पूर्व ओलिम्पिक जिम्न्यास्ट एलिना काबाएभा स्वतन्त्र रुसी मिडियामा कहिलेकाहीँ राष्ट्रपति भ्लादिमिर पुटिनकी ‘मित्र’ भनेर चिनाइन्छिन्, उनीमाथि पश्चिमा देशहरूले प्रतिबन्धहरू जारी गरेका छन् र उनी देशको प्रायः भड्किलो अभिजात्य वर्गभित्रकी गोपनियता कायम राखिएकी व्यक्तिहरूमध्ये एक हुन् । तर हालैका महिनाहरूमा काबाएभाले सार्वजनिक जीवनमा एउटा नाटकीय पुनरागमन गरेकी छन् ।
उनले जिम्न्यास्टिक सिकाउने आफ्नो संस्था ‘स्काई ग्रेस’ को प्रचारप्रसार गर्दै आएकी छन् । उनले सार्वजनिक जीवनमा आउन किन यो क्षण रोजिन् ? र, उनको यो निर्णयले हामीलाई भ्लादिमिर पुटिनसँग नजिक रहेका वा निर्भर रहेकाहरूबारे के बताउँछ ?
छायाँबाट बाहिर निस्किनु
गत वर्ष कजानमा भएको ‘ब्रिक्स गेम्स’मा रुस, बेलारुस, काजकस्तान, थाईल्यान्ड, सर्बिया र अन्यत्रका प्रतिस्पर्धीहरू थिए त्यसमा ‘स्काई ग्रेस’ क्लबको ब्यानरमा रुसी टोलीबाहेक अलग्गै एकाइको रूपमा रुसी खेलाडीहरूले खेलेका थिए । यो बीआरआईसीएस अन्तर्गतका देशहरूले बर्सेनि खेल्ने र ब्रिक्सले आयोजना गर्ने खेल हो ।
उक्त क्लब दुई वर्षअघि मात्रै स्थापना भएको थियो– तर स्काई ग्रेसका लागि देखाइएको असाधारण सदाशयताबारे व्याख्या गर्न त्यति कठिन छैनः किनभने स्काई ग्रेसकी संस्थापक तथा प्रमुख एलिना काबाएभा हुन् । उनी रुसकी चर्चित खेलाडीमध्ये एक हुन् र उनले जिम्न्यास्टिक्समा ओलिम्पिक साथै थुप्रै विश्व शीर्षकहरूमा सफलता पाएकी छन् ।
तर हालै भने उनको चर्चा उनको खेलमा पाएको उपलब्धिका कारणभन्दा पनि भ्लादिमिर पुटिनसँगको उनको कथित सम्बन्धका कारण बढी छ – र पुटिनका कान्छा सन्तानहरू उनीसँगबाट नै भएको बताइन्छ ।
शरद ऋतुमा प्रकाशित एक अनुसन्धानले उनीहरूका दुई वटा छोरा भएको दाबी गरेको थियो । सन् २०२२ मा अमेरिका, बेलायत र युरोपेली संघले काबाएभामाथि लगाएको प्रतिबन्धको आधारका रूपमा ‘निकट सम्बन्ध’लाई उल्लेख गरिएको थियो ।
पुटिन आफैले काबाएभासँगको सम्बन्ध कहिल्यै स्वीकार गरेका छैनन् । सन् २००८ मा उनीहरूबीच छिट्टै विवाह हुन लागेको भन्ने हल्लामा प्रतिक्रिया जनाउँदै उनले “रुघाखोकीले ग्रस्त नाक र कामुक कल्पनाहरू लिएर अरूको जीवनमा चियोचर्चो गर्न खोज्छन् तिनीहरूलाई म राम्रो मान्दिनँ’’ भनेका थिए । पुटिनको व्यक्तिगत जीवनबारेको जानकारी रूसभित्र छलफल गर्न नहुने रूपमा लिइन्छ ।
उनका मरिया वोरोन्त्सोभा र क्याटरिना तिखनोभा नामक दुई छोरी भएको ठानिन्छ र उनीहरू अत्यन्तै नाफादायक चिकित्सा संस्थानकी शीर्ष व्यवस्थापक र मस्को स्टेट युनिभर्सिटीको १.७ अर्ब डलरको विकास परियोजनाका प्रमुख हुन् ।
आना सिभिलएभा पनि राष्ट्रपति पुटिनकी नातेदार हुन् र उनी उप–रक्षा मन्त्रीको पदमा पुग्न सफल भएकी छन् । उनी पेसाले मनोचिकित्सक हुन् । तर यीमध्ये न पुटिनले न यी महिलाहरू कसैले पारिवारिक सम्बन्धबारे केही पुष्टि गरेका छन् ।
