बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धर्मगुरु विजय कृष्णमूर्ति भन्छन्– धर्मका लागि अधर्म गर्न तयार छु, कसैले रोकेर कोटिहोम रोकिदैन

धर्मगुरु विजय कृष्णमूर्ति भन्छन्– धर्मका लागि अधर्म गर्न तयार छु, कसैले रोकेर कोटिहोम रोकिदैन


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार

पोखरा/ धर्मगुरु बालयोगेश्वर श्री विजय कृष्णमुर्ति जी महाराजले पोखरामा गर्ने भनिएको कोटीहोम यज्ञ कसैले रोक्न नसक्ने बताएका छन् । आज आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै
उनले धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको भन्दै कोटिहोम नगरी पोखराबाट नफर्किने उनको भनाई थियो ।

पोखराको लेकसाइडस्थित नेपाल ट्रष्टले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि जग्गा उपलब्ध गराएको उनले जनाए । मानवसेवा फाउण्डेशनले ट्रष्टको स्थान ११ लाख ५९ हजार रुपैयाँ भाडा बुझिसकेको र पोखरा महानगरपालिकासँग स्वीकृति लिएर करसमेत तिरेको प्रमाण फाउण्डेशनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ। तर महानगरभित्र कोटिहोम संचालनका लागि अनुमति नदिइएको पोखरा महानगरले जनाउँदै आएको छ ।

कृष्णमुर्तिले कोटिहोमका लागि २५ देखि ३० करोडसम्म खर्च हुने बताए । १० वर्ष अघिदेखिको प्रयास अहिले आएर पुरा हुन लागेकाले महायज्ञ गरेरै छाड्ने उनले अडान लिएका छन् । नेपाल भ्रमण वर्ष २०२५, नेपाली नयाँ वर्ष २०८२ तथा पोखरा महानगरपालिकाले घोषणा गर्न लागेको पोखरा भ्रमण वर्ष २०२५ को अवसरमा बाराही घाट क्षेत्रमा मानव सेवा फाउन्डेशनले कोटिहोमको आयोजना गरेको जनाएको छ । पोखरालाई मुक्तिद्वारको रुपमा रुपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्ववर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरहरुको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने उद्देश्यससमेत कोटिहोमको रहेको आयोजकले जनाएको छ । धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने संङ्कल्प अनुरूप पोखरा १८, सिमपानी स्थित कैलाश धाम शिवमणि मन्दिर तथा पोखरा–६ बैदामस्थित मुक्तेश्वर शिव मन्दिर मुक्तिधामको सर्वाङ्गिण विकास सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण आदि सहयोगार्थ गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को आयोजना गर्न लागिएको फाउन्डेशनको भनाइ छ ।

कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सखी, अंतर्राष्ट्रीय कथा प्रवक्ता श्री देवी प्रतिमाज्यू, वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेल, भागवत भाष्कर पं श्री कमलनयन गौतम, विख्यात प्रवचनकर्ता श्री चैतन्य कृष्ण महाराजबाट कथा वाचन हुने जनाइएको छ। साथै प्रसिद्ध कथा वाचिका भागवत मञ्जरी राधिका दासी माता, प्रवक्ता देवी सुप्रिया लगायत कथा प्रवक्ताहरुलाई निमन्त्रणा पनि गरिसकिएको छ। यस्तै नेपालबाट १०० जना भन्दा बढी अतिथि कथा प्रवक्ताज्यूहरुको पनि यस कोटिहोम महायज्ञमा आगमन हुनेछ।

महानगरको नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ । तर पत्रकार सम्मेलनमा कृष्णमुर्तिले महानगर आफैले पहिल्यै काटेका रुखको फोटो अहिले सार्वजनिक गरेर आफुहरुमाथि दोष लगाएको आरोप पनि लगाए । चौताराका बरपीपल काटेर थुपारिएका दाउरा पोखरा महानगरले जफत गरेको छ । तर पत्रकार सम्मेलनमा ती दाउरा महानगरले नै फिर्ता ल्याइदिने विश्वास आयोजकले गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->