पोखरा/ मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्र्तगतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सृर्य देवकोटा नेतृत्वको टोलीले पोखराको चरक मेमोरियल हस्पिटलमा सो शल्यकृया सफलतापुर्वक सम्पन्न गरेको हो । देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा एस के जैसवाल, नर्स र प्राविधिक गरि ७ जना शल्यक्रियाका लागि खटेका थिए ।
पोखराको हेमजा घर भएका ६३ वर्षका एक पुरुषको अघिल्लो शुक्रबार सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । उनका अनुसार मुटुको डबल च्याम्बर पेसमेकर स्थायी रुपमा राखेर सफल शल्यक्रिया गरिएको सम्भवत गण्डकी प्रदेशमै यो पहिलो हो । उकालो हिड्न गाहे हुने, रिंगटा लाग्ने, स्वास फेर्न अप्ठेरो जस्तो समस्या भएपछि उनलाई उपचारका लागि परिवारले हस्पिटल लगेका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०÷३५ मात्र रहेको मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया गरेको जैसवालले जानकारी दिए । मुटुको समस्या लिएर आउने बिरामीलाई सम्भव भएसम्म हस्पिटलमा कार्यरत आफुसहितको चिकित्सक टोलीले समस्या समाधान गर्ने गरेको र जटिल समस्या भएका बिरामीहरुको लागि काठमाण्डौमा डा. देवकोटा लगायतका चिकित्सकलाई सम्पर्क गरि आवश्यक उपचार गदै आएको उनको भनाई छ । मुटुको उपचारको सबै सेवा हस्पिटलबाटै आफुहरुले प्रदान गदै आएको समेत उनले जानकारी दिए ।
उपचारपछि बिरामीले पोखरामै समयमा सफल उपचार गर्न पाउदा थप समस्या हुन नपाएको बताए । पोखरामै यो सेवा पाएपछि बाहिर किन जानु भन्दै प्रश्न गरेका उनले उपचारमा खटिएका चिकित्सक सहितको टोलीलाई धन्यबाद दिए ।बिरामीका छोरा अग्रीम त्रिपाठीले हस्पिटल ल्याउनु अघि बुबाको अबस्था एकदम नाजुक रहेको बताए । यस्तो अवस्थामा एयर लिफट गरेर काठमाण्डौ लैजान पनि सम्भव थिएन । चरक ल्याएपछि देवकोटासंग समस्याका बारेमा छलफल एंव जानकारी दिने काम भएको र देवकोटा पोखरा आएर उपचार सुरु सगै सफल शल्यक्रिया भएको उनको भनाइ छ । यसले समय र पैसाको बचत भएको उनले बताए । यसअघि चरक मेमोरियलले स्वास्थ्य मन्त्रालय काठमाण्डौबाट असार ०८० मा ओपन हार्ट सर्जरी सेवाका लागि अनुमति पाएको थियो । त्यसको एक महिनापछि साउन अन्तिममा मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सहयोगमा ४५ वर्षीय एक पुरुषको गण्डकी प्रदेशमै पहिलो पटक सफलतापुर्वक सर्जरी समेत गरेको थियो । त्यस समय मनमोहनका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. देवकोटा, डा एस के जैसवाल, डा कृष्ण वस्याल लगायतको टिमले करिव चार घण्टा ३० मिनेट लगायर प्रदेशमै पहिलोपटक ओपन हार्ट सर्जरी सफलता पुर्वक सम्पन्न गरेका थिए ।
चरकले मुटुको सर्जरी सेवाका लागि आवश्यक उपकरणहरु खरिद गरेको छ । हस्पिटलले अनुभवी चिकित्सकहरु काठमाण्डौबाट ल्याउने र अस्पतालका चिकित्सकहरुको सहयोगमा मुटुको उपचार एंव शल्यक्रिया गर्दै आएको पोखरेलले बताए ।