उनीहरू तिनै जनामाथि प्रतिबन्ध लागेको छ र सामान्य रुसीको भन्दा उनीहरूले व्यावसायिक रूपमा निकै फड्को मारेका छन् र विशेष व्यवहार र फाइदाहरू लिएको देखिएको छ । त्यसैले सन् २०१५ मा काबाएभाले पुटिनको सन्तानलाई जन्म दिएको भन्ने विवरणहरू आउँदा त्यसलाई सरासर अस्वीकार गरिनुमा कुनै आश्चर्य थिएन ।
यद्यपि सन् २००७ मा आफ्नो खेलबाट अवकाश पाएपछि एलिना काबाएभाको रुसको सम्भ्रान्त वर्गमा तीव्र रूपमा निकटता र उचाइ बढ्यो ।
उनले रुसको संसद्को सदस्यका रूपमा सात वर्ष सेवा गरिन् । त्यसपछि पुटिनको निकट साझेदार यूरी कोभाल्चुकको न्याश्नल मिडिया ग्रुपमा बोर्ड अफ डिरेक्टर्सको अध्यक्षता काबाएभाले गरिन् । प्रभावशाली पदहरू ओगटे पनि उनी सार्वजनिक रूपमा भने देखा पर्न खोजिनन् र छायामै रहिन् अनि मिडियामा पनि कहिल्यै देखा पर्न चाहिनन् । केही पत्रिकाहरूले उनलाई रिपोर्टहरूका लागि अनुपलब्ध विषय भनेर व्याख्या गरे ।
सन् २०२२ को शरद याममा कुराहरू एक्कासी बदलिए । युक्रेनसँग पूर्ण स्तरको युद्ध जारी नै थियो । काबाएभाले जिम्न्यास्टिक क्लबको अन्तर्राष्ट्रिय एसोसिएसन ‘स्काई ग्रेस’को स्थापना भएको घोषणा गरिन् ।
त्यसको लगत्तै सोचीमा रहेको ब्ल्याक सी रिसोर्टमा स्काई ग्रेस एकेडेमी खुल्यो जुन राष्ट्रपति पुटिनको पहलमा स्थापना गरिएको सिरिअस शैक्षिक केन्द्रमा रहेको थियो ।
सन् २०२३ को मार्च महिनामा नयाँ उक्त विद्यालयलाई देशको प्राकृतिक ग्यास कम्पनी ग्याजप्रोमले दुई करोड ४० लाख डलर मूल्य बराबरको भवन उपहार स्वरूप दिइएको विवरणहरू आयो ।
काबाएभाको नयाँ क्लबले पाएको हैसियतबाट रुसका अन्य खेल संस्थाहरू लोभिन्थे । उसले आफूलाई मिल्ने गरी मिति, नियम र प्रतियोगिताहरू आयोजना गर्न सक्थ्यो । त्यसबाहेक पदकहरू पनि उसले नै आफ्नो विवेकका आधारमा दिन सक्थ्यो । यी सबै कारणले रुसी खेल क्लबहरूमा स्काई ग्रेस नौलो छ । “स्काई ग्रेस एउटा अलग्गै खेलका रूपमा सञ्चालित छ र उसले आफ्नै नियमहरू मान्छ । आफ्नै नियमहरू अनुसार प्रतियोगिताहरू आयोजना गर्छ र यही खेलका आधारमा सम्मान पनि गर्छ,’’ एक पत्रकारले आफ्नो नाम नखोल्ने सर्तमा भने ।
उनले काबाएभा संलग्न रहेका जिम्न्यास्टिक खेलहरूको पनि समाचार गरेका छन् । “अर्को शब्दमा, जिम्न्यास्टिक्ससँगै, काबाएभाले आफैले बनाएका दस्ताबेजहरूका आधारमा एउटा समानान्तर खेल पनि बनाएकी छन्,’’ ती पत्रकारले भने । त्यो सबै भइरहँदा काबाएभाका विद्यार्थीहरूले गत वर्ष खेलमा भाग लिन युरोपको भ्रमण गरे ।
तटस्थ स्थितिमा प्रतिस्पर्धा गरिरहेका भए पनि रुसको निलम्बनपछि यस्ता यात्रा पहिलो पटक भएको थियो । र अन्य कुनै पनि रुसी क्लबका जिम्न्यास्टहरूलाई यो अवसर प्रदान गरिएको थिएन ।
त्यति बेलासम्म काबाएभामाथि पश्चिमा देशहरूले प्रतिबन्ध लगाइसकेका थिए । अचानक उनी फेरि सार्वजनिक रूपमा देखा परिन् र रुसी सञ्चारमाध्यमहरूले उनीबारे थुप्रै समाचारहरू लेखे ।
