बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले राज्य व्यवस्थाको चरित्र अनुसार शैक्षिक नीति बन्न नसकेको बताएका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाठकले यस्तो बताएका हुन् ।
‘०६२/६३ को ऐतिहासिक जनआन्दोलन भयो, यसबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यही व्यवस्थाको जगमा २०७२ सालमा नयाँ संविधान जारी भयो’, उनले भने, ‘हाम्रो संविधानमा समाजवाद उन्मुख व्यवस्था भनेका छौ । सोही भावना र मर्मअनुसार शैक्षिक, आर्थिक, स्वास्थ्य लगायतका नीति पनि समाजवाद उन्मुख हुनुपर्ने हो तर, व्यवस्थाको चरित्र अनुसार मिल्ने गरी शैक्षिक लगायतका नीति निर्माण गर्नै सकेनौ ।’
समाज बदल्ने उद्घोष गरेकाहरु अनेकन बेथितिमा फसेको उनले भनाई थियो । विकास गाउँ आउने र गाउँका मानिस शहर झर्ने समस्या व्याप्त भएकाले त्यसको असर विद्यालयमा पनि देखिएकाले बसाइँ सराइ रोक्न पनि गाउँ गाउँमा गुणस्तरीय शिक्षा अपरिहार्य भएको उनले बताए । आजको समय गतिशील र डिजिटलमय भएकाले विद्यार्थीको शिक्षादिक्षा, खानपान, वृत्ति विकासमा विशेष ध्यान दिनुपर्नेमा पाठकको जोड थियो ।
‘आज पनि सामुदायिक विद्यालयहरु निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । निजी धनीहरुले पढ्ने र मध्यम वर्ग, गरिब विपन्नले मात्र सामुदायिक विद्यालय पढ्ने पढाउने भन्ने भाष्य समाजमा स्थापित छ,’ मन्त्रीले पाठकले थपे, ‘यसमा राज्यको एकल प्रयासले मात्र हुँदैन, सामुदायिक विद्यालय स्वंयम्ले मेहेनत गर्न आवश्यक छ ।’ सामुदायिक विद्यालयले पनि निजीको तुलनामा उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएको प्रशंसा गर्दै पाठकले बागलुङ जिल्लाभित्रै गणेश मावि लगायत नमुना सामुदायिक विद्यालय रहेको स्मरण गराए । यसका लागि दृढ शिक्षक, असल अभिभावक, सुविधा सम्पन्न भौतिक पूर्वाधार, मेहेनेती विद्यार्थी र शिक्षामैत्री वातावरण आवश्यक भएको उनको भनाई थियो ।
राजनीतिमा प्रतिस्पर्धा र विकासमा सहमति र सहभागिताको नीतिले मात्र समाज र देशले फड्को मार्ने उनले बताए । आफुले प्रदेश मन्त्रालय सम्हालेको १ सय ४० दिन बढी भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा केही सुधारका काम गरेको उनले बताए । ‘दुरदराजका नागरिकलाई केन्द्रित गरेर बुर्तिबाङ अस्पताललाई ५० शैयाको बनाइएको र सर्ने नसर्ने रोगको गाउँ गाउँमा स्क्रिनिङ अभियान सञ्चालन गरिएको मन्त्री पाठकले चर्चा गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा पूर्व विद्यार्थी खिमबहादुर विक, काठेखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष कुलबहादुर विक, ४ का अध्यक्ष तथा पूर्व विद्यार्थी लक्ष्मण पुन, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा कथालिकाका सम्पादक दिल शिरीष, इस्कोनका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदास, संस्थापकका तर्फबाट कमल राना, चन्दादाताका तर्फबाट जनप्रिय प्राविका प्रअ गोपाल श्रीस लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्मी माविका प्रधानाध्यापक गोविन्द भण्डारीले विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र मर्यादित बनाउन देउसी भैलो सञ्चालन गरिएको र त्यसबाट ९० लाख रुपैयाँ संकलन भएको जानकारी दिए । सो अवसरमा ४ सय बढी चन्दादाता अभिभावकलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमलाल आलेको अध्यक्षता, शिक्षक पूर्णप्रसाद ढुंगानाको स्वागत मन्तव्य र शिक्षक शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहका अवसरमा ६ पूर्व विद्यार्थीलाई सम्मान गरेको हो । गायन कलाकारिता क्षेत्रमा उदियमान विद्यालयका पूर्व विद्यार्थी प्रकाश सपुत, पत्रकारिता र साहित्य क्षेत्रबाट दिल शिरीष, निजामति कर्मचारी क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विक, आध्यात्मिक क्षेत्रबाट प्रदीप भण्डारी (परमेश्वर अच्युतदास), बाद्यवादन सारंगी संसारका सञ्चालक कमलकुमार विकलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले बताए । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।




