आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अब रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु, लखेट्ने क्रममा मरे किसानलाई कानुनी कारवाही नहुने

अब रातो बाँदर र बँदेल कृषि हानिकारक वन्यजन्तु, लखेट्ने क्रममा मरे किसानलाई कानुनी कारवाही नहुने


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार

पोखरा/ संघीय वन मन्त्रालयले रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणासँगै अब किसानले यी वन्यजन्तुलाई लखेट्दा मरेमा कानुनी कारवाहीको भागीदार बन्नु नपर्ने भएको छ । यही माघ १० गतेदेखि लागु हुनेगरी मन्त्रालयले एक वर्षका लागि यी दुवै वन्यजन्तुलाई कृषि हानिकारक घोषणा गरेको हो । मन्त्रालयले २०८० मंसिर ७ मा बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

किसानले लगाएको बालीमा क्षति गरिदिने हुनाले रातो बाँदर र बँदेललाई कृषि हानिकारक घोषणा गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताएका छन । खेतबारीमा आएका बेला लखेट्ने क्रममा बाँदर वा बँदेल मरिहाल्यो भने अब किसानलाई कानुन नलाग्ने उनले स्पष्ट पारे । प्राविधिक टोलीले दिएको प्रतिवेदनमा सहमति जुटाएर रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको वन मन्त्रालयका सचिव दीपककुमार खरालले बताए । यस सम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाअनुसार कृषि हानिकारक वन्यजन्तु घोषित रातो बाँदर र बँदेललाई बिनाअनुमति धपाउन, लखेट्न र पक्रन किसानले पाँच वटा सर्त पालना गर्नुपर्नेछ । पहिलो सर्तअनुसार रातो बाँदर र बँदेलले बालीनाली वा धनजनको हानिनोक्सानी पुर्‍याए किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन सक्छन् । पक्रिएको बाँदर वा बँदेललाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय वा सो कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने दोस्रो सर्त छ । यसको जानकारी सम्बन्धित स्थानीय तहको वडा कार्यालयलाई समेत दिनुपर्नेछ । बाँदर वा बँदेल धपाउने, लेखट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडाका एक प्रतिनिधिसहित कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहवरमा मुचुल्का खडा गरी गाड्नुपर्ने र यसको जानकारी सम्बन्धित कार्यालयहरूमा गराउनुपर्ने सर्त तोकिएको छ ।

चौथो सर्तअनुसार मरेका बाँदर र बँदेलको तथ्यांक सम्बन्धित कार्यालयले प्रत्येक दुई महिनामा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित प्रदेश मन्त्रालय र प्रदेश वन निर्देशनालयमा दिनुपर्नेछ । तर मरेको बँदेलको हकमा तौलका आधारमा पञ्चकीर्ति मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गरेर सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेकमा उपयोग गर्न सकिन्छ । राष्ट्रिय वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा भने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र पक्रन नपाइने पाँचौं सर्त छ । नेपालमा ३ जात र ६ उपजातका बाँदर छन्  यी बाँदर ठूलो हूल बनाएर हिँड्ने र एक पटक बालीमा पसे भने सबै नोक्सान गरिदिन्छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->