभित्रमा घाईतेको उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुराइएको थियो । दुर्घटनापछि बसमा ठूलो क्षति पुगेको, विद्यालयले घाइते विद्यार्थी, अभिभावकको उपचारको प्रवन्ध मिलाएको, उपचारका क्रममा शिक्षक खटाएको र आर्थिक व्यवस्थापन पनि विद्यालयबाट भएको प्रतिवेदनमा छ ।

दुर्घटनाको कारण
बस डुङखु घुम्ती दुर्घटनास्थलबाट करीव ३० मिटर अगाडि देखिनै ब्रेक फेल भएको र अनियन्त्रित भइ सडकबाट खसेको चालकको भनाईलाई प्रतिवेदनमा उद्धृत गरिएको छ । उक्त बस स्कुल बस निर्देशिका २०७४ बमोजिम प्रत्येक ६/६ महिनामा सवारी जाँचपास गर्नुपर्नेमा नगरेको पाइएको प्रतिवेदनमा छ ।

प्रतिवेदनले विद्यालयलाई दिएका सुझाव 

क) समयमा नै सवारी साधन जाँचपास गर्नुपर्ने र सोको अभिलेख राख्नु पर्ने । सवारी साधन समय समयमा मर्मत गरी ब्रेक तथा स्टेरिङ परीक्षणपछि बस संचालन गर्ने । शाखा सडकमा अत्यन्तै न्यून गतिमा सवारी संचालन गर्नुपर्ने । स्कुल बस निर्देशिका २०७४ पूर्णरुपमा पालना गर्न शिक्षा महाशाखा तथा सम्बन्धित निकायबाट निर्देशन गर्नुपर्ने ।
ख) सम्बन्धित निकायबाट नियमित रुपमा सवारी जाँचपास नगराई बस संचालन गरेकोमा विद्यालयलाई सचेत गराई सम्बन्धित निकायबाट नियमानुसारको कानूनी व्यवस्था गर्न सिफारिश गर्नुपर्ने ।
ग) पोखरा महानगरपालिकाले निर्देशन गरे बमोजिम बिद्यालय संचालन हुनुभन्दा १ घन्टा ३० मिनेट अगाडी मात्र बस चलाउन सुरु गर्ने ।
घ) आफ्नो विद्यालय बाहेक अन्य विद्यालयका विद्यार्थीलाई बस नचढाउने ।

