बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछाने पुगे भैरहवा, भोली अदालतमा उपस्थित हुने

रवि लामिछाने पुगे भैरहवा, भोली अदालतमा उपस्थित हुने


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार
अदालतमा उपस्थित हुन भैरहवा पुगेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने । तस्बिरः ढोरपाटन

भैरहवा / बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मंगलबार रुपन्देही आइपुगेका छन्।

रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा आएका लामिछाने बुधबार अदालतमा उपस्थित हुने तय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेता एवं लामिछाने पक्षका कानुन व्यवसायी भने केही दिन अगाडि नै रुपन्देही आइपुगेका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने बुधबार अदालतमा आफैं उपस्थित हुने तयारीमा रहेको नेता बोहोराले बताए ।

अदालतमा पेस गरिएको अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ सामूहिक बिगो माग दाबी गरिएको छ । त्यस्तै लामिछानेमाथि व्यक्तिगत दुई करोड पनि बिगो दाबी गरिएको छ । सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र आठ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले बताए।

यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपियाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने स्वयं गृहमन्त्री थिए। गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको बताए । तर उनीहरु अदालतमा उपस्थित हुनेबारे केही जानकारी नभएको मरासिनीले बताए ।

सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए। उनका अनुसार यो नयाँ मुद्दा हो ।

सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानमा देखाइएको छ। लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपाने भैरहवा आइपुगेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->