बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार

पोखरा/  पोखरा महानगरपालिका–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ ।  सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सांसद भीम कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे । प्रविधियुक्त शिक्षा दिनु आजको आवश्यकता भएकाले राष्ट्रिय शिक्षा नीतिमै त्यसको व्यवस्थापन हुनुपर्नेमा उनको जोड थियो । ‘२०२८ को शिक्षा ऐनले आजको शिक्षालाई अघि बढाउन सक्दैन’, कार्कीले भने, ‘आज निजी तथा सामुदायिक विद्यालयलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट हुने तरिकाले शिक्षा ऐन आउनुपर्छ ।’  प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कार्कीको विचार थियो । उनले विश्वमा प्रतिस्पर्धा गर्ने शिक्षाको कुरा गरिरहँदा नैतिक र सामाजिक शिक्षा भुल्न नहुने बताए । आफ्नो देशको माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आजको चुनौती भएको भन्दै कार्कीले नेपाली संस्कार र संस्कृतिप्रति प्रेम जगाउनुपर्ने धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले क्रमशः प्रविधिमैत्री सिकाइलाई अघि बढाइएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पाठ्यपुस्तकको पढाइ मात्र नभई विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गरिने योजना सुनाए । वडा सदस्य विनोद भण्डारी, तिक्लाङ टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर खत्री, शिक्षक अभिभावक सङ्घका सदस्य लोकनाथ पौडेल, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष यदुराज आचार्य, सचिव दधिराम पौडेल, निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी मोहन प्रधान, टुकराज भण्डारीलगायतले शुभकामना दिएका थिए ।  कार्यक्रममा शैक्षिक तथा खेलकुदका क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयद्वारा स्थापित अक्षयकोषका लागि फूलमाया श्रेष्ठ र हरिकुमार श्रेष्ठले २५ हजार ५५५ रुपियाँ, देवेन्द्र गुरुङले १० हजार रुपियाँ, होमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले २५ हजार रुपियाँ र सन्तोष भुजेलले १० हजार रुपियाँ प्रदान गरेका थिए । उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले सम्मान गरे ।सहायक प्रधानाध्यापक बालकुमारी थापाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी कृतिका केसीले स्वागत गरेकी थिइन् । सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । विद्यालयमा हाल कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->