बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीका ९७ प्रतिशत किशोरीेले लगाए एचपीभी खोप

गण्डकीका ९७ प्रतिशत किशोरीेले लगाए एचपीभी खोप

मनाङ र मुस्ताङमा फागुन १८ देखि खोप अभियान सुरु हुने


  • लालप्रसाद शर्मा
  • फाल्गुन ७ २०८१, बुधबार

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक अन्य ९ जिल्लाका ९७ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका छन । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरी यो खोप अभियान सञ्चालन भएको थियो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार १ लाख ४ हजार ८ सय १० जना (मनाङ र मुुस्ताङ बाहेक) अनुमानित लक्षित छात्रा तथा किशोरीमध्ये १ लाख २ हजार ४८ जनाले यो खोप लगाए । यो ९७ प्रतिशत हो । चिसोको कारण हिमाली जिल्ला मनाङ र मुस्ताङका विद्यालय बन्द भएकाले अभियान सुरु भएको छैन । ती दुवै जिल्लामा फागुन १८ देखि खोप अभियान संचालनको तयारी गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय मनाङकी प्रमुख रबिना ठगुन्नाका अनुसार मनाङमा फागुन १८ देखि २० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । जिल्लाभरी ११२ जना लक्षित किशोरी रहेकोमा यो संख्या बढ्न सक्ने अनुमान उनको छ । ‘संख्या पहिचान गर्नेबेला चिसोका कारण अन्य जिल्लाबाट आएका कामदार बेंशीतर्फ झरेका थिए’, उनले भनिन, ‘अहिले फेरी मनाङ फर्किने क्रम सुरु भएकाले विद्यालय नजाने किशोरीको संख्या बढ्न सक्छ ।’ प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका तथ्यांक अधिकृत राजन पहाडीले फागुन १८ गते खोप अभियानको उद्घाटनको कार्यक्रम रहेको बताए । उनका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले फागुन १८ र १९ गते खोप अभियान सञ्चालन गर्नेछ भने अन्य पालिकाले फागुन २१ देखि २४ गतेका लागि अभियानको तालिका तय गरेका छन् । मुस्ताङमा खोप लगाउने लक्षित किशोरीको संख्या ५८७ जना छन् ।

गण्डकी प्रदेशका १ लाख ५ हजार ४ सय ७९ जनलाई खोप दिने लक्ष्य हाे । यो संख्या ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसमुहका किशोरीहरुको हो । खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको थियो ।

निर्देशनालयका अनुसार पर्वत र स्याङजा जिल्लामा लक्षित संख्या भन्दा बढी अर्थात् १०१ प्रतिशतले खोप लगाए । पर्वतमा ४६ सय ६७ जना लक्षित किशोरी रहेकोमा ४७ सय २१ जनाले खोप लगाए भने स्याङजामा ९ हजार ३ सय १९ जना लक्षित संख्या रहेकोमा ९ हजार ४ सय ४० जनाले लगाए । यसैगरी तनहुँमा १४ हजार २ सय ७८ मध्ये १४ हजार ९ जना अर्थात् ९८ प्रतिशत, गोरखामा १० हजार २ सय ६८ मध्ये १० हजार १५४ (९९ प्रतिशत) ले खोप लगाए । यसैगरी लमजुङमा ६५ सय ४४ मध्ये ६४ सय ६९ जनाले (९९ प्रतिशत), बागलुङमा ११ हजार ५५५ मध्ये ११ हजार १८२ (९७ प्रतिशत) म्याग्दीमा ४७ सय ८४ मध्ये ४७ सय ५७ जनाले (९९ प्रतिशत) र नवलपुरका १७ हजार ९९ मध्ये १६ हजार ४ सय ४५ (९६ प्रतिशत) किशोरीले खोप लगाए । सबैभन्दा कम खोप लगाउनेमा कास्की रहेको छ । कास्कीका २६ हजार २ सय ९६ जनामा २४ हजार ८ सय ७१ जनाले (९५ प्रतिशत) ले खोप लगाए । ‘यो मंगलबार साँझसम्मको प्रारम्भिक तथ्यांक हो’ निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले भने, ‘तथ्यांकको केही संख्या तलमाथि हुनसक्छ ।’

निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार इँटाभट्टा, सहरी बस्ती, प्राकृतिक प्रकोप प्रभावित, अस्थायी बसोबास, खोप लगाउन हिचकिचाउने, गैरसरकारी संस्था निजी क्षेत्रबाट मात्र खोप प्रदान, अन्तराष्ट्रिय सीमा भएका केही क्षेत्रमा खोप लगाउन छुट भएको अनुगमनका क्रममा देखिएको छ । यसैगरी सिजनल तथा पेशागत रुपमा बसाइँ सर्ने, शरणार्थी बसोबास भएका क्षेत्र, धार्मिक जातिय अल्पसंख्यक समुदाय भएका क्षेत्र, रोग प्रकोपको इतिहास रहेका क्षेत्र, भौगोलिक रुपमा दुर्गम, आन्तरिक रुपले बिस्थापित (बाढीपहिरो आदिका कारण) लगायत क्षेत्रगतरुपमा खोप लगाउन छुट भएका स्थानहरु रहेका छन् । यसैगरी खोप लगाउन छुट्नुका कारणहरुमा घरका बुढाबुढीले खोप लगाउन नदिने भनेको, खोपको साइड इफेक्टको डर, खोप लगाउने बेला बिरामी परेको अनुगमनबाट थाहा भएको छ । खोपबारे नकरात्मक कुरा सुनेको र पढेको, खोप र खोप अभियानबोर जानकारी नपाएको, विद्यालय वा स्थानमा खोप उपलब्ध नभएको, विद्यालयमा केही बालिकाहरुलाई मात्र खोप दिइएको र अन्य कारणले केही किशोरी खोप लगाउनबाट छुटेको खड्काले बताए । ‘अन्य प्रदेशको तुलनामा गण्डकीको कभरेज सर्भे सबैभन्दा माथि रहेको छ’, खड्काले भने ।

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपीभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिने लक्ष्यमा छन् ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो । यसलाई छोटकरीमा एच. पी.भी. भनिएको हो । एचपीभी भाइरसबाट संक्रमित व्यक्तिसंग यौन सम्पर्कका माध्ययमबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । एचपीभी भाइरसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । संक्रमण भएको शुरुको अवस्थामा कुनै लक्षण र चिन्हहरू देखिदैनन् । तर पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षणहरु देखिन्छन । नेपालमा वर्षेनी २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र उनीहरुमध्ये वर्षमा १,३१३ जना अर्थात दैनिक ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । महिलामा हुने क्यान्सर मध्ये यो दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । त्यसलै यसको निवारणका लागि नेपाल सरकारले अभियान थालेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->