बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

खोप पूर्णरुपमा सुरक्षित रहेको, निशुल्क उपलब्ध हुने र जीवन रक्षा गर्ने भएकाले १० देखि १४ वर्षसम्म उमेर समुहका सबै किशोरीलाई खोप लगाउन प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले अनुरोध गरेको छ


  • लालप्रसाद शर्मा
  • माघ १८ २०८१, शुक्रबार

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको गण्डकी प्रदेशमा आवस्यक तयारी पुरा भएको छ । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरि यो खोप अभियान सञ्चालन हुदैछ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार प्रदेशस्तरीय खोप समितिका पदाधिकारीका लागि अभिमुखीकरण तथा पत्रकार एवं संचारकर्मीबीच अन्तरक्रिया गर्दै खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ । साथै निशुल्क उपलब्ध हुने र जीवन रक्षा गर्ने भएकाले १० देखि १४ वर्षसम्म उमेरसमुहका सबै किशोरीलाई खोप लगाउन निर्देशनालयले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशका १ लाख ५ हजार ४ सय ७९ जनलाई खोप दिन लागिएको निर्देशनालयले जनाएको छ । यो संख्या ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसमुहका किशोरीहरुको हो । खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले बताए । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपीभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिने लक्ष्यमा छन् ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो । यसलाई छोटकरीमा एच. पी.भी. भनिएको हो । याे भाइरसबाट संक्रमित व्यक्तिसंग यौन सम्पर्कका माध्ययमबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । संक्रमण भएको शुरुको अवस्थामा कुनै लक्षण र चिन्हहरू देखिदैनन् । तर पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षणहरु देखिने लम्सालले बताए ।

नेपालमा वर्षेनी २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र उनीहरुमध्ये वर्षमा १,३१३ जना अर्थात दैनिक ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सर मध्ये यो दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । त्यसलै यसको निवारणका लागि नेपाल सरकारले अभियान थालेको हो । खोप सेवा उपलब्ध गराउने, स्क्रिनिङ र उपचार सेवाको कभरेजमा कम्तीमा ९० प्रतिशत सफलता हासिल गर्ने लक्ष्य सरकारको छ । यसपटक अभियानको रुपमा रहेको खोप सेवालाई आगमी वर्षदेखि नियमित खोप सेवामार्फत सुचारु हुनेछ । एचपीभी खोपको एक मात्रा ० दशवलव ५  मि.लि. रहेको र यो सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिइन्छ । पछिल्लो अध्ययन अनुसार यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । राष्ट्रिय खोप सल्लाहकार समितिको गत असोज २३ को सिफारिस र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ८ को निर्णयअनुसार यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ ।

यसर्थ विगतमा एक मात्रा लगाएका किशोरीले अव यो खोप लगाउनु पर्दैन । महिनावारी भएको बेलामा पनि यो खोप लगाउन मिल्छ । खोपले महिनाबारीमा कुनै पनि असर गर्दैन । गर्भवती, विगतमा कुनै पनि खोप लगाउँदा गम्भिर एलर्जी प्रतिक्रिया भएका र यसअघि कुनै पनि खोप लगाउँदा एनाफाईलेक्सिस प्रतिक्रिया भएकाले भने यो खोप लगाउन मिल्दैन ।  खोप लगाएपछि कसैकसैलाई सामान्य असरहरू हुन सक्ने निर्देशनलयले जनाएको छ । सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुन सक्ने तर थोरै समयमै यस्ता असर आफै ठिक हुने लम्सालले बताए ।

नेपालमा २०७२ सालमा पहिलाेपटक चितवन र कास्की जिल्लामा एचपीभी खोप सेवा पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा खोप दिइएको थियो । गत वर्ष सातवटै प्रदेशका एकएक अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६/६ महिनाको फरकमा दुई मात्रा खोप दिइएको थियो। लम्सालले लक्षित उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने हुँदा एचपीभी खोप सेवा विद्यालयमा आधारित खोप केन्द्रबाट दिनु बढी प्रभावकारी देखिएको जनाए । उनले अभियान सफल पार्न विभिन्न कार्यक्रम गरिएको पनि बताए ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अभियान सफल बनाउन सबैको साथसहयोग चाहिएको बताए । ‘यो एउटा राष्ट्रिय अभियान र संवेदनशील बिषय पनि भएकाले सवै एक भएर अघि बढौ’, मन्त्री पाठकले भने, ‘अभियान सफल पार्न मन्त्रालय लागिपरेको छ । स्थानीय तहदेखि पत्रकारको भूमीका पनि उत्तिकै छ ।’ कार्यक्रमका अध्यक्ष एवं स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले जनस्वास्थ्य र महिला अधिकारको हिसावले ठुलो अभियान भएकाले यसलाई सफल पार्नु सबैको दायित्व रहेको बताए । उनले खोपको सबै तयारी पुरा भएको बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अभियान सफल बनाउन सकरात्मक प्रचार र प्रभावकारी अनुगमन हुनुपर्ने बताए । गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष एवं कास्कीको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अभियानले ठूलो फाइदा स्थानीय तहलाई नै हुने भएकाले यसको प्रभावकारीताका लागि समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले खोपको प्रभावकारीता लगभग शत्प्रतिशत रहेकाले ढुक्क भएर अभियानमा साथ दिन अनुरोध गरे । निर्देशनालयका जनस्वास्थ्य अधिकृत बद्रीराज आचार्यले एचपीभी खोप अभियानबारे बारम्बार सोधिने प्रश्नहरुको बारेमा जानकारी गराएका थिए ।

विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र सन् २०३० सम्ममा ७ लाखसम्म पुग्ने अनुमान गरिएको छ । वर्षेनी ३ लाख ११ हजार महिलाको मृत्यु हुने र सन् २०३० सम्ममा यो संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->