पोखरा/ जीवन विज्ञान प्रतिष्ठानले पोखरामा ‘विराट चक्र विज्ञान’ र ‘गण्डकी स्वजागरण उत्सव’ को आयोजना गर्ने भएको छ । आगामी फागुन फागुन १० गते ‘गण्डकी ‘स्वजागरण उत्सव’ र फागुन ११ देखि १७ गतेसम्म ‘‘विराट चक्र विज्ञान’ कार्यक्रम आयोजना गर्ने विहीबार पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले जानकारी दिएको छ ।
उत्सव र चक्र विज्ञान पोखरा रंगशालामा हुनेछ । उत्सवमा ३० हजार भन्दा बढीको सहभागिता रहने आयोजकको भनाई छ । साता दिनसम्म चल्ने बिराट चक्र विज्ञानमा भने दैनिक ६ हजारको सहभागिता रहने अपेक्षा सहित सोही अनुसारको व्यवस्थापनमा जुटिएको प्रतिष्ठानका व्यवस्थापक अभिषेक अधिकारीले बताए ।
प्रतिष्ठानले लामो समयदेखि योग, ध्यान र समाधी साधनाका माध्यमबाट मानिसको शारीरिक, मानसिक, भावनात्मक, बौद्धिक र चेतनागत विकासमा सहयोग पुर्याउँदै आएको छ । यसले सकारात्मक सोच, व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनशैली व्यवस्थापनमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले पत्रकार सम्मेलनमा जनाए । नेपाली भूमीमा जन्मिएको प्रतिष्ठान ७० देशमा फैलिएको र ४० लाख भन्दा बढी व्यक्ति लाभान्वित भएको उनको भनाई छ । दुवै कार्यक्रममा ३ सय स्वयंसेवक परिचालन हुनेछन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको पनि विशेष सहयोग यसमा रहनेछ । ‘प्रतिष्ठान एउटा आध्यात्मिक सामाजिक संस्था हो’, शर्माले भने, ‘दुवै कार्यक्रममा भाग लिँदा तनावमुक्त भइने छ ।’ शर्माका अनुसार स्वजागरण व्यक्तिको खुशी, स्वास्थ्य र शान्ति व्यक्तिभित्र छ भनेर चिनाउन सहयोगी हुने र बिराट चक्र भने मानव शरिरभित्रका विभिन्न ७ वटा चक्रबाट मनमा कसरी शान्ति लिन सकिन्छ भन्ने विषयमा जानकारी गराइनेछ । यस्ता कार्यक्रमले नेपालको आध्यात्मिक र आरोग्य पर्यटनको महत्व र विशेषतालाई अन्तराष्ट्रिय स्तरमा पुराउन सहयोग मिल्ने उनको भनाई थियो ।
जीवन विज्ञान प्रतिष्ठानका संस्थापक रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवको सानिध्यतामा कार्यक्रमहरू हुने व्यवस्थापक अभिषेक अधिकारीले बताए । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रम पोखरा र पर्यटनका लागि एउटा अवसर हुने बताए । उनले व्यक्तिगत मात्र नभई सामाजिक स्वास्थ्यमा पनि कार्यक्रमले सघाउ पुराउने जनाए । ‘सबै पोखरेलीलाई प्राथमिकता दिएर सहभागिता जनाउन आग्रह गर्छु’ उनले भने, ‘पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्दैछौ । भ्रमण वर्षलाई पनि यस्ता कार्यक्रमले सघाउने छ ।’





