पोखरा/नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
बहुमत हुँदाहुँदै पनि एकाएक मेयरले सभा स्थगित गरेको जिकिर गर्दै कांग्रेसी जनप्रतिनिधिहरुले तालाबन्दीको निर्णय गरेका हुन् । नगरसभा स्थगित हुनुमा चाहिँ एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको बहिस्कार नै प्रमुख कारक हो ।
यसो हुनुमा चाहिँ लामो कथा छ ।
गएको कात्तिकको अन्त्यमा एमालेबाट निर्वाचित ८७ जना जनप्रतिनिधिहरुले विशेष नगरसभा बोलाउन माग गरेका थिए ।एमालेका जनप्रतिनिधिहरुले करारमा रहेका प्राविधिकतर्फका कर्मचारी हटाउन नहुने अडानमा थिए । संघदेखि प्रदेशसम्म सत्ता साझेदारी गरेको कांग्रेस भने त्यो निर्णयको विपक्षमा थियो । सोही माग बमोजिम मेयर धनराज आचार्यले मंसिर २० गतेको लागि विशेष नगरसभा आह्वान गरेका थिए भने त्यसपछि कांग्रेस र एमालेको संयुक्त बैठकले करारका कर्मचारी हटाउने सहमति जुटायो । पुस मसान्तसम्मको तलब र भत्ता दिएर कर्मचारीलाई बिदा गर्ने, पोखरा महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने विषय अध्ययन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं नेतृत्वमा समिति गठन भयो । सो समितिले तयार पारेको प्रतिवेदन अनुसार १ हजार १३ कर्मचारी आवश्यक भएको सुझावलाई मंसिरको अन्त्यमा बसेको सोही नगरसभाले पारित ग¥यो ।
विशेष नगरसभा सकिएपछि महानगरले वार्षिक कार्यतालिका अनुसार १६ औं नगरसभा आह्वान ग¥यो । तर, १६ औं नगरसभामा यसअघिको विशेष नगरसभाले पारित गरेका ९ वटा निर्णयहरु कार्यान्वयनबारेको विवरण नदिइएको भन्दै एमालेका जनप्रनिधिहरुले सोमबारको नगरसभा बहिष्कार गरे ।
‘यो बहिष्कार नै त हैन तर विशेष नगरसभाबाट ९ वटा निर्णय भएका छन्, ती सबै पालना हुनुपर्छ भन्ने हो, वैदेशिक भ्रमण,कर्मचारी व्यवस्थापनका लागि निर्देशिका र कार्यविधि ल्याउने निर्णय भयो तर ल्याइएन,’एमालेको तर्फबाट पोखरा महानगरमा दलकी नेता तथा वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीले भनिन्,‘ रकमान्तर पनि २५ प्रतिशतभन्दा बढी गर्न हुँदैन भन्ने थियो । तर,कति रकमान्तर हुँदैछ भन्ने जानकारी आएन । अहिलेसम्म बेरुजू बढ्यो भन्ने तर किन बढ्यो, शैद्धान्तिक बेरुजू के हो भन्ने थाहा पाउनुप¥यो भन्ने हाम्रो माग हो ।’
उनका अनुसार त्यही माग राखेर एमालेले सोमबार २ बजेको लागि आह्वान गरिएको बैठक बहिष्कार गरेको थियो ।
कांग्रेसका जनप्रतिनिधिहरुले भने एमालेको यो निर्णय करारका कर्मचारीको थमौति गर्ने नियतले आएको ठाने । कांग्रेसको तर्फबाट वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीका अनुसार एमालेका जनप्रतिनिधिहरु अहिले पनि करारका कर्मचारी तत्काल हटाउन नहुने अडानमा छन् । पटक–पटक स्थगित हुँदै आएको बैठक सोमबारको लागि बोलाइएको र सोमबार बहुमत हुँदाहुँदै पनि एकाएक मेयरले नगरसभा स्थगित गरेपछि सांकेतिक रुपमा मेयर, उपमेयर र प्रमु्ख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको उनले जिकिर गरे ।
करारलाई व्यवस्थापन गर्दा करार नै राखेर करार नै राख्न र अन्यत्रबाट आएका कर्मचारीमध्ये कसैलाई राख्ने,कसैलाई नराख्ने भन्न मिल्दैन । काजमा दरबन्दी नभएकाहरुलाई पनि समान व्यवहार गर्नुप¥यो भन्ने माग गरेको हो ।
‘मेयरसाबले नगरसभा बोलाएर फेरि १० गतेलाई स्थगित गर्नुभयो, रकमान्तरको समय छ, नगरसभा पछाडि धकेल्नु भनेको विकासलाई पछि धकेल्ने हो,’उनले भने,‘त्यही भएर हामीले सांकेतिक रुपले बिरोध जनाएका हौँ ।
उनका अनुसार एमालेले बहिष्कार गरेपछि आज बोलाइएको सभा सुरुमा ४ः१५ सम्मको लागि स्थगित गरिएको थियो । ४ः१५ मा सभा अगाडि बढाउँदै गर्दा मेयरले एक्कासी सभा रोकेका थिए । नगरसभा १० गतेसम्मको लागि स्थगित भएको छ । नगरसभामा आज ३ वटा विधेयक पेश गर्ने कार्यतालिका रहेको छ ।
नगरसभा पटक–पटक स्थगित हुनु र सिंगो महानगरलाई अनिर्णयको बन्दी बनाउनुमा चाहिँ मेयर धनराज आचार्यकै दोष रहेको कांग्रेस दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गको जिकिर छ ।
‘कि मेयरले यो कारणले नगरसभा रोकेँ भन्नु्प¥यो, सहमतिको पहल गर्नुप¥यो,’उनले भने,‘ हामी (कांग्रेस–एमाले) बीच फाटो ल्याउन खोज्ने तर निकास ननिकाल्ने भएपछि हामीले विरोध गरेका हौँ ।’





