पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश भित्रका प्रतिष्ठित संस्थाको अपनत्व प्रदेश सरकारले लिनुपर्ने बताएका छन् । पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालको ३२ औं वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री गुरुङले जनताको तहबाट, मुनाफरहितरुपमा बनाइएका संस्थालाई सरकारले हेर्नुपर्ने बताएका हुन् ।
हिमालय आँखा अस्पताल मात्र नभई एसओएस बालग्राम, गण्डकी बोर्डिङ स्कुल र सहारा फुटबल एकेडेमीजस्ता ‘एक्सीलेन्स’ संस्था पोखरामा रहेको भन्दै यिनको अपनत्व प्रदेश सरकारले लिनुपर्ने जनाएका हुन् । ‘जनताले चलाएको, राम्रोसंग चलाएको, मुलुकको आवस्कताको लागि चलेका संस्थालाइ सरकारले हेर्न पर्छ की पर्दैन्,’ मन्त्री गुरुङले भने, ‘यस्ता नमूना संस्थालाई सरकारले सहयोग गर्नुपर्छ । अपनत्व लिदै अप्ठेरो पर्दा हामी छौ भन्नुपर्छ ।’ केही न केही उपलब्धी हासिल गर्ने हो भने सरकारले बजेट छुट्टाउनु पर्ने भन्दै उनले यी संस्थाहरुलाई नमूना, गोल्डकार्ड र एक्सीलेन्स रहेको बताए । आफ्नो नजिकको चीजलाई हेला गर्ने बानी रहेको प्रसंग जोड्दै मन्त्री गुरुङले आफ्नो पालामा एसओस, हिमालय आँखा अस्पताल र गण्डकी बोर्डिङलाई केही भए पनि आर्थिक सहयोग गरेको बताए । त्यसको निरन्तरता हुनुपर्ने उनले जनाए । ‘मैले सहयोग गर्न खोज्दा कर्मचारीबाट असहयोग पनि भयो’, उनले भने, ‘८ विद्यार्थी १० शिक्षक भएको ठाउमा राज्यको सहयोग जाने तर धेरै विद्यार्थी, राम्रो पढाई हुने, दक्ष जनशक्ति उत्पादन गर्ने ठाउँमा लगानी नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’ उनले यस्ता राम्रा संस्थामा राज्यले केही न केही ‘कन्ट्रीब्यूट’ गर्नुपर्नेमा राज्य अन्धो भएको टिप्पणी गरे ।
आफुले टोकनको रुपमा ती संस्थालाई केही सहयोग गरे पनि कर्मचारीले आफ्नै सम्पत्ती, बाआमाको सम्पत्ती दिनुपरेजस्तो ठानेको उनले संझिए । यस्ता नमूना संस्थाको पूर्वाधार निर्माणका लागि सरकारले सहयोग गर्नुपर्ने उनले बताए । मन्त्री गुरुङले आँखा अस्पताललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
भौतिक पूर्वाधाको बिकास नभई उत्पादन नबढ्ने, रोजगारी सिर्जना नहुने, गरिबी नघट्ने, सुशासन कायम नहुने, राजस्व नबढ्ने रहेछ भन्ने कुरा आफु गण्डकीको मुख्यमन्त्री हुँदा सिकेको उनले बताए । बिकासका लागि यति वर्षमा कति गर्ने भन्ने एउटा मिसन र भिजन चाहिने भन्दै उनले मिसन र भिजनसाथ अर्थात् योजनाबद्ध रुपमा काम गरे सफल भइने नभए परिणाम केही नआउने उनको भनाई थियो । ‘कुनै पनि सफलता प्राप्त गर्न निरन्तरता र धैर्यता आवस्यक पर्छ’ उनले भने, ‘५० वर्षको राजनीतिक अनुभवले म यहाँसम्म आईपुगेको हुँ ।’ उनले एकपटक मुख्यमन्त्री भएर संघीयता कार्यान्वयन गर्ने धोकासाथ २०७४ को निर्वाचनमा आफ्नो पार्टीको नेतृत्वको चाहना विपरित प्रदेशमा आएको उनले बताए । ‘म संघीयताका लागि वर्षौदेखि लड्दै आएकाले पार्टी नेतृत्वले प्रदेशमा नजा भन्दाभन्दै पनि म प्रदेशमा आए’, उनले भने, ‘पहिला सानो सरकार चलाएर अनुभव बटुल्न चाहेको थिए । पुरा पनि भयो । त्यसैले पोखराप्रति मेरो अगाध माया छ । त्यही भएर हप्तामा ३÷४ पटक म पोखरा आइरहेको छु ।’ केन्द्रीय मन्त्री भए पनि राज्य केहो, सरकार के हो भन्ने कुरा केही थाहा नपाएको भन्दै उनले प्रदेश सरकारको नेतृत्व गर्दा भने धेरै ठूलो अनुभव बटुलेको सुनाए । गण्डकी प्रदेश आफ्नो राजनीतिक सिकाईको एउटा थलो रहेको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले हिमालय आँखा अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्सी’ घोषणाको तयारी भइरहेको भन्दै संघीय सरकारबाट प्रर्याप्त सहयोगको आशा गरे । गण्डकी प्रदेशका सांसद भीमबहादुर कार्कीले प्रदेशबाट हुनसक्ने सहयोगका विषयमा आफुले पहलकदमी लिने बताए । नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले औषधीजन्य उपयोगी चस्मामा लाग्दै आएको भ्याट हटाउनु पर्ने माग राखे ।
नेत्रज्योति संघ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरले अस्पतालको परिकल्पना र स्थापना गर्नुहुने नेदरल्याण्डका पिटर डी बोयर, लीन्डर्ट पार्लेभलिट, अनीता सिमोन्स डिंगम्यान्स, आद हेमेलार, आइरेने एमएम नबेन, जेरार्ड एम स्मीथप्रति आभार व्यक्त गरे । मानव सेवाको लागि सहयोगी मन र स्वच्छ तन भयो भने पृथ्वीको कुनै पनि ठाँउमा सेवा गर्न नरोकिने भन्ने उहाँहरुको योगदानले पुष्टी गरेको भन्दै थापामगरले लाखौं मानिसहरुले उनीहरुलाई आँखाको नानीमा राखिरहने जनाए । हिमालय आँखा अस्पताल नेपालमा आँखा उपचारको क्षेत्रमा एक विश्वसनीय र प्रतिष्ठीत संस्था रहेको भन्दै उनले दृष्टि बचाउन र उनीहरुको जीवनमा उज्यालो परिवर्तन ल्याउन आफुहरुले कर्तव्य नभूलेको बताए । ‘हामीले अति दुर्गम, पछाडी पारिएका क्षेत्र, गरीब र वञ्चित समुदायका व्यक्तिहरुलाई निःशुल्क आँखा उपचार गरेर ठुलो योगदान गरेका छौं,’ उनले भने, ‘यो सफलताको पछाडि नेपाल नेत्रज्योति संघ कास्कीका अग्रजहरु र अस्पताल परिवारको योगदान छ ।’
अस्पतालकी मेडिकल डाइरेक्टर डा.बबिता गुरुङले अस्पतालले उच्च गुणस्तरीय, पहुँचयोग्य र किफायती आँखा हेरचाह सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिग रहेको बताइन । सन् २०२४ मा १ लाख ८९ हजार ७२ जनाले अस्पतालबाट ओपीडी सेवा लिएको, १० हजार १ सय ३६ जनाको मोतिबिन्दु र अन्य शल्यक्रिया भएको उनले जनाइन् । यसैगरी विभिन्न स्थानमा गरिएको शिविरमा ५३ हजार ९ सय ३३ जनाले ओपीडी सेवा लिएको र ती शिविरहरुमा २,१५३ को शल्यक्रिया गरिएको उनको भनाई थियो ।
नेत्रज्योति संघ बागलुङका अध्यक्ष बिन्दुसागर राजभण्डारी र अस्पताल कर्मचारी युनियनका अध्यक्ष गोबिन्दनाथ योगीले पनि कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए । नेत्र ज्योति संघ कास्कीका उपाध्यक्ष एवं केन्द्रीय सदस्य नन्द श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी, प्राविधिकलगायतलाई सम्मान गरिएको थियो । संघ कास्कीका सचिव डा नारायण बरालले कार्यक्रमकाे संचालन गरेका थिए । संघ अन्तर्गत सञ्चालित अस्पतालले सन् १९९३ देखि सेवा सुरु गरेको हो । गण्डकी र कर्णाली प्रदेशहरूमा अन्धोपन हटाउने दृष्टिकोणका साथ स्थापित अस्पतालले ३१ वटा आँखा हेरचाह केन्द्र र एउटा आँखा अस्पताललाई सपोर्ट गर्दै आएको छ । यहाँ अप्टोमेट्रीको पढाई पनि हुन्छ ।





