भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । यस्ता दुःखद घटनाले समाजमा नराम्रो असर गर्छ । तर ठूल्ठूला धार्मिक भेलाहरूमा यस्ता घटना हुँदै आएका छन् ।
केही महिनाअघि उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक भेलामा भागदौडमा परेर १२० जनाको मृत्यु भएको थियो । साउदी अरबको मक्कामा हुने मुस्लिमहरूको वार्षिक तीर्थयात्रा हजका क्रममा कैयौँ पटक भागदौड मच्चिएको छ । सन् २०१५ मा त्यहाँ २,३०० जनाको ज्यान गएको थियो । खेलकुदका ठूला कार्यक्रम र सांगीतिक महोत्सवसहित धेरै संख्यामा मानिसहरू भेला हुने कार्यक्रममा भागदौड हुने जोखिम हुन्छ ।
ठूलो भिडमा एक व्यापारीले मानिसहरूलाई रकम बाँड्न थालेपछि नाइजिरियामा गत मार्चमा एउटा परोपकारी कार्यक्रमका क्रममा तीन बालिकासहित सात जनाको ज्यान गएको थियो । यहाँ हामीले भिडभाड उत्पन्न हुने कारण, मृत्युका कारक तत्व र त्यस्ता विपद्लाई रोक्ने उपायबारे चर्चा गरेका छौँ ।
के कारणले भागदौड हुन्छ ?
हजका बेला मक्कास्थित काबानजिकै व्यापक भिड हुने गर्छ । ‘यस्ता बेला एउटै ठाउँमा एकै समय धेरै मानिस उपस्थित हुन्छन्,’ इङल्यान्डको यूनिभर्सिटी अफ ससिक्समा प्राध्यापन गर्ने तथा भिड व्यवस्थापनको सामाजिक मनोविज्ञानका विज्ञ जोन ड्ररी भन्छन् ।
उपस्थित मानिसको कुल संख्याले नभई ‘भिडको घनत्व’का कारण भागदौड हुने अवस्था सिर्जना गर्छ । प्राध्यापक ड्ररीका अनुसार खतराबाट जोगिन एक वर्गमिटर क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुनु हुँदैन । तर हजका बेला काबानजिकै प्रतिवर्गमिटर झन्डै आठदेखि नौ जना हुने गर्छन् ।
ठाउँको क्षमतानुसार मानिस जम्मा नभएको अवस्थामा पनि कार्यक्रमको स्थानानुसार भिडको घनत्व फरक हुन सक्छ । उदाहरणका लागि, साङ्गीतिक कार्यक्रमहरूमा मानिसहरू मञ्चतर्फ बढ्न चाहन्छन् । आयोजकले कार्यक्रमको सही व्यवस्थापन नगर्दा अथवा प्रहरीले पनि नियमन नगर्दा धेरै भिडभाड हुन पुग्छ ।
‘यदि प्रतिवर्गमिटर क्षेत्रमा पाँच अथवा सोभन्दा बढी मानिस छन् भने मानिसहरू यताउता गर्दा भागदौडको खतरा रहन्छ,’ प्राध्यापक ड्ररी भन्छन् ।
भागदौड केही मिनेटभित्र हुने हुँदा हस्तक्षेपका लागि न्यून समय हुन्छ । यो पृष्ठभूमिमा बाहिरिने ढोका थोरै मात्र भए अथवा निस्किने पाउने मार्ग स्पष्ट नभएको अवस्थामा भिड अकस्मात् निस्किन खोज्दा भागदौड मच्चिने खतरा रहन्छ ।
‘यदि बाहिर जाने मार्ग एकदमै साँघुरो छ, खास गरी बाहिरिने चिरपरिचित मार्ग छैन भने मानिसहरू एकैपटक निस्किने खोज्ने सम्भावना बढी रहन्छ । त्यसले घनत्व बढाउन सक्छ र भागदौड निम्त्याउन सक्छ,’ उनी थप्छन् ।
भिडमा किन जोखिम हुन्छ ?