प्रतिवेदनले स्कुल बस दुर्घटना न्यूनिकरणका लागि विद्यालय तथा सम्बद्ध निकाय, अभिभावक, विद्यार्थी समेतलाई १७ बुँदे सुझाव पनि उल्लेख गरेको छ । ती सुझावहरु यस्ता रहेका छन् ।
क) ट्राफिक नियम तथा सडक सुरक्षाप्रति सजग, सचेत भई सवारी साधन संचालन गर्नुपर्ने
ख) विद्यालय बस चलाईरहेको समयमा चालकले मोबाइल फोनमा कुरा गर्न नहुने । विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्त सावधानी अपनाउने ।
ग) सवारी साधनको ब्रेक, स्टेरिङ, टायर पूर्ण रुपमा समय समयमा मर्मत गर्ने तथा बस मर्मतमा गुणस्तरीय पाटपूर्जाको मात्र प्रयोग गर्ने साथै पार्किङ
घ) कच्ची, धुलो सडक, घुम्ती मोड, ओरालो बाटोमा अति कम गतिमा संचालन गर्ने ।
ङ) सवारी चालक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय कर्मचारीलाई ६÷६ महिनामा ट्राफिक सचेतना कार्यक्रम, तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने ।
च) सवारी साधनको जाँचपास प्रत्येक ६÷६ महिनामा गरी सोको जानकारी विद्यालय तथा मन्टेश्वरी शिक्षा महाशाखामा पेश गर्ने ।
छ) ग्रामीण सडक ओराले घुम्ती बाटोको छेउमा बलियो छेकबारको व्यवस्थाका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने ।
ज) विद्यालयले अनिवार्य आवस्यकताका आधारमा मात्र बस संचालन गर्ने
झ) विद्यालयमा अध्यापन सुरु हुनुभन्दा १ घन्टा ३० मिनेट अगाडिमात्र स्कुल बस संचालन गर्ने ।
ञ) विद्यालयका अभिभावकले बस संचालन सम्बनधमा जानकारी गराएका गुनासा तथा सुझावलाई विद्यालय व्यवस्थापन समितिबाट छलफल गराई व्यवस्थित सुरक्षित र संयमित रुपमा बस संचालन गर्ने ।
ट) बिद्यालयले चालक नियुक्ती गर्दा अनुभवी, योग्य तथा सक्षम व्यक्ति छनौट गर्ने ।
ठ) विद्यालयले पुराना र जीर्ण भएका जाँचपासमा फेल भएका सवारी साधन प्रयोग नगर्ने ।
ड) सवारीसाधन प्रत्येक पटक मर्मत सर्भिसिङ गराएको अभिलेख मर्मत केन्द्र तथा विद्यालयमा राख्ने र राख्न लगाउने ।
ढ) नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात विभागबाट जारी स्कुल बस निर्देशीका २०७४ को सरोकारवाला सबैले पूर्णरुपमा पालना गर्ने ।
ण) विद्यालय बसमा जिपीयस ट्रयाकिङ सिस्टम राख्ने कानूनी प्रवन्ध गर्ने ।
त) विद्यालयका असल चालकलाई सम्मान तथा प्रोत्साहित गर्नुपर्ने ।
थ) सामुदायिक विद्यालयले आफ्नो विद्यालयका विद्यार्थी कुन साधन तथा कसरी विद्यालय आउने गरेका छन सोको अभिलेख विद्यालयमा राख्नुपर्ने ।

समितिले प्रतिवेदन बुझाए पनि यसको कार्यान्वयनमा भने सम्बन्धित निकायले खासै चासो राखेका छैनन् । घटना हुनसाथ चर्को बिरोध हुने भएकाले सोही अनुसार समिति गठन गरेर छानविन गरी प्रतिवेदन बनाइको तर सर्वसाधारणको आवाज मत्थर हुँदै गएपछि प्रतिवेदन कार्यान्वयन नगर्ने चलनै बनिसकेको छ । त्यसैको निरन्तरतामा यो स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदन पनि परेको छ ।  पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले प्रतिवेदनबारे खासै थाहा नभएको बताए । कार्यान्वयन गर्ने निकाय म होइन, म भन्दा माथिको निकायले गवठन गरेको समिति भएकाले मेयर साव र हाकिसावसंग सोध्नु भन्दै उनले फोन राखे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवेदन कार्यान्वयन भएको दावी गरे । ‘प्रतिवेदन प्राप्त हुनसाथ सरोकारवाला निकायलाई संगै राखेर यसबारे जानकारी गराएका हौ’, उनले भने, ‘प्रतिवेदन सार्वजनिक गरेर कसैले केही पाउने होइन, हामीले सम्बन्धित पक्षलाई भनिसकेका छौ । यो कार्यान्वयन भइरहेको छ ।’ उनले यस विषयमा सम्झाइदिएको भन्दै पछिल्लो समय के भइरहेको छ भन्ने कुरा बुझ्ने बताए । स्कुल बस हेर्ने जिम्मा कास्की ट्राफिक कार्यालयलयलाई दिएको बताए ।

समितिका संयोजक एवं महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयन सुरु भएको बताए । ‘बेलाबेलामा हामीले हेरेका छौ’ उनले भने, ‘जवाफदेही हामी पनि बन्नुपर्यो नी ।’ आचार्यद्वयले प्रतिवेदन कार्यान्वयन गरेको भने पनि  काम भने नभएको शिक्षा महाशाखाका एक कर्मचारी बताउँछन । ‘जवाफदेही पक्षले कार्यान्वयन भइरहेको छ भन्छन्नी’ उनले भने, ‘तर प्रतिवेदन कार्यान्वयन भएको छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->