पोखरा/ पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलका विद्यार्थीले शुक्रबार चिनिया नयाँ वर्ष–२०२५ मनाएका छन् । विद्यालयको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीले चिनिया नयाँ वर्ष मनाएका हुन ।
विद्यालयमा कार्यरत चिनिया भाषा शिक्षक यान युहई र छ्याङ फ्यानको व्यापक सक्रियता तथा निर्देशनमा उक्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद घिमिरे, भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठ लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कक्षा ४ देखि ८ सम्मका विद्यार्थीको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा प्राचार्य पाण्डे, सल्लाहकार घिमिरेले शुभकामना मन्तव्य राखे । पाण्डेले विद्यालयमा सञ्चालन भएको यस्ता कार्यक्रमले नेपाल र चीन बिच अझ प्रगाढ सम्बन्ध रहने बताए । चीनले लामो समयदेखि नेपालको भाषा, कला, संस्कृति एवम् प्रविधिका क्षेत्रमा महत्वपूर्ण सहयोग पुयाउँदै आएको कुरा स्मरण गर्दै उनले चिनिया नयाँ वर्षको शुभकामना व्यक्त गरे । घिमिरेले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाल र चीनका बिचको सांस्कृतिक सम्बन्ध मजबुत बनाएको बताए ।

सांस्कृतिक कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले चिनिया नृत्य, गीत, अभिनय, मार्सल आर्ट प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम चिनिया भाषामा सञ्चालन भएको र त्यसलाई अङ्ग्रेजी भाषामा समेत उल्था गरिएको थियो । विद्यालयको कक्षा ६ मा अध्ययनरत सुवर्ण सुवेदी र कक्षा ७ मा अध्ययनरत आस्का जोशीले चिनिया भाषामा कार्यक्रम सञ्चालन गरेका थिए भने त्यसलाई अङ्ग्रेजीमा उल्था गर्ने काम विद्यालयको कक्षा ७ मा अध्ययनरत किस्मत पुरी, शुभेक्षा थापाले गरेको कुरा शिक्षक विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।





