पोखरा/ गण्डकी प्रदेश सभाको ७ वर्षको अवधिमा पहिलोपटक अपांगता भएका (बहिरा) सांसद सुनीता थापा सभा बैठकमा सहभागी भएकी छन् । प्रदेश सभाको सातौ अधिवेशनको पहिलो दिन सोमबार थापा आफ्नो सांकेतिक भाषाको दोभासेसहित सहभागी भएकी हुन ।
थापालाई दोभासे सुबास कोइरालाले संचारको सहजीकरण गरेका थिए । अर्को व्यवस्था नहुन्जेल सम्मका लागि प्रदेश सभाले ज्यालादारीमा दोभासे राख्ने सूचना अधिकारी तथा उपसचिव प्रेम सुवेदीले जनाए । कोइराला यसअघि पनि थापाको सहयोगीको रुपमा रहदै आएका थिए । दोभासे कोइरालाले सभामुख आसनको देव्रेपट्टी कर्मचारीसंगैको लबीमा उभिएर सांकेतिक भाषाका माध्ययमबाट सभा बैठकको गतिविधिको सांसद थापालाई संचारको सहजीकरण गरेका थिए । सांसद थापा ठीक अगाडि सत्तापक्षको कुर्चीको पछाडि बसेकी थिइन् ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फको सांसद बनेकी म्याग्दीकी बिमला गौचनको गत कात्तिक २८ मा मृत्यु भएपछि रिक्त पदमा कांग्रेसको समानुपातिक बन्द सूचीमा रहेका नामबाट क्रम अनुसार स्याङजा चापाकोटकी सुनीता सांसद बनेकी हुन् । उनलाई गत मंसिर २८ मा सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनियताको सपथ खुवाउँदै प्रदेश सांसदको लोगो हस्तान्तरण गरेका थिए । सपथ पनि उनले सांकेतिक भाषाको दोभासेमार्फत लिएकी थिइन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी÷जनजाति महिलामा गौचनको नाम १ नम्बरमा, त्यसपछि क्रमशः पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ र सुनीताको नाम थियो । ४ जना प्रदेश सांसद बन्दा सुनीता भने छुटेकी थिइन । यही मंसिर २५ मा निर्वाचन आयोगले सुनीतालाई समानुपातिक तर्फको सांसदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।

सांसद सुनीता थापा र सांकेतिक दाेभासे सुवास काेइराला
२०४९ सालमा स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा जन्मिएकी उनी ६० सदस्यीय प्रदेशसभामा कान्छी सांसदसमेत बन्न पुगेकी छन् । ६ कक्षा पढ्ने बेला ११ वर्षको उमेरमा टाइफाइडको बिरामी भएपछि उनले सुन्ने शक्ति गुमाएकी थिइन् । बोलेको नसुने पनि उनी बोल्न भने सक्छिन । शिक्षा बिषयमा स्नातक उत्तीर्ण हुन् । २०६५ मा एसएलसी उत्तीर्ण भएपछि पोखराको लेखनाथस्थित सिर्जना बहिरा माविमा कक्षा ११ र १२ पढिन् । महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट स्नातक उत्तीर्ण गरेकी हुन ।
नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील उनी अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि लामो समयदेखि लाग्दै आएकी पनि छन । साथै अपांगता भएका व्यक्तिहरुको हकअधिकारमा पनि काम गर्दैं आएकी छन । अहिले कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि छन् । सुनीताले जापान पुगेर १० महिने क्षमता अभिबृद्धि तालिम लिएकी छन् । युएनको सहयोगमा विभिन्न देश पुगेर नेतृत्व विकास कार्यक्रममा सहभागी भएकी छन् । राष्ट्रिय बहिरा महासंघ गण्डकीको अध्यक्ष, स्याङजा बहिरा संघको अध्यक्ष, राष्ट्रिय अपांग महासंग गण्डकीको कोषाध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रीय सदस्य भइसकेकी छन् । पछिल्लो समय भने अपांगता भएका व्यक्तिको हकअधिकार स्थापित गर्ने काममा पैरवी गर्दै आएकी थिइन ।
निजामति सेवा ऐन संसोधन अध्यादेश संसदमा पेश
यसैबीच प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामति सेवा ऐन २०७९ को संसोधन सम्बन्धि अध्यादेश प्रदेश सभामा पेश गरेका छन् । लोकसेवा आयोगको सुझाव विपरित सरकारले अध्यादेशमार्फत ऐन संसोधन गर्ने निर्णय गरेको थियो । यसअघि सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । अन्तिममा स्वर्गीय सांसद बिमला गौचनप्रति शोक प्रस्ताव पारित गर्दै सभा स्थगीत गरिएको थियो । प्रदेश सभाको अर्को बैठक माघ ३० मा बस्नेछ ।





