पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन् । पोखरा सभागृहमा सोमबार सकिएको उक्त पार्टीको प्रथम अधिवेशनले अध्यक्ष अध्यक्ष, २ उपाध्यक्ष, सचिव, ३ सहसचिव गरी ७ पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
१४३ सदस्यमध्ये विभिन्न क्लष्टरका ४१ जना सदस्यकाे पद भने रिक्त रहेकाे छ । अध्यक्ष नेपाली यसअघि गण्डकी कमिटीको सचिव थिए । तत्कालिन सचिव प्रतापलाल श्रेष्ठ एमालेमै फर्केपछि उपसचिव रहेका नेपालीलाइ सचिवकाे जिम्मेवारी दिइएकाे थियाे । यसैगरी उपाध्यक्षमा बिष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा , उपसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित अध्यक्षसहित सिंगो कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एसका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ दिलाएका थिए । माघ २६ र २७ गरी दुई दिन अधिवेशन राखिएको भएपनि एकदिन बढी लागेको थियो । नेतृत्व लगायत सिंगो कमिटी निर्विरोध निर्वाचित गर्नका लागि समय थप भएको पार्टीका एक नेताले बताए । तर स्रोतका अनुसार पार्टी अध्यक्षका आकांक्षी बढी भएपछि सर्वसम्मत् रुपमा मिलाउन समय लागेको थियो । अध्यक्षमा नेपाली सहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङजाका बिष्णु गिरी, गोरखाका यादब बस्नेतलगायत आकांक्षी देखिएका थिए । अन्तिममा नेपालीको टुंगो लागेको हो ।

अधिवेशनमा प्रदेशका ११ वटै जिल्ला, विभिन्न जनसंगठन र मजदुर फाँटबाट गरी ४ सय प्रतिनिनिधिको सहभागिता रहको थियो । कमिटीको कार्यकाल ४ वर्षको हुनेछ । अधिवशेन सम्पन्न गर्नकालागि १२ वटा उपसमिति गठन गरिएको थियो ।





