पोखरा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा भ्रष्टाचार उन्मुलनका लागि तेस्रो जनआन्दोलनको खाँचो रहेको बताएका छन् । देशमा भ्रष्टारले सिमा नाघेको, देशको शासन व्यवस्थादेखि नियम, कानुन सबै भ्रष्टाचारीको हातमा रहेको र यसमा ठूला दलका नेताहरु संलग्न रहेको भन्दै उनले यसकालागि तेस्रो जनआन्दोलन आवस्यक रहेको बताएका हुन ।
‘अव तेस्रो जनआन्दोलनबाट भ्रष्ट नेता अर्थात् ठूला दलका राजालाई फाल्नुपर्छ’ पोखरामा पार्टीको गण्डकी कमिटिद्वारा शनिवार आयोजित कर आतंकबिरुद्ध बृहत भेलालाई सम्बोधन गर्दै साहले भने, ‘हिजो राजालाई कुनै पनि कानुन लाग्दैनथ्यो । अहिले दुई तिहाईको सरकार चलाउने पार्टीका नेता राजा भएका छन् । उनीहरुलाई कुनै कानुन लाग्दैन । सानालाई ऐन, ठूलालाई चैन भएको छ । त्यसैले अव यसबिरुद्ध आन्दोलन गर्नुपर्छ ।’ अरुको भ्रष्टाचार छानविन हुने तर प्रधानमन्त्री, मन्त्रीहरुको किन नहुने भन्दै उनले भ्रष्टाचारले मुलुक चुर्लुम्म डुुबेको बताए ।
प्रधानमन्त्री केपी ओलीले आफुले भ्रष्टाचार गर्दिन भन्ने तर व्यवहारमा भने भ्रष्टाचारीको संरक्षण गरिरहेको पूर्वमन्त्री तथा सांसदसमेत रहेका साहले आरोप लगाए । तपाईले भ्रष्टाचार नगर्ने भए अर्थात् तपाईको नियत सफा भए प्रधानमन्त्री ज्यु गिरीबन्धु टि स्टेट र नक्कली भुटानी शरणार्थीको छानविन कहाँ पुग्यो भन्दै प्रश्न गरे । ‘मुखले भन्ने मात्र होइन, व्यवहारमा पनि देखाउनु पर्छ’, साहले भने, ‘प्रधानमन्त्री ज्यु तपाईको नियत सफा भए कति भुटानी शरणार्थी नेपाल आए र कति अमेरिका गए भन्ने डाटा वेभसाइटमा भए पनि राखेर सार्वजनिक गर्न म चुनौति दिन्छु ।’ नेपाल सरकारले चलाएका सबै संस्था र उद्योग धरासायी हुने तर निजी क्षेत्रको सफल हुदै जानुमा भ्रष्टाचारनै मुख्य कारण रहेको उनले बताए ।
उनले सरकाले अचाक्ली कर लिने गरेको तर सोही अनुसारको सेवासुविधा र बिकास भने जनतालाई नदिएको भन्दै नेपालमा कर आंतकनै मच्चिएको साहले बताए । ‘सरकारले ४ गुना बढी कर लिन्छ’ उनले भने, ‘त्यो अनुसारको सेवासुविधा र बिकास खोइ ? अव यस विषयमा सबैले खोज्नुपर्यो ।’ उनले विश्वमै सबैभन्दा बढी कर लिने देशमा नेपाल पर्ने तर त्यसमा पनि भ्रष्ट नेताले लुट मच्चाएको बताए । सरकारले कर लिए पनि आफ्नो दायित्व र जिम्मेवारीबाट च्यूत भएको उनले आरोप लगाए ।





