पोखरा / पोखरा महानगरपालिका– २६ चापाको चौरमा संघीय सरकारले सुविधासम्पन्न एक सय शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने भएको छ । चिकित्सालय निर्माणस्थलको संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले विहिबार निरीक्षण गरे ।
चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैया विनियोजन भएको छ । जग्गाको निरिक्षणपछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गर्दै, चिकित्सालयको निर्माणले पार्ने सकरात्मक र नकरात्मक प्रभावका बिषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पुरा भएको बताए । राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मुल्याकंन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेन्डर प्रक्रियद्वारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको मन्त्री पौडेलको भनाई थियो । उनले विनियोजन भएको दश करोड रुपैया अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गरे ।
चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराईएको र थप १० रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए । अध्यक्ष थापाका अनुसार यसअघि २५ शैयाको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणका अनुरोध गर्दै, उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
संघीय सरकारले सातै प्रदेशमा एक÷एक वटा प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाको लागत अनुमान रहेको छ ।
शिक्षाविद् रवि बरालले तीन दशक अगाडी सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै, चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे । स्थानीय कुलदिप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहि कतै अवरोध नभएकाले चाडो प्रक्रिया अगाडी बढाईदिन आग्रह गरे । चिकित्सालयमा शिरोधारा, साउना वाथ, स्टीम वाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जनाए । पञ्चकर्म सेवाका लागि भिआईपी डिलक्स, र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने छ । डिलक्स पछि क्याविन र साधारण शैया गरेर एकसय पुर्याईने जानकारी दिदै डा. गौतमले आवासिय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डिपिआर तयार गरिएको बताए ।