लाइट्स, क्यामरा… एक्सन
स्काई ग्रेसले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढाइरहेको छ । उसको टेलिग्राम च्यानलमा काबाएभाले सुझाए अनुसार विद्यार्थीहरूले तालिम गरिरहेका दर्जनौँ भिडिओहरू छन् । ती भिडिओहरूमा क्यामराबारे काबाएभालाई खिचिरहेको थाहै नभएजस्तो गरी देखाइएको छ । तर खेल पत्रकारहरू उनको भिडिओ खिचिरहेको उनलाई थाहै नहुने परिस्थिति हुने सम्भावना नरहेको बताउँछन् ।
हामीले कुरा गरेका खेल पत्रकारहरूले क्यामेरामा काबाएभाको उपस्थितिलाई अत्यन्त सावधानीपूर्वक खिचिने गरेको बताए ।
“एलिना काबाएभाको कुनै पनि फोटो वा भिडिओ उनको जानकारी र अनुमति बिना अनलाइनमा देखिँदैन । गोप्य रूपमा कसैले उनको अबलमष्म रेकर्डिङ गरेर पोस्ट गर्न सम्भव नै छैन,’’ पत्रकारले भने ।
“एलिनाले क्यामेराको कोणदेखि, बत्तीको व्यवस्था र उनको मेकअपमा कुनै समायोजन आवश्यक छ कि छैन भन्ने सबै कुरामा आफ्नो स्वीकृति दिन्छिन् ।’’
सार्वजनिक रूपमा देखा नै नपर्ने र पृष्ठभूमि त्याग्ने उनको अचानकको निर्णय किन त ? यकिन गरेर भन्न सम्भव छैन, तर काबाएभाले सार्वजनिक ध्यान पुनः खिच्न खोज्नु र युक्रेनमा युद्ध हुनु अनि प्रतिबन्धहरू लाग्नु सबै एकै पटक भएका छन् ।
पुटिनका छोरीहरू ठानिएका मारिया भोरोन्त्सोभा र क्याटरिना तिखोनोभा पनि सार्वजनिक रूपमा देखा पर्न थालेका छन् । गत वर्ष सेन्ट पिटर्सबर्ग इकोनोमिक इन्भेस्टमेन्ट फोरममा उनीहरू देखा परेका थिए ।
युद्ध सुरु भएयता यो कार्यक्रमप्रति विदेशी पाहुनाहरूको आकर्षण गुमेको छ तर भ्लादिमिर पुटिनको अधिकारको प्रदर्शन र सम्भावित लाभ लिनसक्नेका लागि आकर्षणका रूपमा रहेको छ ।
स्वतन्त्र सञ्चारमाध्यमहरूको ती व्यक्तिहरू को हुन् भन्ने खुलासा र उनीहरू प्रतिबन्धमा परिसकेका तथ्यहरूको अर्थ उनीहरूको पहिचान लुकाउनुको कुनै तुक नहुन सक्छ ।
युक्रेन युद्धको एउटा असर भनेको रुसका सम्भ्रान्त वर्गमा नातावाद र जाँच र सन्तुलनको कमजोर बनावटको पर्दा हट्नु हो ।
गोपनीयता अब सान्दर्भिक, सम्भव वा सायद चाहिएकै छैन । काबाएभासहित अन्य आफन्त भएको ठानिएकाहरूको आफ्नै व्यक्तिगत महत्वाकांक्षाहरू हुन सक्छन् ।
राष्ट्रपति पुटिनसँगको निकटपनाको अर्थ उनीहरूले त्यस्ता महत्वाकांक्षाहरूबाट अवश्यम्भावी रूपमा अरूको ध्यान आकर्षित गर्ने छन् । काबाएभा आफ्नो एकेडेमीको विकासमा ध्यान केन्द्रित गर्दै छन् ।
स्काई ग्रेस अब एक अन्तर्राष्ट्रिय संघको रूपमा प्रवद्र्धित गरिँदै छ । गत नोभेम्बरको अन्तिममा कतारमा एउटा प्रमुख प्रतियोगिता आयोजना गरियो जहाँ एलिना काबाएभा आफैँ आयोजकको भूमिकामा थिइन् ।
त्यसबारे रुसी सञ्चारमाध्यममा धेरै समाचारहरू बने । खेलसम्बन्धी प्रमुख च्यानलले त आफ्ना मुख्य टिप्पणीकार नै त्यहाँ पठाएको थियो ।
–बीबीसी





