
पोखरा/ आज महाशिवरात्रि पर्व अवसरमा देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । भगवान् शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि विभिन्न शिवालयहरुमा घुइँचो लागेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्छन । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामाग्री चढाएर पूजा गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
शिवरात्री पर्वकाे अवसरमा लमजुङको करापुटारमा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मेला लाग्छ । साथै अन्य शिव मन्दिरहरुमा पनि उत्तिकै भक्तजनको भिंड हुन्छ ।




