पोखरा/ यही माघ ३० गतेका लागि बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक फागुन २ गते शुक्रबारका लागि सारिएको छ । उक्त दिन अधिकांश सांसदहरुको अन्य कार्यक्रम परेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराए र फागुन १ मा माओवादीको जनयुद्ध दिवस परेकाले बैठक सार्नुपरेको स्रोतले जनाएको छ ।
सचिवालयले शुक्रबार बिहान सूचनामार्फत बैठकको मिति परिवर्तन भएको जानकारी प्रदेश सांसदलाई गराएको छ । ‘मिति २०८१ साल माघ ३० गते दिनको १ बजे बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश मिति २०८१ फागुन २ गते दिनको १ बजे बस्ने भएकाले उपस्थितिका लागि अनुरोध छ,’ सचिवालयको सूचनामा भनिएको छ । प्रदेश सभाको हिउँदे अर्थात बिधेयक अधिवेशन यही माघ २१ मा सुरु भएको थियो । सभा बैठकको पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए । प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा छन् । औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक प्रदेश सभामा दर्ता भएको छ ।





