बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वन डढेलो नियन्त्रणमा जुट्न फेकोफन कास्कीको आव्हान

वन डढेलो नियन्त्रणमा जुट्न फेकोफन कास्कीको आव्हान


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०८१, सोमबार
पाेखरा/  हिउँदे  वर्षाको कमी, निरन्तर तापक्रमको बृद्धिको कारण यस वर्ष पनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुट्न सवैमा आव्हान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आज सम्पन्न पूर्ण बैठकले डढेलो नियन्त्रणका लागि सम्पूर्ण वन समुह र सरोकारवाला सवैलाई  आआफ्नो स्थानबाट सचेत रहन आग्रह गरेको हो ।
 डढेलो नियन्त्रण सम्वन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयन, सम्वन्धित निकायहरु बिच समन्वय र सहकार्य गरेर अघि बढ्ने बैठकले निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष विश्वनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार दैनिकरुपमा वनमा जाने गोठाला, घाँस दाउराका लागि जाने वन समुह तथा जडिवुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिसहित पैदलयात्रीलाई डढेलोविरुद्ध सचेतीकरण गर्न बैठकले जोड दिएको छ ।
बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन पैदावार उपयोग नीतिको अभावमा वन क्षेत्र वर्षेनी डढेलोको चपेटामा पर्ने गरेको बताए । झाडी, सोत्तर, दाउरा र काठको भण्डार जंगलमा खेरजाने वन पैदावार निकाल्ने सर्वसुलभ नीतिको खाँचो रहेको बताउँदै उनले सामुदायिक वन उद्यम दर्ता हुनु अपरिहार्य रहेको जनाए ।  काठको कम्पोजिट प्लान्ट र पातपतिङ्गरको प्राङगारिक मल बनाउने उद्योग स्थापना गर्ने हो भने वन डढेलो रोकिनुका साथै हरित रोजगार सिर्जना भई आयातित काठ र मल विस्तापित गर्न सकिने उनको विश्वास थियो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले मानव, वन्यजन्तु, वातावरण लगायतको क्षेत्रमा ठूलो असर पर्ने वन डढेलो नियन्त्रणमा जुट्न उपभोक्तालाई अपिल गर्दै आगो लगाउने जो सुकैलाई भएपनि कानूनी दायरामा ल्याउनु पर्नेमा जोड दिए । बैठकमा महासंघ प्रदेश महासचिव आसु विक, सदस्यहरु दिनेश श्रेष्ठ, लक्ष्मी अधिकारी, जितवहादुर वस्नेत, जिल्लाका चुडामणी अधिकारी, पार्वती सुवेदी लगायत कास्की जिल्लाका पाँचवटै स्थानीय महासंघका पदाधिकारी तथा सदस्यहरुले वन डढेलो विरुद्धमा संगठित भएर जुट्ने बैठकको सामुहिक प्रतिवद्धता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघको टोलीले आजै डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काप्mलेसंग भेटघाट गरि वन डढेलो नियन्त्रणमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । पोखरा महानगरको तीन स्थान र चारवटा गाउँपालिकामा एक एक गरि सात स्थानमा सामुदायिक वनका उपभोक्ताको भेला गरि डढेलो विरुद्धमा सचेतीकरण गर्नुका साथै आवश्यक प्रचार प्रसारमा जोड दिने सहमति भएको महानगर महासंघका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->