पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना भएका शिशुका आमालाई मंगलबारदेखि निशुल्क पोषणयुक्त खाना खुवाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस्तो व्यवस्था थालिएको अस्पतालको बालरोग विभागीय प्रमुख प्रा.डा. रामचन्द्र बास्तोलाले बताए । बास्तोलाका अनुसार यस्तो कार्यक्रम संभवत नेपालमै पहिलो हो ।
गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादर खड्काका अनुसार यस कार्यक्रमका लागि चालु वर्ष ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ । क्षेत्रीय अस्पतालमा प्रदेशका सबैजसो जिल्लाका शिशुहरु उपचारका लागि एनआइसियुमा ल्याइने र उनीहरुका आमाहरुमा पोषणको कमी भएको पाएको पाइएपछि दिनको ३ पहर पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाइएको उनले बताए । ‘कम तौलका बच्चा, गरीब परिवारका र कतिपय रेफर भई यहाँ आउने गर्छन्, खड्काले भने, ‘उनीहरुका आमा कतिपय कम उमेरका, शारीरिक कमजोरी भएको पाइएकाले यो कार्यक्रमको सुरुवात गरिएको हो ।’ प्रदेश सरकारले अघिल्लै आर्थिक वर्षदेखि यो कार्यक्रम संचालन गर्न खोजेको भए पनि प्रदेश सरकारले संघ सरकारका कार्यालयमा खर्च नमिल्ने भनेर महालेखाले औंल्याएपछि रोकिएको थियो ।
अहिले प्रादेशिक स्वास्थ्य निर्देशनालयले नै प्रक्रिया थालेर उसैले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत सुत्केरी आमाहरुले दैनिक १ हजार रुपैयाँ बराबरको बिहान र बेलुकीको खाना र दिउँसोको खाजा पाउनेछन । प्रोटिनयुक्त र पोसिलो खाना र खाजा खुवाउने गरी अस्पतालकै क्यान्टिनसँग सम्झौता भएको छ । मासु नखाने र खान नहुने सुत्केरीका लागि त्यसै अनुसार पोषणयुक्त वैकल्पिक खानाहरु उपलब्ध गराइने खड्काले बताए ।
बालरोग विभागका प्रमुख बास्तोलाका अनुसार अस्पतालमा एनआइसियुका ३० शय्या रहेको र ती सबै खाली हुँदैनन । कतिपयले भने आफै खाना ल्याएर पनि खाने गर्छन । ‘हामीले आमाहरुलाई कोकोले खानु हुन्छ भनेर सोध्छौ’ बास्तोलाले भने, ‘खान खोज्नेलाई दिने हो ।’ ३० शैय्या भए पनि ४७ जनासम्म नवजात शिशुलाई राखेर उपचार गर्नुपरेको अनुभव रहेको उनले बताए ।





