पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा जितहार स्वभाविक हुने बताएका छन । यसैले कसैले जित्दैमा उत्ताउलो हुन नहुने उनको भनाई थियो । नेपाली कांग्रेस पोखरा महानगरको तेस्रो सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई सम्हालिएर राजनीति गर्न सुझाव दिए ।
‘‘राजनीतिमा जितहार हुन्छ । हार्दैमा सबै सकिँदैन, जित्दैमा उत्ताउलो हुनु पर्दैन’, उनले भने, ‘पार्टी अmझै एकताबद्ध भएर जानेछ ।’ देउवाले माछापुच्छ्रे हिमाल कालो भएकोमा चिन्ता व्यक्त गरे । आफु विद्यार्थीको राजनीति गर्दा तत्कालिन सरकारले केही समय पोखराको जेलमा हालेको स्मरण गर्दै उनले त्यतिबेला माछापुच्छ्रे हिमालमा हिउँ हुन्थ्यो र निकै सुन्दर देखिने बताए । ‘अहिले हिमाल कालै भएछ । हिउँ पग्लिएर सकिएछ । पर्यावरण जोगाउन कांग्रेसले तल्लो तहबाट पहल गरोस्,’ उनले भने, ‘पोखरामा अझै पर्यटकीय गतिविधि बढाउन आवस्यक छ । यहाँका तालमा पर्यटनका माध्ययमबाट अझै बिकास गर्न सकिन्छ ।
कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय जीवन परियार र डीना उपाध्याय, केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्यहरु शारदा पौडेल, आजी अब्दुल सतार मिया, गुरु बराल, गोबिन्द भट्टराई, नैनसिंह महर, गण्डकी सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, गण्डकीका मन्त्री बिन्दुकुमार थापा, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, पूर्व जिल्ला सभापति कृष्ण केसीलगायतले बोलेका थिए । कांग्रेस पोखरा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रम सचिव गणेश थापाले संचालन गरेका थिए ।
कार्यक्रममा कांग्रेस पोखरा महानगर समितिका सचिव टुवराज बास्तोलाले प्रतिवेदन प्रस्तुत गर्दै कार्यदिशा, संगठन सुदृढीकरण र आगामी दिनका रणनीतिहरू प्रस्तुत गरेका थिए । उनले महानगर समितिको पुनर्गठन, स्थानीय सरकारसँग समन्वय, भ्रष्टाचार निवारण, पार्टी संगठनको सुधार र आगामी निर्वाचनमा एकल रूपमा भाग लिनेजस्ता विषयहरू उठाएका छन् ।
महानगर समिति र ३३ वटा वडा समितिहरूलाई सशक्त बनाउन भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरूलाई पुनरुत्थान गराउने, वडा कार्यसमितिका पदाधिकारीलाई नेतृत्व विकास, व्यक्तित्व विकास तथा लोकतान्त्रिक समाजवादका नीतिबारे विशेष तालिम प्रदान गरिने उनले जनाए । यसैगरी समाजका विभिन्न पेशाकर्मी, व्यवसायी तथा नागरिकका अधिकार र सुरक्षाका मुद्दामा ऐक्यबद्धता जनाउँदै अभियानहरू सञ्चालन गर्ने, धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण, नेपाली कांग्रेसका राष्ट्रिय उत्सवहरूमा विविध कार्यक्रमहरूको आयोजना, रक्तदान, वृक्षारोपण, नगर सरसफाइ तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिवेदनमा छ । महानगर समितिले जेष्ठ नागरिक सम्मान, युवा स्वरोजगार सिर्जना, महिला उद्यमशीलता, परम्परागत सीपको संरक्षण र खेलकुद प्रवर्द्धनमा विशेष ध्यान दिने, स्थानीय, प्रदेश तथा संघीय सरकारका सेवासुविधा तथा विकास योजनाहरूको अनुगमन गर्दै समान वितरण सुनिश्चित गर्ने कार्यमा पनि समिति संलग्न रहने, विधानलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको पनि बास्तोलाले औंल्याएका छन् । वडा सभापतिहरूलाई पदेन महाधिवेशन प्रतिनिधि बनाउनु पर्ने र महानगर समितिको आकारलाई अधिकतम ५१ सदस्यीय मात्र सीमित गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।

महानगरपालिकामा व्याप्त प्रशासनिक ढिलासुस्ती, अनियमितता, बेथिति तथा भ्रष्टाचारको विरुद्धमा सशक्त आवाज उठाइने, पार्टीका उम्मेदवारहरूले गरेका प्रतिबद्धता तथा वाचाहरूको प्रभावकारी अनुगमन गर्ने कार्यलाई थप मजबुत बनाइने महानगर समितिका पूर्व सभापतिहरूले नेतृत्व कालमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ, पोखरा महानगर समितिको इतिहास झल्किने गरी रंगीन स्मारिका प्रकाशन गर्ने योजनासमेत अघि सारिएको छ। महानगर समितिहरूबीच भ्रातृत्व सम्बन्ध विस्तार गर्न महानगर पदाधिकारी तथा सदस्यहरूको अन्य नगरपालिकामा अध्ययन भ्रमण गराउने कार्यलाई निरन्तरता दिने, आगामी निर्वाचनमा नेपाली कांग्रेसले एकल रूपमा भाग लिनुपर्ने आवश्यकताको जोड दिँदै गठबन्धन नगरी पार्टीलाई बलियो बनाउने रणनीति अवलम्बन गर्नुपर्ने, पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूबीच भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ नारासहित वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको प्रतिवेदनमा जनाइएको छ ।





