पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहयोगी शैक्षिक साझेदारी विद्दालय आधारभूत तह (कक्षा ६–८) स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आयोजक विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता थियो ।
सोही कार्यक्रम विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो भने शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्रीको निर्णायक मण्डलको भूमिकामा रहेका थिए । कार्यक्रममा बाल प्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय .र अल्फा बोर्डिङ स्कुलले .सान्त्वना स्थान हासिल गर्न सफल भए । सभापति सुरेन्द्रमानसिंह भण्डारीले विद्यार्थीहरुको भाषिक सिप विकास गर्नका साथै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको अहम् भूमिका रहने भएकाले आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए । कार्यक्रमका सभापति एवम् प्रमुख अतिथिबाट विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरियो भने सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।





