पोखरा / पोखरा महानगरका वरिष्ठ कृषि बिकास अधिकृत मनहर कडरियासहित ५ कर्मचारी इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा परेका उनीहरुलाई मंगलबार सम्मान गरिएको हो ।
यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएकोमा विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको हो । सम्मानित हुने अन्यमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीराकुमारी यादव छन् ।
आइकनमा परेकालाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो । निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिवद्वय पुण्यप्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा सुचेता प्याकुरेल र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल थिए । झन्डै एक वर्ष लगाएर निर्णायक समितिले उनीहरुलाई छनौट गरेको हो ।