भिडमा मानिसहरू एकअर्कासँग ठोक्किन्छन् र बाँकी मानिसमाथि दबाव पर्छ । त्यस क्रममा केहीले आफ्नो शरीरलाई सन्तुलनमा राख्न सक्दैनन् र उनीहरूलाई अरूले कुल्चिन पुग्छन् । त्यस्तो घटना घातक बन्न सक्छ ।
भारतमा केही दिनअघि भएको भागदौडको घटनापछि गरिएको शवपरीक्षणमा मृतकमध्ये धेरैको छातीमा चोट भएको देखियो । केहीलाई आन्तरिक रक्तस्राव भएको अनि केहीको छातीनजिकै रगत जमेको पाइयो ।
सिङ्गापुरमा रहेका आकस्मिक चिकित्सा विशेषज्ञ डा. डेभिन टानका अनुसार भिडमा थिचिएका मानिसलाई प्रायः सास फेर्न गाह्रो हुन सक्छ । अर्थात् बाह्य दबावका कारण उनीहरू सास फेर्न सक्दैनन् ।
‘श्वासप्रश्वासका लागि जिम्मेवार छाती र पेटको बीचमा अवस्थित ‘डाइअफ्र्याम’ मांसपेशी खुम्चिन वा तन्किन सक्दैन र त्यसले गर्दा फोक्सोमा हावा पस्न वा त्यहाँबाट निस्किन पाउँदैन,’ टान भन्छन् । ‘यसले गर्दा कार्बन डाइअक्साइड जम्मा हुन्छ र अक्सिजनको अभाव हुन्छ । अनि अंगहरूले काम गर्न छाडेपछि ‘ब्रेन डेथ’ हुन्छ ।’
भागदौडमा कसरी जोगिने ?
अमेरिकी सरकारको रोग नियन्त्रण तथा रोकथाम निकाय (सीडीसी)ले भागदौडमा कसरी जोगिने र त्यस्तो अवस्थामा के गर्ने भन्नेबारे केही व्यावहारिक सुझाव दिएको छ ।
उसका अनुसार पहिलो काम भनेको उक्त स्थानमा पुग्ने बेलामै त्यहाँबाट बाहिरिने आकस्मिक द्वारहरू पहिचान गर्नु हो । साथै उपलब्ध चिकित्सकीय सेवाबारे पनि अगाडि नै थाहा पाउनुपर्छ । यदि तपाईँ भागदौडमा पर्नुभयो भने तपाईँले यसो गर्नुपर्छः
–बक्सिङ खेलाडीले झैँ छातीअगाडि हात राख्नुहोस् र दह्रोसँग खुट्टा टेक्नुहोस्
‘भिडको बललाई प्रतिरोध नगर्नुहोस्
–भिडको गति रोकिँदा छड्के दिशातिरबाट छेउतिर जानुहोस्
–दह्रोसँग खुट्टा टेक्नुहोस्
–यदि लड्नुभयो भने भकुन्डो जसरी ‘डल्लो परेर’ आफूलाई जोगाउनुहोस्
–शान्त रहने प्रयास गर्नुहोस् र सकेसम्म छिटो उठ्नुहोस्
सुरक्षाका उपायहरू
धेरै भिडभाड हुन नदिन कार्यक्रम आयोजकहरूले भिड बढ्ने सम्भावनाको निरन्तर अनुगमन गर्नुपर्छ । “प्रत्येक ठाउँमा कति मान्छे अट्छन् भन्ने तोकिएको हुन्छ । त्यसैले तपाईँले त्यो ठाउँमा आएका मान्छे गन्नका लागि कोही मान्छे वा कुनै प्रणाली परिचालन गर्नुपर्छ,” प्राध्यापक ड्ररी भन्छन् ।
उनका अनुसार कार्यक्रमको उद्देश्यबारे बुझ्नु पनि जरुरी छ । हजजस्ता कार्यक्रममा कुनै न कुनै बेला एकैठाउँमा जम्मा हुन चाहने मानिसहरूको संख्या धेरै हुन्छ ।
“अर्थात् तपाईँले त्यस्ता कार्यक्रममा आउन सक्ने मानिसको व्यवस्थापनका लागि समयतालिका बनाउनुपर्छ,” उनी भन्छन् । “भिड व्यवस्थापन गर्न त्यहाँ किन भिड जम्मा हुन चाहन्छ, भिडका मूल्यमान्यता के हुन् र उनीहरू के चाहन्छन् भन्ने बुझ्नुपर्छ ।”
ड्ररीका अनुसार भिडमा भएका मानिसहरूलाई भागदौडको दोष दिन मिल्दैन ।
–बीबीसी





