पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको यही माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेशनको तयारी पुरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले अधिवेशनको तयारी भएको जनाएको हो ।
नेकपा एसका प्रदेश अध्यक्ष श्रीनाथ बरालले अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन । उद्घाटन समारोहमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
अधिवेशनमा प्रदेशका ११ वटै जिल्ला, विभिन्न जनसंगठन र मजदुर फाँटबाट गरी ४ सय प्रतिनिनिधिको सहभागिता रहने बरालले बताए । अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, सचिव, ३ सहसचिव पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । ‘सकेसम्म सर्वसम्मत्को प्रयास रहनेछ’, बरालले भने । कमिटीको कार्यकाल ४ वर्षको हुनेछ । अधिवशेन सम्पन्न गर्नकालागि १२ वटा उपसमितिले काम गरिरहेको बरालको भनाइ छ ।





