बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृष्ण केसीलाई २ घण्टामै प्रदेश समन्वय विभागबाट किन हटायो कांग्रेसले ?

कृष्ण केसीलाई २ घण्टामै प्रदेश समन्वय विभागबाट किन हटायो कांग्रेसले ?


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८१, शनिबार

पोखरा/कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनित भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी हटाइएका छन । बुधबार मात्रै कांग्रेसका भापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थप गरेका थिए । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० जना सदस्य मनोनीत भए ।
कास्कीका कृष्णबहादुर के.सी. नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला (परियार) विभागको सदस्यमा थपिएका थिए ।
तर, केहीबेरमा नै कांग्रेसले परिमार्जित प्रेस विज्ञप्ती सामाजिक सञ्जालमा राख्यो । जहाँ केसीको नाम थिएन । सुरुमा १० जना सदस्य थपिँदा कांग्रेसले केसीको नाम हटाइएको प्रेस विज्ञप्ती मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरे ।
यता केसीका शुभेच्छुकहरुले सामाजिक सञ्जालमा बधाई दिनमै भ्याइनभ्याई थियो । केसीको नाम हटाइएकोबारे अनजान शुभेच्छुकहरुले चाहिँ बिहिबारसम्म बधाई ज्ञापन गर्दै थिए ।
केहीले शुभकामना दिइरहँदा कास्की कांग्रेसका केही कार्यकर्ताचाहिँ दुई घण्टामा नै उनको नाम किन हट्यो भनेर जिज्ञासा गर्दै थिए ।
केसीलाई मात्र हटाउनुको कारण शुभेच्छुक नेता कार्यकर्ताहरुले राख्न थाले । केसीलाई दुई घण्टामा नै सदस्यबाट हटाइनुमा २०७९ को प्रदेश तथा प्रतिनिधीसभा निर्वाचन जोडिन आउँछ ।
त्यतिबेला कास्की १ बाट प्रतिनिधीसभा सदस्यको उमेदवार आकांक्षी थिए, केसी । तर, टिकट चाहिँ वर्तमान सभापति किशोरदत्त बरालले पाए । प्रदेशसभामा दीपक गुरुङ (माइला) कांग्रेसबाट उमेदवार बनेका थिए ।
तत्कालीन कांग्रेस माओवादीसहितको गठबन्धन भएका कारण चुनाव जितिन्छ भन्नेमा कास्की कांग्रेस सभापति किशोरदत्त बराल ढुक्क थिए । उनले अन्य दलहरूलाई पनि यही ब्रिफिङ गरे । तर, कास्की– १ को निर्वाचन मतपरिणामले भने त्यो पुष्टि गरेन ।
एमालेका उमेदवार मनबहादुर गुरुङसँग बराल पराजित भए ।
तर, जसै मतपरिणाम सार्वजनिक भयो, एउटा अडियो पनि बाहिरियो, जहाँ उनै निवर्तमान सभापति केसीको संवाद थियो । अन्तर्घात भएको र आफ्नै उमेदवारलाई हराउनुपर्छ भनेर जिल्लाका पूर्व पदाधिकारी नै लागेको भन्दै कांग्रेसका कार्यकर्ताहरू नाराबाजीमा उत्रिए ।

पोखरा १३ बाँझापाटनमा अन्तर्घात गरेको भन्दै पूर्वसभापति केसीको घरबाहिर नाराबाजी समेत भयो । आफूले टिकट नपाएपछि केसी बराललाई हराउन सक्रिय भएर लागेको आरोप कांग्रेसका कार्यकर्ताहरुले लगाएका थिए ।
उनको विरुद्ध सामाजिक सञ्जालमा पनि आक्रोश देखिएको थियो । केसीले नै त्यतिबेला आफूले बराललाई मत नदिन भनेको कुरा स्विकार गरेका थिए ।
उनले भनेका थिए, “उहाँ उमेदवार मात्रै होइन, समग्र गठबन्धनको नेता पनि हो । तर, मैले के सुनेँ भन्दा उहाँले आफूलाई मात्र भोट माग्ने र त्यसका लागि एमालेसँग पनि मत क्रस गर्ने गरी छलफलमा हुनुहुन्छ । यही कुरा मैले यामजी (मादी गाउँपालिकाका सभापति) लाई बताएको हुँ । यदि यो सत्य हो भने कांग्रेसभित्र पनि गुट छन्, हाम्रो सहयोग किशोरजीलाई हुँदैन भनेर मैले भनेकै हुँ । यो कुरा उहाँले फेसबुकमा लेख्नुभएछ, नलेखेको भए पनि मैले पार्टीको बैठकमा भन्नेथिएँ ।”
उनको यही स्विकारोक्तीलाई कास्की कांग्रेसले हराउन लागेको प्रमाणको रुपमा लियो । पार्टी उमेदवार हराउन लाग्नेहरुको प्रमाणसहित केसीलाई कारवाही गर्न कांग्रेसको अनुशासन समितिमा कास्की कांग्रेसले उजुरी दियो ।
उनै केसीमाथिको उजुरी अहिले पनि विचाराधीन छ ।
उनीमाथि लागेको आरोप निर्णयमा नपुगेकै बेला गत बुधबार उनलाई प्रदेश समन्वय विभागको सदस्यमा मनोनित गरियो । त्यसपछि अनुशासन समितिकै असन्तुष्टिका कारण केसीलाई दुई घण्टाको अन्तरमा नै सदस्यबाट हटाइएको कास्की कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->