पोखरा/नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक कार्यशाला सम्पन्न भएको छ ।
सिभिल इञ्जिनियरिङ तथजा आर्कीटेक्चर अन्तिम वर्षका विद्यार्थीहरुको लािग आयोजित कार्यशालामा युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यावसायिक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा सोसाइटी अफ इन्जिनियरिङ कन्सल्टेन्सीज् पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाइ कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की, र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा पोखरा इन्जिनियरिङ कलेज, पश्चिमाञ्चल क्याम्पस, र स्कूल अफ इन्जिनियरिङ पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यशालाको समापन गर्दै एशोसिएसनका अध्यक्ष इन्जिनियर सन्तोष जिसीले विद्यार्थीहरूलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड, तथा भूमि सर्वेक्षण सम्बन्धी कार्यशालाले उनीहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने बताएका थिए ।
कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि बिजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए । त्यस्तै, नगरपालिका नियमावली सम्बन्धमा इ. किसानसिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा इ. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा इ. अजेश अखेली, तथा नेपालमा वास्तुकलाको महत्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण प्रदान गरेका थिए साथै, युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा इ. सूर्य अधिकारीले प्रशिक्षण दिएका थिए । सन्तोष जिसीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





