पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्प पुरा गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश स्थापनाको सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको पनि जनाएका छन् ।
संघीयताको मर्म अनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूती दिलाउन सामूहिक प्रयास जरुरी रहेको उनले भनेका छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति कार्यक्रम संचालन गरिरहेको सन्देशमा उल्लेख छ । ‘सीमित अधिकार र स्रोत, साधनका बाबजुद पनि आम नागरिकको मागलाई आवश्यकता र प्राथमिकिकरण गरी सरकारले सम्बोधन गरिरहेको छ’, सन्देशमा भनिभएको छ, ‘सातौँ वर्षसम्म सरकारले संचालन गरेका कार्यहरू र ती कार्यक्रमहरूबाट प्राप्त गरेका उपलब्धिहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
संविधानले संघ, प्रदेश र स्थानीय तहका आ(आफ्नै अधिकार र कार्यक्षेत्र तोकेको र यस समयावधिमा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुन बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको सन्देशमा उल्लेख छ । संघीयता कार्यान्वयनसँगै हाम्रो प्रदेशले सुशासन, सम्मुन्नती र सामाजिक न्यायलाई आत्मसात गर्दै दिगो विकासको लक्ष्यमा अघि बढ्दै आएको मुख्यमन्त्रीले जनाएका छन् । साथै गण्डकी प्रदेशलाई आजको अवस्थासम्म ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, राजनीतिक दलहरु, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, संचार जगत लगायत सम्पूर्ण प्रदेशवासीलाई स्थापना दिवसको अवसरमा सुख, शान्ति समृद्धि र प्रगतिको शुभकामना उनले व्यक्त गरेका छन् ।
साथै गण्डकी प्रदेश सभा सदस्य स्वर्गिय बिमला गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सभा सदस्यको रुपमा उनले पुराएको योगदानको स्मरण पनि मुख्यमन्त्री पाण्डेले गरेका छन् । नेपालको संघीय लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएका सबै आन्दोलन तथा संघर्षको क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै आन्दोलनको क्रममा घाइते भएका, बेपत्ता भएका र पीडितप्रति उच्च सम्मान पनि उनले गरेका छन् ।





